आन्तरिक चुनावको उन्नत अभ्यास- सामाजिक सञ्जालमा भोट मागिनन्, सर्वाधिक मतले जितेपछि खादा लगाइनन् – Nepal Press

आन्तरिक चुनावको उन्नत अभ्यास- सामाजिक सञ्जालमा भोट मागिनन्, सर्वाधिक मतले जितेपछि खादा लगाइनन्

एमाले ओखलढुंगाकी उपसचिव अस्मिता थापा भन्छिन्- पार्टीभित्रको प्रतिस्पर्धामा सामाजिक सञ्जाल रंगाउन मन लागेन, आफ्नै कमरेडसँगको प्रतिस्पर्धामा हारजितको माहौल नहोस् भनेर अबिर खादा उचित लागेन

ओखलढुंगा । सामाजिक सञ्जालमा सर्वाधिक सक्रिय रहने लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले एमाले जिल्ला अधिवेशन उद्घाटनको फेसबुक पेजको लाइभ शेयर गर्नेबाहेक कतै देखिइनन् ।
उनी जिल्ला कमिटी उपसचिवको उम्मेदवार थिइन् तर अधिकांश प्रतिनिधिहरू जोडिएको सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो उम्मेदवारीसमेत सार्वजनिक गरिनन् ।

केही नेताले फेसबुकबाट लोकप्रिय भएको भन्दै टिप्पणी गरेपछि उनले यसपटक फेसबुकलगायत सामाजिक सञ्जालबाट मत नै नमागी सर्वाधिक लोकप्रिय मतका साथ उपसचिवमा निर्वाचित भइन् । मतगणना भइरहदा उनी जिल्ला समन्वय समितिको बैठकमा थिइन् ।

मतदातासमक्ष मतदानको बेला लाइनमा उभिएर मत माग्नेबाहेक उनले कुनै मञ्च प्रयोग गरिनन् । पार्टीको आन्तरिक लोकतन्त्रको प्रतिस्पर्धा भएकाले आफूले सामाजिक संजाल र सार्वजनिक मञ्च प्रयोग गरेर मत नमागेको थापाले बताइन् ।

खसेको मतको आधाभन्दा बढी समर्थनका साथ निर्वाचित भएकी थापाले भनिन्, ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा भएकाले मैले मत माग्नका लागि फेसबुकलगायत सामाजिक सञ्जाल र सार्वजनिक मन्चहरुको प्रयोग नगरेकी हुँ । जो जिते पनि पार्टीकै साथी जित्ने भएकाले यसलाई जितहारको रुपमा लिन हुँदैन भन्ने मेरो मान्यता हो । पार्टीभित्रको उन्नत लोकतान्त्रिक अभ्यास र प्रतिनिधि तथा पार्टी सदस्यहरुप्रति पूर्ण भरोसा सधैँ रहनेछ ।’

उपसचिव निर्वाचित थापाले यो आन्तरिक लोकतन्त्र भएकाले एउटा हार्ने र अर्को जित्ने जस्तो माहौल नबनोस् भनेर आफूले अबिर माला र खादा पनि नलगाउने घोषणा गरेको बताइन् । विजयी भएपछि नेता कार्यकर्ताले खादा लगाइनदिन खोज्दा उनले माला र खादा हातमा राखेर स्वीकार गरेकी थिइन् ।

बुधवार सम्पन्न मतदानमा २८८ मत खसेकोमा उपसचिव पदमा अस्मिताले १७४ मतका साथ बिजयी हुँदा प्रतिस्पर्धी रमिला मगरले ९८ मत पाएकी थिइन् ।

संयोग नै मान्नुपर्छ २ वर्षअघि भएको स्थानीय तह निर्वाचनमा अस्मिताले प्रतिस्पर्धीलाई १ हजारभन्दा बढी मतान्तरले पराजित भएर गाउँपालिका उपाध्यक्ष जित्दा एमालेका अध्यक्ष उम्मेदवार भने झिने मतले पराजित भएका थिए ।

यसपटक पार्टीको निर्वाचनमा पनि उनी उम्मेदवार बनेको प्यानलका अध्यक्ष हर्कबोल राई ११ मतले पराजित हुँदा उनी करीव दोब्बर मतान्तरमा बिजयी भइन् । राईको प्यानलबाट उपसचिव अस्मितामात्र निर्वाचित भएकी छन् ।

अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य रहँदै गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी २८ वर्षीया थापा नवौं महाधिवेशनबाट एमाले ओखलढुंगा जिल्लाको सदस्य निर्वाचित भएकी थिइन् । यसपटक एमालेले जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न रोकेपछि उनी उपसचिव उम्मेदवार बनेकी हुन् ।

थापा गाउँपालिका महासंघ कोशी प्रदेश सहसचिवसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर