मिटरब्याज पीडित रायलाई गृहमन्त्री रविको आश्वासन- बुवा, चिन्ता नगर्नुस्, न्याय गर्छु – Nepal Press

मिटरब्याज पीडित रायलाई गृहमन्त्री रविको आश्वासन- बुवा, चिन्ता नगर्नुस्, न्याय गर्छु

जनकपुरधाम । मंगलवार साँझ उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जनकपुरधाम आइपुगे । राति होटल सिताशरणमा बास बसे । उनी आज बिहान सुरक्षा अधिकारीहरूसँग भेटघाटमा व्यस्त थिए ।

सुरक्षा अधिकारीहरूसँग रहेकै बेला होटलमा आइपुगे मिटरब्याज पीडित सर्वनारायण राय । धनुषाको धनौजी गाउँपालिका ४ का राय गृहमन्त्री नजिक पुगेर भावुक बने । उनमाथि नजर परे लगत्तै गृहमन्त्री रविले सोधिहाले- के भयो बुवा ?

गृहमन्त्रीको व्यस्तता देखेर राय केहि बोल्न सकिरहेका थिएनन् । तर गृहमन्त्रीले नै सोधेपछि राय खुले । र, पीडा पोखे- हजुर, ममाथि ठूलो अन्याय भएको छ । मेरो करोडौँको सम्पत्ति बेइमानले हड्पियो । मलाई न्याय गरिदिनुस् ।

राय केहि वर्ष अगाडी सुजित चौधरीसँग ५ लाख ७० हजार रुपैयाँ ऋण लिएका थिए । जसमध्ये चौधरीलाई १ लाख ५५ हजार रुपैयाँ फिर्ता गरिरहेका छन् ।

‘बाँकी रुपैयाँ ब्याजसहित चुक्ता गरिदिने भन्दै आएका थिएँ’, रायले सुनाए, ‘तर ऋण चुक्ता गर्न ढिलो भएको निहुँमा चौधरीले जनकपुरधामको ५ धुर जग्गा लिलामी गराइदिए ।’

उनका अनुसार गत असोज १५ मा जग्गा लिलाम दरोगा साहले स्वीकारे । अहिले उक्त जग्गा साहको नाममा रजिस्ट्रेशन पास भइसकेको छ । अदालत पनि मिटरब्याजीकै पक्षमा फैसला गरेको छ ।

लिलाम गराएको आफ्नो जग्गा अहिलेको चलनचल्ती मूल्य अनुसार करोडौँको रहेको रायको दाबी छ । उनले भने, ‘५ लाख ७० हजारमा १ लाख ५५ हजार त फिर्ता नै गरिसकेको थिए । ४ लाख १५ हजारका लागि मेरो करोडौँको जग्गा हड्पियो ।’

गृहमन्त्रीसँग पीडित रायले बिन्ती गरे, ‘हजुर, सरकारले तोकेको १० प्रतिशत ब्याज जोडेर ऋण चुक्ता गर्न तयार छु । मेरो जग्गा फिर्ता गराइदिनुस् ।’

पीडित रायको पीडा सुनेपछि गृहमन्त्री रविले आश्वासन दिए, ‘बुवा चिन्ता नगर्नुस्, काम गरिरहेको छु । न्याय पाउनुहुन्छ । आयोग पनि बनेको छ । आयोगले पनि काम गरिरहेको छ । सबै मिटरब्याज पीडितलाई न्याय दिन्छौँ ।’

उनको पीडा सुनेको केही बेरमै गृहमन्त्री लामिछाने मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सामेल भए । गोष्ठीमा सहभागी उनलाई भेट्न होटलमा मिटरब्याज पीडित र मिटरब्याजीको आरोप झेलिरहेकाहरूका साहु (महाजन ) को भीड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर