नेपाली सेनाको गोरखा-जितगढी दोस्रो पदयात्रा सुरू, वैशाख ७ गते बुटवलको जितगढी आउने – Nepal Press

नेपाली सेनाको गोरखा-जितगढी दोस्रो पदयात्रा सुरू, वैशाख ७ गते बुटवलको जितगढी आउने

रूपन्देही । अंग्रेजलाई हराएको स्मरण गर्दै नेपाली सेनाले दोस्रोपटक गोरखा–जितगढी पदयात्रा सुरु भएको छ। गतवर्षदेखि सुरू गरिएको पदयात्रा यो वर्ष पनि सुरू भएको हो ।

ऐतिहासिक सम्पदाहरू तथा घटनाक्रमको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चैत्र २७ मंगलबारबाट पदयात्रा सुरु भएको हो। पश्चिम पृतनापति उपरथी सन्तोष बल्लब पौड्याल र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले झण्डा हस्तान्तरण गरी पदयात्राको शुभारम्भ गरेका थिए।

सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका ५ (पांच)वटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज)हरु तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा गरेका छन् ।

करिब २०७ कि.मी. दुरीमा सञ्चालन हुने यात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढीसम्म पुगेर समारोहका साथ समापन हुने नेपाली सेनाले जाएको छ। नेपाली सेनाले ऐतिहासिक जितगढी किल्ला मर्मत तथा पुनः निर्माण गरी गत पुस २० गते बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यस्तै, नेपाली सेनाद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा–काठमाडौँ एकीकरण मार्गमा पदयात्रा सञ्चालन हुँदै आएको छ । वैशाख ७ गते बुटवलको जितगढी आएर पदयात्रा समापन हुनेछ । तत्कालीन समयमा सेनाले हिंडेको बाटोबाट सेनाले पदयात्रा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *