५० वर्षअघि बुटवलबाट सुरु भएको भलाई कोषको देशव्यापी सञ्जाल, स्वर्ण महोत्सवको तयारी – Nepal Press

५० वर्षअघि बुटवलबाट सुरु भएको भलाई कोषको देशव्यापी सञ्जाल, स्वर्ण महोत्सवको तयारी

रुपन्देही । ५० वर्षअघि बुटवलमा स्थापना भएर देशव्यापी सञ्जाल बनाएको यातायात मजदूर तथा व्यवसायी भलाई कोषले स्वर्ण महोत्सवलाई रचनात्मक तरिकाले मनाउने तयारी गरेको छ ।

यातायात मजदुर र व्यवसायीहरुको संरक्षण र हितका लागि स्थापना भएको कोषले स्वर्ण महोत्सवमा थप प्रभावकारी कार्यक्रमलाई अगाडि सारेको जनाएको छ ।

२०३१ सालमा सार्वजनिक सवारी साधनका चालकहरु मिलेर स्थापना गरिएको यातायात मजदुर तथा ब्यवसायी भलाई कोषले कोषले नयाँवर्ष २०८१ को प्रारम्भसंगै बैशाख १ देखि ३ गतेसम्म स्वर्ण महोत्सव मनाउने तयारी गरेको मंगलबार आयोजित पत्रकार सम्मलेनमा कोषका अध्यक्ष दिनेश फुल्लेलले बताए ।

कोषमा राजेन्द्रबहादुर सिंह श्रेष्ठ, यम केसी, दामोदर ज्ञवाली, विजयप्रसाद लाकौल, डिलबहादुर थापा, कुमार थापा, चिनबहादुर गुरुङ, नारायणप्रसाद भटराई हुँदै पछिल्लो समय दिनेश फुल्लेलले नेतृत्व गरेका छन् ।

कोषका अध्यक्ष फुल्लेलका अनुसार सुदूरपश्चिम बाहेकका ६ प्रदेशका २६ स्थानमा साखा स्थापना गरी मजदुरका समस्याबारे सहजीकरण गरेको छ । हाल कोषमा ३ हजार हाराहारी यातायात मजदुरहरु आवद्ध छन् ।

तीन दिनसम्म मनाइने स्वर्ण महोत्सवको अवसरमा संस्थाले रक्तदान, चालक परिचालक र सहचालकहरुको स्वास्थ्य चेकजांचसहितका विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने अध्यक्ष फुल्लेलले बताए ।

भलाई कोषको स्वर्ण महोत्सवकै अवसर पारेर ५ लाख रुपैयांको गरीव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्न लागेको अध्यक्ष फुल्लेलले बताए ।

भलाई कोषले हालसम्म भए गरेका काम, संस्थाको इतिहास र दुर्घटना न्युनीकरणसम्बन्धी विषयलाई समेटेर प्रकाशन गरिने स्मारिका विमोचन गरिने फुल्लेलले जानकारी दिए ।

यातायात मजदूर तथा व्यवसायी भलाई कोषले दुर्घटना न्युनीकरणका लागि बिगतदेखि नै सचेतना जगाउंदै आएको छ भने दुर्घटनामा परेर ज्यान गुमाएका यातायात मजदुरका परिवारमा राहत घाइतेहरुको भरण पोषणका लागि मासिक भत्ता तथा दुर्घटनामा परेर हिरासतमा बसेका चालकहरुको परिवारका लागि जीवनयापन गर्न राहत रकमसमेत उपलब्ध गराउने गर्दै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *