सुप्रिम सहकारीका ८ हजार बचतकर्ताको १ अर्ब ठगी: न्याय पाउन आन्दोलन गर्ने पीडितहरुको चेतावनी (भिडिओ) – Nepal Press

सुप्रिम सहकारीका ८ हजार बचतकर्ताको १ अर्ब ठगी: न्याय पाउन आन्दोलन गर्ने पीडितहरुको चेतावनी (भिडिओ)

रुपन्देही । जिल्ला बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले निर्णायक आन्दोलन गर्ने तयारीमा लागेको बताएका छन् । सहकारीका ८ हजारभन्दा बढी बचतकर्ताको १ अर्बभन्दा बढी रकम ठगिएको उनीहरुको दाबी छ । जुन रकम ठगी गर्नेलाई राजनीतिक संरक्षणमा जोगाइएको उनीहरुको आरोप छ ।

उनीहरुले सहकारीको रकम हिनामिना गर्ने मुख्य नाइके संस्थाका संरक्षक जीतेन्द्रबाबु (जीबी) राई र व्यवस्थापक सागर केसीलाई तत्काल पक्राउ नगर्दा आफूहरुको माग सुनुवाइ हुन ढिलो भएको बताए ।

सुप्रिम सहकारीका १० हजार ३९१ बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको अनुसन्धानले देखाएको छ । सहकारीले १ अर्ब ७ करोड रकम संकलन गरेको लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयले तयार गरेको प्रतिवेदनमै उल्लेख छ ।

गृहमन्त्री रवि लामिछाने यसमा जोडिएकाले नै राई र केसीलाई पक्राउ गर्न नखोजिएको पीडितहरुको आशंका छ । अनुसन्धानमा राई र केसी दोषी देखिए पनि पक्राउ गरेर बचतकर्ताहरुको रकम फिर्ताको वातावरण नबनाए वैशाख ४ गतेदेखि सडक आन्दोलन गर्ने पीडितहरुले चेतावनी दिएका छन् ।

राई मलेसियामा रहेको खुलेको र केसी नेपालमै हुँदा पनि पक्राउ नपर्नु आश्चर्यको विषय भएको पीडितहरुको गुनासो छ । प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणमा अहिलेसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले गत फागुन ४ गते सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई पक्राउ गरेको थियो ।

त्यस्तै सहकारीको सञ्चालक र कर्मचारीको रुपमा रहेका कुमार रम्तेल र सहकारीको आईटी प्रमुख भविश्वर अर्याललाई पनि पोखराबाट बुटवल ल्याएर अनुसन्धान गरिसकेको छ । सहकारीका सचिव रम्तेल र अर्याल पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् ।

एक महिनाअघि पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई काठमाडौंको अर्को काण्डमा पक्राउ परे पनि सहकारी ठगीको मुद्दा पहिले दर्ता भएकाले बुटवलमा ल्याइएको छ । बुटवल प्रहरी हिरासतमा रहेका पुन सुप्रिम सहकारीका पूर्वसचिव हुन् ।

सहकारीमा ३ करोडसम्म बचत राखेर ठगिएकाहरु सडकमा आएका छन् । पीडित प्रेम घिमिरेले प्रतिपक्षमा हुँदा चर्को आवाज उठाउने दलका नेताहरु सरकारमा गएपछि बोल्नै छोड्ने र सरकारमा बस्दा चुप लाग्नेहरु बाहिर आएपछि चर्को बोल्ने गरेकोले राजनीतिक संरक्षण प्रस्ट हुने बताउँछन् ।

‘हामीले प्रहरीमा उजुरी गरेका छौं । तर, अनुसन्धान गरिरहेको प्रहरीले करोडौं रकम डुबेका पीडितलाई बोलाएर सोधपुछसम्म गरेको छैन, यसमा सेटिङ छैन भनेर कसरी विश्वास गर्ने ?’, उनले भने ।

पीडितहरुको संघर्ष समितिका संयोजक विजयकुमार नेपालले नेपालमै रहेका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धानको दायरामा नल्याउँदा पीडितले न्याय पाउने आशा मरेको बताए ।

‘गोर्खा मिडिया र ग्यालेक्सी टेलिभिजनको प्रमुख रहेका रवि लामिछाने अहिले गृहमन्त्री हुनुहुन्छ । तर, त्यही गोर्खा मिडिया नेटवर्कलाई करोडौं रकम दिने सागर केसी नेपालमै हुँदा पनि किन पक्राउ परेनन्’, उनले भने, ‘आकाशमा भए पनि पातालमा भए पनि जीबी राई पक्राउ पर्छन् भनेको महिना दिन बित्दा पनि खोई पक्राउ गरेको ?’

उनले सहकारी पीडितले न्याय नपाउने अवस्था आए स्थानीय, प्रदेश र संघीय सरकारविरुद्ध सडकमा उत्रिने चेतावनी दिए ।

बुटवल ९ का अर्का पीडित दुर्गाबहादुर गुरुङले आफ्नो परिवारका सदस्यको करिब ३ करोड रकम सहकारीमा फसेको बताए ।

बुटवलका व्यवसायी कृष्ण खरेलले आफ्नो साढे २ करोड रकम सुप्रिम सहकारीमा फसेको बताए ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले सहकारीका धेरै जनाविरुद्ध संगठित अपराधअन्तर्गत मुद्दा पेस हुने तयारीमा रहेको जानकारी दिए ।

सहकारीका संस्थापक अध्यक्ष तथा संरक्षक राई र उनी संलग्न पाँच वटा कम्पनीलाई सहकारीका व्यवस्थापक केसीको एकल निर्णयमा ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिइएको थियो । राईले आफू अध्यक्ष रहेकै बखत आफ्ना चार वटा कम्पनीका नाममा १३ करोड ७० लाख ९२ हजार २७० रुपैयाँ ऋण लगेका थिए । २०७६ कात्तिक १६ गते अध्यक्षबाट राजीनामा दिएर संरक्षक बनेका राई अहिले फरार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *