विदेशमा नेपाली बैंकको अर्बौं बचत : ग्लोबल आईएमईको सबैभन्दा धेरै, अरुको कति ? – Nepal Press

विदेशमा नेपाली बैंकको अर्बौं बचत : ग्लोबल आईएमईको सबैभन्दा धेरै, अरुको कति ?

कुन बैंकको चल-अचल सम्पत्ति कति ?

काठमाडौं । ग्राहकको खर्बौं रकम संकलन गर्ने बैंकहरूको आफ्नो सम्पत्ति चाहिँ कति होला भन्ने चासो धेरैलाई पक्कै छ । स्वदेशी तथा विदेशी बैंकमा रहेको रकम, नगद, घरजग्गा तथा सवारी साधन कति मूल्य बराबरका होलान् भन्ने चासो स्वाभाविक हो ।

नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकले विदेशी बैंकमा ३१ अर्ब २ करोड ८९ लाख ५० हजार रूपैयाँ राखेको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको ४ अर्ब ८४ करोड ३४ लाख रूपैयाँ छ ।

त्यस्तै हिमालयन बैंकको ३ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ९ करोड ३१ लाख विदेशकी बैंकमा जम्मा छ । सबैभन्दा कम स्वामित्वको कृषि विकास बैंकको ७ करोड ७९ लाख रूपैयाँ रहेको छ ।

तर, राष्ट्र बैंकले कुन कुन देशका कुन बैंकमा उक्त रकम छ भन्ने केही खुलाएको छैन ।

कुन बैंकको चल-अचल सम्पत्ति कति ?

सरकारी स्वामित्वकै अर्को बैंक राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा बढी नगद सम्पत्ति (चल) रहेको छ । चल सम्पत्तिमा नगद (स्वदेशी तथा विदेशी मुद्रा) बैंक व्यालेन्स, वाणिज्य बैंकहरुमा राखेको रकम, अरु बैंक तथा वित्तीय संस्थामा राखेको रकम, विदेशी बैंकको रकम र अरु बैकलाई दिएको कर्जा सापटी रहेको छ । अरु बैंकलाई दिएको कर्जा सापटी चलाउन एक हप्ता कुर्नुपर्ने र अन्य शीर्षकका नगद बैंकले आफूले चाहेको बेला चलाउन मिल्ने बैकिङ विज्ञ भुवन दाहाल बताउँछन् ।

बैंकहरूले अर्को बैंकलाई एक हप्ताका लागि कर्जा सापटी (मनी एट कल वा इन्टरबैंक बरोइङ) दिन सक्छन् । राष्ट्रिय वाणिज्य बैंकसँग यस्तो सम्पत्ति १ खर्ब ४ अर्ब ९७ करोड ९९ लाख छ । दोस्रोमा ग्लोबल आईएमईको ८६ अर्ब २६ करोड ५९ लाख ३० हजार रूपैयाँ नगद सम्पत्ति छ ।

यता सबैभन्दा बढी अचल (घरजग्गा, सवारीसाधनलगायत) सम्पत्ति पनि राष्ट्रिय वाणिज्य बैंककै रहेको छ । यसको ३० अर्ब ३८ करोड ७६ लाख रूपैयाँभन्दा बढीको अचल सम्पत्ति छ । नेपाल इनभेष्टमेन्ट मेगा बैंककोको ११ अर्ब ३६ करोड २१ लाख रूपैयाँ बराबरको अचल सम्पत्ति छ भने ग्लोबल आईएमईको ११ अर्ब २४ करोड रूपैयाँ छ । यहाँ हामीले नगद र अचल सम्पत्ति (फिक्स्ड एसेट) लाई मात्र लिएर गणना गरिएको छ । धितोपत्रमा गरिएको लगानी, ऋण लगानी तथा अन्य सम्पत्ति जोडिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर