एमाले रुकुमपूर्वको नेतृत्वका लागि त्रिपक्षीय लडाई, नेताहरुले सर्वसम्मत खोजेपनि आकांक्षी भएनन् टसमस – Nepal Press

एमाले रुकुमपूर्वको नेतृत्वका लागि त्रिपक्षीय लडाई, नेताहरुले सर्वसम्मत खोजेपनि आकांक्षी भएनन् टसमस

रुपन्देही । नेकपा एमाले रुकुमपूर्वको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि नेताहरुले सर्वसम्मत नेतृत्व छान्ने बताएपनि आकांक्षीहरु टसमस नभएपछि निर्वाचन हुने सम्भावना बढी देखिएको छ ।

बिहीबार सुरु भएको अधिवेशनको शुक्रबार बन्द सत्रपछि नेतृत्वको विषयले प्रवेश पाउने छ । नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष टोपबहादुर वली, प्रदेश कमिटी सदस्य लीलामणी गौतम र प्रतिनिधि सभामा उम्मेदार रहेका कैलाश मल्ल, किसान महासंघ अध्यक्ष ओपेन्द्रलाल कामी, बागलाल बुढा, तेजेन्द्र बुढा बलियो दावेदार रहेका छन् ।

केही वर्षअघि वडावडामा उम्मेदारका लागि पनि व्यक्ति खोज्नुपर्ने यो जिल्लामा २ हजार ४४ पार्टी सदस्यमध्ये ३४४ जना प्रतिनिधि छनौट भएको एमाले नेताको भनाइ छ । ती मध्ये ११४ जना आयोजक र बाँकी प्रतिनिधि छनौट भएका हुन् । अधिवेशनको बिहीबार केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले उद्घाटन गरेकी थिइन् ।

नयाँ नेतृत्वको लागि दावेदारी गरेका प्रदेश कमिटी सदस्य लीलामणि गौतमले सबैको सल्लाहमा पार्टीको नेतृत्वको लागि अगाडि सरेको बताए । ‘अहिले जिल्लामा पार्टी बलियो बन्दै गएको छ, यसअघि प्रदेश कमिटीमा रहेपनि यहाँको कमिटीलाई बलियो बनाउन धेरै साथीहरुको आग्रहअनुसार अगाडि बढेको हुँु’ उनले भने ।

अर्का आकांक्षी कैलाश मल्लले यसअघिको सहमतिअनुसार आफूले नेतृत्वको दावेदारी गरेको बताउँछन् । प्रदेश अधिवेशनकै समयमा मलाई जिल्ला नेतृत्व दिने भनेर समझदारी भएको हो, गत निर्वाचनमा यहाँ पार्टीले पराजित हुने निश्चित भएपनि म मैदानमा पुगेको हुँ, त्यो लगानीका हिसाबले र प्रदेश निर्वाचनमा गरिएको समझदारीअनुसार मलाई न्याय गरेर नेतृत्व दिनुहुनेछ, छलफलमा अनेकता र निर्णयमा एकता अनुसार अगाडि जानसकिन्छ भन्ने बुझेको छु ।’ मल्लले भने ।

अहिलेका जिल्ला अध्यक्ष टोपबहादुर वलीले लामो समय आफूले जिल्लामा अगुवाई गरेकाले अब सर्वसम्मत भएमात्रै नेतृत्वमा जाने तर निर्वाचन हुने भए नजाने बताए । ‘अब म चुनाव लडेर नेतृत्वमा जाने मुडमा छैन, धेरै साथीहरुको आकांक्षा बढेकाले सहमतिमा मलाई नै जिम्मेवारी लिन सबैको आग्रह भएमात्रै जाने हो’ उनले भने ।

त्यसैगरी अर्का उम्मेदार बागलाल बुढा पनि नेतृत्वका लागि अगाडि सरेका छन् । उनलाई नेता खेममान खड्काको साथ रहेको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा एमालेको यो दोस्रो जिल्ला अधिवेशन हो । यसअघि रुकुममा जिल्ला अधिवेशनमा पनि निर्वाचनबाट नेतृत्व छानिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर