९० वर्षीय मोहनविक्रम सातौंपटक मसालको महासचिव चयन, ५२ वर्षदेखि निरन्तर नेतृत्वमा – Nepal Press

९० वर्षीय मोहनविक्रम सातौंपटक मसालको महासचिव चयन, ५२ वर्षदेखि निरन्तर नेतृत्वमा

रुपन्देही । नेकपा मसालले मोहनविक्रम सिंहलाई पुनः महामन्त्रीमा निर्वाचित गरेको छ । काठमाडौंमा बिहीबार सकिएको पार्टीको महाधिवेशनबाट ९० वर्षीय सिंहलाई सातौंपटक पार्टीको नेतृत्वमा पठाएको हो । लामो समय भूमिगत रहेका सिंह केही वर्षयता सार्वजनिक भएपनि कार्यक्रम भने आन्तरिक हिसाबले गोप्यरूपमै गर्ने गरिएको छ । काठमाडौंको कपन भंगालास्थित एक पार्टी प्यालेसमा गरिएको गोप्य भेलाले सिहंलाई पुनः महामन्त्रीमा निर्वाचित गरेको हो ।

मसालमा एकछत्र पकड जमाएका सिंह झण्डै ५ दशकदेखि निरन्तर पार्टी नेतृत्वमा रहेका छन् । चौथो महाधिवेशनबाट लगातार पार्टीको नेतृत्व गरेका सिंहले बीचमा केही समय कारबाही परेबाहेक लगातार पार्टीको नेतृत्व गरिरहेका छन् । चौथो महाधिवेशनअघि २०२८ सालमा बनेको कोअर्डिनेशनमा पनि सिंहले अगुवाई गरेका थिए । त्यो समयमा मनमोहन अधिकारी, भरतमोहन अधिकारी, पुष्पलालसँग विद्रोह गरेकाहरुको नेतृत्व गरेर कोअर्डिनेशनमा लागेका थिए । निर्मल लामा, भक्तबहादुर श्रेष्ठ, मोहन वैद्यले समेत कोअर्डिनेशनको समयमा सिहंलाइृ साथ दिएका थिए ।

३१ सालमा नेकपा मसालको चौथो महाधिवेशनमा मोहनविक्रम पार्टीको शक्तिशाली महामन्त्री बनेका थिए । तर, ०३५ सालमा जलजला काण्डमा विवादमा परेपछि उनको जिम्मेवारी खोसिएको थियो । जलजला केशमा उनलाई कारबाही गरिएपछि भक्तबहादुर श्रेष्ठलाई जिम्मेवारी दिइएको थियो । ०४१ सालमा पाँचौं महाधिवेशन भएपनि त्यो बीचमा सिंह विवादमा परेकाले केही समय चित्रबहादुर केसीलाई जिम्मेवारी दिइएपनि पछि सिंह आफैले त्यो जिम्मेवारी पाएका थिए । पाँचौ महाधिवेशनपछि मोटो मशाल र पातलो मसालबीचको विवाद लामो समय रह्यो । ०४७ सालमा डा. बाबुराम भट्राई फुटेर गएका थिए सिंहको टीमबाट । ०५१ सालमा छैठौं महाधिवेशन भएको थियो ।

त्यो समयमा पनि मोहनविक्रम नै महामन्त्री बनेका थिए । त्यो बीचमा दुर्गा पौडेलसँगको विवाहपछि विवाद उनलाई कारबाही गरेर रामसिंह श्रीसलाई जिम्मेवारी दिइएको थियो । तर, मोहनविक्रम जिम्मेवारीमा नभएपनि पार्टीमा उनकै पहुँच भएकाले अरुको कामप्रति नेतृत्व असन्तुष्ट भन्दै उनैलाई पुनः जिम्मेवारी दिइने गरिएको उनी निकटका नेताहरूको विश्लेषण छ । यो बीचमा केही समय निर्मल लामालाई पनि जिम्मेवारी दिइएको थियो । चित्रबहादुर केसी, रामसिंह श्रीस, निर्मल लामा, भक्तबहादुर श्रेष्ठ वैकल्पिक पात्र भएपनि ०३२ देखि अहिलेसम्म मोहनविक्रम लगातार नेतृत्वमा रहिरहेका छन् ।

०६३ सालमा भएको सातौंदेखि यता भने उनी निरन्तर महामन्त्री रहिरहेका छन् । यो बीचमा उनीसँग रहेका धेरै नेताहरुले अर्को पार्टीमा प्रवेश गरेर नेतृत्व विकास गरेका छन् । ०५६ सालमा दिननाथ शर्मा प्रवक्ता रहेको समयमा ठूलो लिएर माओवादीमा प्रवेश गरेका थिए भने ०६३ मा नारायणकाजी श्रेष्ठ, रामसिंह श्रीस, प्रेम सुवेदीसहितका नेताहरुले मोहनविक्रमको साथ छोडेका थिए । ०६७ सालमा राजमोका महासचिव रहेका डिलाराम आचार्यको समूहले छाडेको थियो भने त्यसपछि महासचिव बनेका सन्तबहादुर नेपालीले ०७८ सालमा अर्को समूह बनाएर बसेका छन् ।

नेकपा मसालको खुला मोर्चाको रुपमा रहेको राष्ट्रिय जनमोर्चा अध्यक्षमा भने ०५२ सालदेखि चित्रबहादुर केसी अध्यक्ष रहेका छन् । ०४७ सालमा अनेराजमो बनाइएपनि ०५२ देखि राजमो बनाइएको हो । केसी अहिले ८२ वर्षका छन् ।

मसाल तथा जनमोर्चामा काम गरेर अहिले बाहिर रहेका अधिकांश नेताहरूले मोहनविक्रमको विरोध गर्ने र फरक मत राख्नेहरूलाई तत्काल जिम्मेवारीबाट हटाउने गरेका कारण पार्टी खिइँदै गएको विश्लेषण गर्छन् । बिहीबार सकिएको नवौं महाधिवेशनको निर्णयबारे सो पार्टीले आधिकारिक रूपमा कुनै जानकारी सार्वजनिक भने गरेको छैन । अधिवेशनमा सहभागी प्रतिनिधिहरू केही बिहीबार राति र केही शुक्रबार हिंडेका छन् । मसालले महामन्त्री र प्रवक्ताको नाम सार्वजनिक गरेपनि अरु जिम्मेवारीलाई गोप्य राख्ने गरेको छ ।


प्रतिक्रिया

2 thoughts on “९० वर्षीय मोहनविक्रम सातौंपटक मसालको महासचिव चयन, ५२ वर्षदेखि निरन्तर नेतृत्वमा

  1. खै यीनलाई पनि कम्युनिस्ट भन्ने र कांग्रेसको प्यादा हुन

  2. अस्सि वर्षको होइन यार ।८८ अठासी वर्षको भयो यो मानिस । यो मानिस जुनि खेर फालेको न्यून सास्कृतिक चेत भयेको मान्छे हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर