जनही एक लाख रुपैयाँ राशिको मनिराज वाङ्मय पुरस्कारबाट दुई जना साहित्यकार सम्मानित – Nepal Press

जनही एक लाख रुपैयाँ राशिको मनिराज वाङ्मय पुरस्कारबाट दुई जना साहित्यकार सम्मानित

धनगढी । जनही एक लाख रुपैयाँ राशिको मनिराज वाङ्मय पुरस्कारबाट दुई जना साहित्यकारलाई धनगढीमा सम्मान गरिएको छ ।

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीले वरिष्ठ समालोचक, साहित्यकार तथा भाषाविद् प्राध्यापक डा. वासुदेव त्रिपाठी र वरिष्ठ संस्कृतिविद्, साहित्यकार एवम् भाषाविद् प्राध्यापक डा. चूडामणि बन्धुलाई सो पुरस्कारबाट सम्मान गरिएको हो ।

यसै गरी साहित्यकार एवम् पण्डित लक्ष्मीकान्त जोशी रेग्मी र साहित्यकार नारा जोशीलाई क्रमशः जयराज पन्त र नृपबहादुर स्वाँर पुरस्कार प्रदान गरिएको छ ।

आज धनगढीमा आयोजित एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले एक लाख नगद, प्रमाणपत्र र दोसल्ला सहित दुवै साहित्यकारलाई सम्मान प्रदान गरे ।

धनगढीका महाकाव्यकार तथा ज्योतिषी मनिराज जोशी र उहाँका परिवारका सदस्यहरू गोविन्द, तारा र वसन्तराज जोशीले मनिराज वाङ्मय पुरस्कारको स्थापना गरेका हुन ।

पुरस्कारका लागि जोशी परिवारले १० लाख रुपियाँको अक्षयकोष स्थापना गरेका छन् ।

प्रतिष्ठानले विगत ६ वर्षदेखि यो पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार पद्मराज जोशीले बताए ।

प्रतिष्ठानले यसअघि, राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्राज्ञ दधिराज सुवेदी, पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द र उपन्यासकार, कथाकार तथा समालोचक तुलसी भट्टराईलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरिसकेको छ ।

२०७८ र २०७९ मा प्राविधिक कारणवश वितरण हुन नसकेको पुरस्कार यसवर्ष एकै पटक प्रदान गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *