नयाँ वर्षको दिन भक्तपुर महोत्सवमा सांगीतिक उत्सव – Nepal Press

नयाँ वर्षको दिन भक्तपुर महोत्सवमा सांगीतिक उत्सव

भक्तपुर । आठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा भोली शनिवार सांगीतिक उत्सव हुने भएको छ ।

२०८१ सालको वैशाख १ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन् ।

हालसम्म १ लाखभन्दा धेरै दर्शकले अवलोकन गरेको महोत्सवमा राष्ट्रियस्तरका तीन दर्जन कलाकारहरूले सांगीतिक प्रस्तुति दिइसकेका छन् ।

नयाँ वर्षको दिन भोली मञ्जु पौडेल, सुविज्ञा पोखरेल, वैकुण्ठ महत, मदन विष्ट, कमल खत्री, रुविसा श्रेष्ठ, सागर लम्साल, प्रतिव हुमागाईँले प्रस्तुति दिनुहुनेछ, अध्यक्ष महतले भने ।

त्यसैगर अन्य कलाकारहरूमा गणेश केसी, हर्कुलास बस्नेत, महेश काफ्ले, मानस राज, कपिल कसपाल र अनित विष्टले दर्शकहरुलाई मनोरञ्जन दिनेछन् ।

नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरे महोत्सवका आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए ।

‘कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिब २ सय स्टल रहनेछ,’ थापाले भने ।

कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहेको छ ।

महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्न सकिनेछ ।

ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई ५० र सर्वसाधारणलाई भने ७० को टिकट लाग्ने संयोजक थापाले बताए ।

महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा वैशाख २ गतेसम्म संचालन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *