इलाम-२ को उपचुनावलाई प्रतिष्ठा बनाउँदै कांग्रेस, गगन थापा पनि खटिए – Nepal Press

इलाम-२ को उपचुनावलाई प्रतिष्ठा बनाउँदै कांग्रेस, गगन थापा पनि खटिए

काठमाडौं । सत्ता गठबन्धन भत्किएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले इलाम २ को उपचुनावलाई प्रतिष्ठा बनाएको छ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले समर्थन गरे पनि कांग्रेसले एक्लै जित्नै रणनीतिका साथ अगाडि बढेको हो ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । उनी गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग १४४ मतले मात्रै पराजित भएका थिए । त्यसैले अहिले इलाममा आफ्नो पक्षमा माहोल बनाउन कांग्रेसका शीर्ष नेताहरू खटिएका छन् ।

त्यहाँ कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर बनाएर पठाएको छ। उम्मेदवार चयन गर्नुअघि नै इलामको ग्राउण्ड रिपोर्ट बुझेका शर्मालाई नै अहिले खड्कालाई जिताउने जिम्मेवारी दिएर पठाएको छ ।

खड्काको पक्षमा माहोल बनाउनको लागि अहिले अर्का महामन्त्री गगन थापा पनि इलाम पुगेका छन् । शर्मालाई साथ दिनको लागि गगन इलाम पुगेको बताइन्छ । महामन्त्री थापा अहिले चुनावी अभियान अन्तर्गत नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त छन्।

इलाममा हुने उपनिर्वाचन कांग्रेसले जित्ने प्रवक्ता डा. प्रकाशशरण महतले दाबी गरे।

उनले भने- इलाममा हामी यसभन्दा अगाडि अत्यन्तै झिनो मतले हारेका थियौँ। तर, अहिले पार्टीभित्र एकताबद्ध गरेर जाँदा ११४ मतले मात्रै हारेको ठाउँमा जित निकाल्न सक्ने हाम्रो निष्कर्ष छ। हामीले उम्मेदवार पनि जिल्लाको पार्टी सभापति र त्यहाँ जनमत भएकै मान्छेलाई बनाएका छौँ।

उनले कांग्रेसले इलाममा मात्रै नभएर बझाङमा पनि जित हासिल गर्न एकताबद्ध भएर लागिरहेको जिकिर गरे।

त्यसो त उम्मेदवार खड्काले पनि एमाले र माओवादीबीचको गठबन्धन ठूलो कुरा नभएकाले आफूलाई जनताले निर्वाचित गर्नेमा विश्वस्त रहेको दाबी गरे।

उम्मेदवारी दर्तापछि उनले भनेका थिए- मैले इलाममा धेरे सामाजिक कार्यहरू गरेको छु त्यसलाई हेरेर भोट हाल्न गर्छु। २०३९ सालदेखि काम गरिरहेको छु। त्यसैले अहिले चुनावी गठबन्धनले असर गर्दैन मलाई जनताले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु।

कांग्रेसले इलाममा आफूहरू झिनो जनमतले पराजित भएको दाबी गरेपछि त्यसबेला माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको पनि साथ थियो । तर, अहिले इलाममा माओवादीले एमालेलाई सघाउँदा नेकपा एस र जसपाले आ-आफ्नै उम्मेदवार अघि सारेका छन्।

त्यहाँ कांग्रेसलाई एमाले मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार (पहिचानवादी) डकेन्द्रसिंह थेगिम लिम्बू पनि चुनौती बनाइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर