राप्रपाको आन्दोलनमा दमन भएको भन्दै गण्डकी कांग्रेसको विज्ञप्ति, यस्तो छ राजनीतिक अन्तर्य – Nepal Press

राप्रपाको आन्दोलनमा दमन भएको भन्दै गण्डकी कांग्रेसको विज्ञप्ति, यस्तो छ राजनीतिक अन्तर्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज गरेको काठमाडौं केन्द्रित आन्दोलनमा प्रहरीले बल प्रयोग गर्यो । पार्टीका केही सिनियर नेताहरु पनि कुटिए भने प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरियो ।

राप्रपाले आफ्नो आन्दोलनमा भएको प्रहरी दमनको विरोध गर्ने नै भयो । तर, आज नेपाली कांग्रेसको एउटा प्रदेश संसदीय दलले राप्रपाप्रति सदासयता दर्शाउँदै विज्ञप्ति जारी गरेको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विज्ञप्तिमार्फत राप्रपाको आन्दोलनमा गरिएको प्रहरी दमनको निन्दा गरेका छन् ।

पाण्डेले भनेका छन्, ‘राप्रपाले काठमाडौंमा आज गरेको शान्तिपूर्ण जनप्रदर्शनमा राज्यको तर्फबाट बल प्रयोग हुनु दुखद विषय हो । प्रदर्शनमा सहभागीहरुलाई लाठीचार्ज गर्ने, पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी गम्भीर घाइते बनाइएको, केही सहभागीलाई पक्राउ गरिएको प्रति नेपाली कांग्रेस संसदी दल गण्डकी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ ।’

पाण्डेले घटनाको घोर निन्दा गर्दै घाइतेहरुको उपचार र पक्राउ गरिएकाहरुको बिनाशर्त तुरुन्त रिहाईको मागसहित घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । एउटा पार्टीको आन्दोलनप्रति अर्को पार्टीको तर्फबाट यसरी सहानुभूति प्रकट हुनु नेपाली राजनीतिमा नौलो दृष्टान्त हो । तर, यसको राजनीतिक पाटो छ ।

अहिले प्रतिपक्षमा छ राप्रपा । सत्तारुढ गठवन्धनले रेड कार्पेट ओछ्याएर बोलाए पनि राप्रपाले सत्ताभन्दा सडक रोजेको हो । यतिबेला संसदको सबैभन्दा ठूलो दल कांग्रेस पनि प्रतिपक्षमा हुत्तिएको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सत्ताबाट धकेल्दै गठवन्धन बदलेका थिए ।

प्रतिपक्षी दुई दल कांग्रेस र राप्रपाबीच अहिलेसम्म कुनै पनि घोषित साँठगाँठ र सहकार्य छैन । तर, पछिल्ला गतिविधिहरुबाट राप्रपाले रणनीतिगतरुपमा कांग्रेसँग दुरी घटाइरहेको देखिन्छ । खासगरि प्रदेशमा राप्रपाले कांग्रेसलाई आड दिन खोजिरहेको छ । कुनै पनि प्रदेशमा गठवन्धनलाई समर्थन नगर्ने औपचारिक निर्णय नै लिएको राप्रपाले परिआएको खण्डमा कांग्रेसलाई विश्वासको मत दिने रणनीति बनाएको छ ।

राप्रपाको यो निर्णयले सबैभन्दा ठूलो फाइदा मिल्नेवाला छ गण्डकी कांग्रेसलाई । गण्डकीमा सरकार निर्माणका लागि राप्रपा निर्णायक दल हो । राप्रपाको समर्थनबिना त्यहाँ गठवन्धनको दिगो सरकार बन्ने वाला छैन ।

अहिले सभामुख समेतको हस्ताक्षर बुझाएर बहुमत पुर्याइएको भए पनि अदालतमा मुद्दा परिसकेको छ र यो सरकार भत्किने निश्चतप्राय छ । त्यसपछि फेरि आफ्नो पालो आउनेमा पाण्डे विश्वस्त छन् । राप्रपासँगै दिपक मनाङे र नेसपाका फणिन्द्र देवकाेटालाई फकाउन सके भने उनले बहुमत पुर्याउन सक्नेछन् । दिपक मनाङे एक थान मन्त्री पाएपछि जता पनि लागि हाल्छन् । फणिन्द्र पनि कांग्रेसप्रति सकारात्मक छन् ।

अदालतले यो सरकारलाई अवैध करार गरिदिएमा पाण्डेसँग बहुमत जुटाएर फेर मुख्यमन्त्री बन्ने अवसर आउने छ । त्यसका लागि उनले राप्रपालाई आफ्नो साथमा राख्नु अनिवार्य हुन्छ । अहिले विज्ञप्ति जारी गरेर उनले राप्रपालाई खुशी पार्ने प्रयत्न गरेका हुन् भन्ने धेरैको बुझाइ छ । आखिर केन्द्रबाट जे निर्देशन आउँछ राप्रपा प्रदेशले त्यही निर्णय गर्ने हो भन्ने उनर्लाइ थाहा नै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर