मनोज गजुरेलले गरे टाउकोमा ‘रोपाईं’ : ६ हजार कपाल रोपेपछि यस्तो छ लुक्स – Nepal Press

मनोज गजुरेलले गरे टाउकोमा ‘रोपाईं’ : ६ हजार कपाल रोपेपछि यस्तो छ लुक्स

काठमाडौं । टिभी रियालिटी शो कमेडी च्याम्पियनका पछिल्ला केही एपिसोडमा तपाईंले मनोज गजुरेललाई ‘बाल्ड लुक’ मा देखिरहनु भएको छ । तर, आज प्रशारण हुने नयाँ एपिसोडमा उनको लुक्समा बदलाव पाउनुहुनेछ ।

निर्देशक विशाल भण्डारीसहित टिम चढेको गाडी दुर्घटना हुँदा कमेडी च्याम्पियनको पछिल्ला दुई एपिसोड रोकिएको थियो । यस रियालिटी शोका एक जज प्रख्यात कमेडीयन गजुरेलले यही बीचमा आफ्नो टाउकोमा ‘रोपाईं’ गर्न भ्याएका छन् । यसअघि ‘विग’ लगाएर हिँड्ने गरेका गजुरेल त्यो झण्झटबाट मुक्त भए ।

गजुरेलका अनुसार ३०–३२ वर्षको उमेरदेखि उनको कपाल झर्न थालेको थियो । जवानीमै तालुखुइले देखिन थालेपछि एकपटक उनी डाक्टरकहाँ पनि गए । डाक्टरले एउटा औषधि लेखिदिए । गजुरेलले सोधे, ‘यसले केही साइड इफेक्ट त हुँदैन नि,’ डाक्टरले नहुने भनेर पठाए ।

तर, त्यो औषधिले कपाल झर्न रोकिनुको साटो झनै समस्या बढ्यो । टाउकोको मध्यभागमा अझै ठूलो क्षेत्रफल खाली हुन थाल्यो । त्यसपछि उनी आत्तिएर डाक्टरकहाँ गए ।

‘तपाईंले साइड इफेक्ट हुँदैन भन्नुभएको थियो, तर झन् धेरै कपाल झर्न थाल्यो त,’ गजुरेलले गुनासो गरे ।

डाक्टरले जवाफ दिए, ‘साइड इफेक्ट पो हुँदैन भनेको हो त, तपाईंको त सेन्टर इफेक्ट भएछ । साइडको कपाल त सद्दे नै छ ।’

मनोजले सुनाएको यो गफ रियल हो कि गजुरियल हो उनै जानुन् । तर, उनले आफ्नो टाउको र कपालमाथि अरु पनि जोक्स बनाएका छन् । विग लगाएर हिँड्न थालेपछि धेरै मान्छेले सोधेर हैरान गरे, ‘तपाईंको कपाल नक्कली कि सक्कली ? रोपेको हो कि पालेको ? एक्कासी कसरी कपाल पलायो ? आदि इत्यादी । आखिर गजुरेलले यसलाई पनि जोकमा ढाले ।

‘यो कपाल पालेको होइन, टालेको । रोपेको होइन छोपेको । ट्रान्सप्लान्ट होइन टाँसप्लान्ट हो ।’

यसरी आफैंले सबै एक्सपोज गरिदिएपछि मानिसहरुले सोध्न पनि छाडे ।

तर, विगबाट पनि विस्तारै अघाए मनोज । दिनहुँ विग टाँस्ने झण्झन्टबाट मुक्ति पाउन उनलाई परिवार र साथीभाइले सल्लाह दिए कपाल रोप्ने । लौन त भनेर उनी पनि जोस्सिए । अनि पुगे एरोगिन हेल्थकेयरमा । त्यहाँका डाक्टरले हेरेपछि उनलाई दुई चरणमा कपाल प्रत्यारोपण गर्न सल्लाह दिइयो । त्यसै अनुसार पहिलो चरणको ‘रोपाईं गजुरेलले सकेका छन् । उनको अगाडिको तालु अहिले ठुटे कपाल भरिएको छ । डाक्टरका अनुसार यो कपाल बढेर धेरै झर्छ र तलबाट टुसा पलाउँछ । त्यो ठूलो भएपछि चाहीँ झर्दैन ।

मनोजकै टाउकोको पछाडि भागको कपाल निकालेर अगाडिको भागमा प्रत्यारोपण गरिएको हो । ६ हजार भन्दा बढी कपाल रोपिएको उनले बताए । तैपनि अहिले पातलो छ । दोस्रो चरणमा फेरि थप कपाल रोपेपछि उनको टाउको हराभरा हुने छ । कपाल रोपाईं गर्न खर्च गरेको पैसा उनले खुलाउन चाहेनन् । यद्यपि, क्लु चाहीँ दिए । मनोजका अनुसार बजारमा २५ देखि ९० रुपैयाँ गोटाका कपाल पाइन्छ । यही बीचको कुनै रेट भएको उनले बताए । औसतमा ५५ रुपैयाँ गोटा मान्ने हो भने ६ हजार कपालको ३ लाख ३० हजार जति लाग्ने देखिन्छ ।

कपाल रोप्ने प्रक्रियालाई उनले धान रोपाईंसँग तुलना गरे ।

‘सुरुमा डाक्टरले नापजाँच गर्ने, टाउको सम्याउने, विउ राख्ने, मुठा पार्ने आदि काम गर्दा रहेछन् । उनीहरु हलिजस्ता भए । त्यसपछि सर्जनले पछाडिको कपाल उखेल्दै अगाडि रोप्दै गर्दा रहेछन् । उनीहरु रोपाहारजस्ता,’ मनोजले भने, ‘अगाडि लोकल एनेस्थेसिया दिइसकेपछि मलाई खासै सकस भएन ।’

त्यसो त आफूलाई प्राकृतिकरुपमा नै गर्व लाग्ने मनोज बताउँछन् ।

‘मलाई तालु मन नपर्ने होइन । म त आफ्नो जस्तो रुप छ त्यसमा नै गर्व गर्ने मान्छे हो । तैपनि एउटा अनुभव लिउँ न भनेर प्रत्यारोपण गराएको हुँ,’ उनले भने ।

कपाल प्रत्यारोपण सकेर गजुरेल अहिले ओमान पुगेका छन् । उनी दुई दिनपछि फर्किने सेड्यूल छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *