‘डिग्री माइला’ का भौतारिएका पाइला – Nepal Press
चलचित्र समीक्षा

‘डिग्री माइला’ का भौतारिएका पाइला

निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राई गाँसिएको फिल्म भन्नासाथ दिमागमा आउँछ– सुपरहिट । यो ‘कम्बो’ ले पछिल्लो एक दशकमा, खासगरि कबड्डी सिरिजबाट राम्रै पैसा छाप्न सफल भयो ।

दया–रामको नयाँ भेञ्चर ‘डिग्री माइला’ आजबाट ठूलो हाइपका साथ देशभरका थियटरहरुमा फिँजिएको छ । यसले व्यापारिकरुपमा उनीहरुको पुरानो साख जोगाउँछ, भत्काउँछ वा बढाउँछ, त्यो प्रतीक्षाको विषय हो । तर, ‘कन्टेन्ट’ को हिसाबले चाहिँ दया-रामले एउटा अर्को सुललीत सिर्जना दर्शकहरुमाझ पेश गरेका छन् । उनीहरुले आफ्नो ‘कम्बो’को साख गिर्न दिएनन् भनौं ।

पंक्तिकारलाई चलचित्र हेर्न जाँदा एउटै डर थियो- कबड्डी सिक्वेलको ह्याङबाट यो चलचित्र मुक्त छ या छैन । करिब १० वर्षअघि रिलिज भएको ‘कबड्डी’ को एउटा मास्टरपिस थियो । दोस्रो र तेस्रो सिक्वेल पनि ठिकठाक थिए । तर, चौंथो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ ले निराश बनायो । यद्यपि, व्यापारिक रुपमा भने यसले पनि निर्माताको खल्ती भरिदिएको थियो ।

एउटा चलचित्रको लहरलाई दर्शकले रुचाइसकेपछि र पैसा छापिसकेपछि त्यसबाट बाहिर निस्किन मेकरहरुलाई निकै मुस्किल हुन्छ । पछिल्लो समय नेपालमा हिट भएका अधिकांश फिल्म ‘सिक्वेल’ नै छन् । तर, दया–रामले त्यो कम्फर्ट जोनबाट बाहिर निस्किएर फरक स्वादको चलचित्र’ दिने हिम्मत गरे, त्यो सह्रानीय पक्ष हो । कबड्डी सिरिजको ह्याङबाट पूर्णरुपमा मुक्त छ, ‘डिग्री माइला’, विषयवस्तुको हिसाबले पनि र कथा वाचनको हिसाबले पनि ।

निर्देशक गुरुङले एउटा गम्भीर मुद्दालाई बहुत सरल एवं मिठासपूर्ण तरिकाले वर्णन गर्न सफल भएका छन् । नेपालका शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना मात्रै बनिरहेको यथार्थलाई चलचित्रले मनोरञ्जनात्मक तवरबाट उठान गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा मास्टर डिग्री गरेको एउटा महत्वाकांक्षी युवक एकाध वर्षमै कसरी निराशाको दलदलमा भासिन पुग्छ भन्ने व्यहोरा नै चलचित्रको मुख्य अन्तरवस्तु हो ।

कथा पूर्णरुपमा डिल्लीराम भुजेल उर्फ डिग्री माइलाको वरिपरी घुमेको छ । ओखलढुंगाको रुम्जाटारमा अवस्थित एउटा कलेजलाई अंग्रेजी शिक्षकको सख्त आवश्यकता पर्र्छ । निरीक्षणमा आएकी शिक्षा निरिक्षक (ऋचा शर्मा) ले दुई साताभित्र अंग्रेजी शिक्षक नल्याए कलेजको सम्बन्धन नै खारेज गरिदिने अल्टिमेटम दिएर हिँड्छिन् । ठीक त्यही बेला गाउँमा झुल्किन्छन् डिल्लीराम, जो भर्खर अंग्रेजीमा मास्टर्स सिध्याएर घमण्डसाथ गाउँ फर्किएका हुन्छन् ।

कलेजको टीमले घरमै पुगेर डिग्री माइलालाई जागीर अफर गर्छन् । तर, अभिमान र महत्वाकांक्षाको उडानमा रहेका माइलाले अफर लत्याइदिन्छन् । गाउँलेलाई अपत्यारिला गफ दिँदै केके न गर्छु भनेर काठमाडौं फर्किन्छन् । तर, काठमाडौंमा उनले सोचेजस्तो हुँदैन । दुई वर्षसम्म पनि केही लछारपाटाे लाउन नसकेपछि ‘घुमिफिरी रुम्जाटार’ फर्किन्छन् । त्यतिबेलासम्म उनको महत्वाकांक्षा खरानी भइसकेको हुन्छ ।

यति कथावस्तुको आंकलन सायद तपाईंले चलचित्रको ट्रेलर हेरेरै गरसक्नुभएकाे हुनुपर्छ । योभन्दा बढी बढ्ता कथा लिक गरिदिनु वाञ्छनीय नहोला ।

कमेडी धारमा बनेको भए पनि चलचित्र एकदमै यथार्थपरक छ । कथा–पटकथामा कतै पनि अतिरञ्जना (डिग्री माइलाका गफबाहेक) छैन । करिब अढाइ घन्टा स्वस्थ मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।

एउटा रोचक पात्र अनावरण गरिएको छ, ‘डिग्री माइला’का रुपमा, जो अति महत्वाकांक्षी मात्र छैन, अहंकारी र घामड पनि छ । भर्खरै डिग्री पास गरेर ठूला–ठूला सपना देखिरहेका तर हातमा शून्य सीप भएका युवाहरुका एक प्रतिनिधि पात्र हुन् उनी । शैक्षिक प्रमाणपत्रलाई साधन होइन साध्य मान्ने विद्यार्थीहरुलाई यो चलचित्रले सोच्न बाध्य बनाउने छ । डिग्री माइलासँग डिग्री पासको शैक्षिक प्रमाणपत्र त छ, तर उ एउटा बाँसको चोया पनि ढंगले काट्न सक्दैन । काठमाडौं जाने बस भाडाका लागि पनि डोको बुनेर जीविका चलाउने बुबासँग हात थाप्नुपर्ने बाध्यता छ उसलाई । यो धेरै शैक्षिक बेरोजगारहरुले भोगिरहेको नियति पनि हो ।

चलचित्रमा नायक र नायिका छन्, तर परम्परागत । उनीहरू ‘आदर्शवादी’ छैनन् । नायक–नायिकाको प्रेमलाई भिन्न तरिकाले देखाइएको छ । फर्मुला चलचित्रहरुमा जस्तो उनीहरु एक अर्काका लागि ज्यान दिन तयार हुँदैनन् । नायिका आफ्नो प्रेमीभन्दा बाबुलाई प्राथमिकतामा राख्छिन् । नायकले प्रेमीकाभन्दा आफ्नो सपना र महत्वाकांक्षालाई महत्व दिन्छ । उनीहरु एक–अर्कासँग लडिबुडी खेलेर, चुम्माचाटी गरेर बस्दैनन् । प्रायः नोकझोक नै चलिरहन्छ । उनीहरुको सम्वन्धमा मायाको उत्कर्षभन्दा अन्तरद्वन्द्व हावी छ ।

भूमिकाका हिसाबले डीग्री माइलालाई पूर्णरुपले दयाहाङको फिल्म मान्दा हुन्छ । त्यसो त महिनैपिच्छे दयाहाङका नयाँ–नयाँ चलचित्र रिलिज भइरहेकाे हुँदा उनीसँग दर्शक मोनोटोनस नै हुने अवस्था आइसक्याे छ । अनगिन्ति चलचित्र खेलिरहेका मात्र नभएर सँधै उस्तै चरित्र र अभिनयका कारण पनि उनलाई कुनै बेलाका राजेश हमालसँग तुलना गर्न थालिएको छ । तर, डिग्री माइलाका दयाहाङ अलिकति पृथक छन् । उनको व्यक्तित्व र चरित्रमा मौलिकता छ । विगतमा यही कथावस्तुमा आफैंले नाटक निर्देशन गरेको भएर पनि दयाहाङलाई चरित्रमा ढल्न खासै गाह्रो भएन ।

दयाहाङको प्रेमिकाको भूमिकामा आँचल शर्मा ठीकठाक छिन् । उनको अभिनयमा खोट लगाउने ठाउँ पनि छैन र ‘वाउ’ भन्ने खालको पनि छैन । अन्य कलाकारहरुमध्ये विजय बराल प्रभावशाली छन् ।  विजयजस्तै माओत्से गुरुङ, बुद्धि तामाङ र प्रकाश घिमिरे पनि रामबाबुका फिल्ममा नछुट्ने कलाकार हुन् । तीनैजनाले आ–आफ्नो भूमिकामा न्याय गरेका छन् । बुद्धि तामाङको थेगो चाहिँ आवश्यकताभन्दा बढी प्रयोग भएको छ ।

चलचित्रका अर्को टेसिला पात्र हुन्, अंग्रेजी शिक्षक । मधेसी मुलका शिक्षकको चरित्रलाई निकै सतर्कतापूर्वक चित्रण गरिएको छ । उनकाे ट्युसन माेह र विद्यार्थीबाट भाेग्नुपरेकाे दुर्व्यवहारबीच सन्तुलन मिलाइएको छ । सिधै जात जाेडीएकाे छैन ।

चलिचत्रमा अहम् भूमिका निभाएका अन्य कलाकारहरू कमलमणि नेपाल, हिउँवाला गौतम, शेखर चापागाईं, सोमनाथ खनाल, पशुपति राईलगायत सबै आ–आफ्नो लयमा छन् ।

निर्देशकका हिसाबले रामबाबुले आ-आफ्ना चलचित्रमा खोट लगाउने ठाउँ प्राय छोड्दैनन् । यसमा पनि उनले त्रुटिरहित निर्देशन गरेका छन् । निर्देशकको सिर्जनशीलता चलचित्रभरि नै छचल्किएको छ ।

स्क्रिप्टका तीनै पक्ष कथा, पटकथा र संवाद सशक्त नै छन् । यद्यपि, पटकथालाई अझै छाँटकाट गरेर टमक्क पार्न सकिन्थ्यो । मध्यान्तरपछि चलचित्र अलिकति खज्मजिएकाे छ । केही दृष्यहरु झिँझोलाग्दा पनि छन् ।

चलचित्रमा सबैभन्दा बढी खट्किएकाे चाहीँ क्लाइमेक्स हो । डिग्री माइलाको क्लाइमेक्समा स्क्रिप्टराइटर र निर्देशकको होमवर्क नपुगेको प्रतीत हुन्छ । आत्मदाह प्रयासपछि चलचित्रमा एउटा अन्तिम ट्वीस्ट आवश्यक थियो, जसले कथालाई तार्किक निष्कर्षमा पुर्‍याउन सकोस् र उठाउन खोजेको मुद्दा स्थापित हुन सकोस् । त्यसको अभाव भयो ।

कुनै पनि चलचित्रले असरल्ल समस्या फिँजाउने मात्र होइन, समाधानको बाटो पनि देखाउनुपर्छ । दर्शकलाई असमञ्जसमा छोडेर कथामा बिट मारिदिनु न्यायसंगत हुँदैन । यसमा डिग्री माइला चुकेकै हो । क्याम्पसमा नियुक्ति पाउनका लागि डिल्लीरामले रोजेको बाटो ठीक होइन भनेर चलचित्रले खुलेर भन्दैन । खासमा को सही र को गलत भन्ने छुट्याउने जिम्मा दर्शकलाई नै छोडिएको छ । शैक्षिक क्षेत्रको बेथितिलाई उजागर गरिसकेपछि यसलाई विधिसम्मत समाधानतर्फ लगेको भए सायद त्यो सन्देशमुलक पनि हुन सक्थ्यो ।

कुनै पनि चलचित्रको क्लाइमेक्सको प्रत्यक्ष प्रभाव यसको व्यापारमा पर्न जान्छ । चलचित्र औसत भए पनि क्लाइमेक्स बुलन्द छ भने दर्शक सन्तुष्ट भएर निस्किन्छन् र माउथ पब्लिसिटी राम्रो हुन्छ । चलचित्र उत्कृष्ट भएर पनि क्लाइमेक्स कमजोर भए दर्शक खिन्न बन्छन् र माउथ पब्लिसिटी खराब हुन्छ । यसर्थ क्लाइमेक्समा मेकर्सले बढी नै मिहिनेत गर्नुपर्ने हो । तर धेरै नेपाली चलचित्रहरु क्लाइमेक्समै चुकिरहेका छन् । कमजोर क्लाइमेक्सकै कारण थुप्रै राम्रा चलचित्रले व्यापारिक रुपमा मार खाएका छन् ।

समग्रतामा ‘डिग्री माइला’ स्तरीय दर्शकका लागि  एउटा हेर्नलायक फिल्म बनेको छ । ‘नेपाली चलचित्रलाई माया गरौं’ भनेर प्रवर्द्धन गर्नुपर्ने चलचित्र होइन यो । यद्यपि कबड्डीजस्तो सबै वर्गका दर्शकले यो चलचित्र नरुचाउन पनि सक्छन् । चलचित्रको गुणवेत्ता र प्रस्तुतीकरणमा  रमाउनेहरूले भने नछुटाउनु नै राम्रो । यसमा पेट मिचीमिची हाँस्ने, ताली बजाउने र सिटी फुक्ने सिनहरु कम छन्, तर लामो समय मनमा बस्ने र सोच्न बाध्य बनाउने खुराकहरु मनग्गे छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *