पाँच बलिउड सेलिब्रेटी- जो राजनीतिमा आए, अघाएर बिदा भए – Nepal Press

पाँच बलिउड सेलिब्रेटी- जो राजनीतिमा आए, अघाएर बिदा भए

काठमाडौं । भारतीय चुनाव तातेसँगै भारतीय बलिउड अनुहारको चर्चा पनि एकाएक चुलिएको छ । भारतीय सत्ताको चासो बलिउडमा भए जस्तै बलिउडको चासो पनि राजनीतिमा हुन्छ, सत्तामा हुन्छ ।

हालसालै नायिका कंगना रनावतले भारतीय जनता पार्टीमा संघीय संसदको टिकटमा दाबी गरेसँगै यो चर्चाले फेरि बजार पाएको छ । भारतीय राजनीतिमा आएका बलिउड सेलिब्रेटीहरु टन्न छन् । राजनीतिमा अघाएर फर्किएका पनि उत्तिकै छन् । यहाँ पाँच बलिउड अनुहारको चर्चा गरिएको छ, जो विभिन्न दलसँग जोडिएर राजनीतिमा आए र अघाएर फेरि आफ्नो गैरराजनीतिक जीवनमा फर्किए ।

विनोद खन्ना

सन् १९९० को दशकमा राजनीतिमा जोडिएका थिए विनोद खन्ना । उनले भारतीय जनता पार्टी रोजेका थिए । उनी चार पटक संसद पुग्ने एक्ला बलिउड अभिनेता थिए । उनी सबैभन्दा पहिले सन् १९९८ मा संसदमा पुगेका थिए । पछिल्लो समयमा विनाेद सन् २०१४ मा सांसद भएका थिए । उनी भारतीय जनता पार्टीको सरकारमा अटलबिहारी बाजपेयी प्रधानमन्त्री हुँदा संस्कृति तथा पर्यटनमन्त्री र परराष्ट्रराज्यमन्त्रीसमेत भएका थिए । सन् २०१७ मा उनको निधन भएको थियो ।

अमिताभ बच्चन

सन् १९८० को दशकमा राजनीनिमा प्रवेश गरेका थिए बलिउडका चर्चित अनुहार अमिताभ बच्चन । उनले सन् १९८४ मा भारतको केन्द्रीय संसद लोकसभामा चुनाव जितेका थिए । अल्लाहवाद (जुन अहिले प्रयागराजको नाममा चिनिन्छ)बाट उनले विशाल जीत निकालेका थिए ।

भारतीय राष्ट्रिय कांग्रेसबाट उठेका उनले १ लाख ८७ हजार ८९५ मतान्ततरले जितेका थिए । तर, पछि एक विवाद आएर उनले राजीनामा दिएका थिए । उनको विवाद बोफोर्स काण्ड थियो । बोफोर्स काण्ड भनेको भारत र स्वीडेनबीचको हतियार खरिदको घुस काण्ड हो ।

गोविन्दा

भारतीय अभिनेता गोविन्दा पनि राजनीतिबाट वाक्क भएर अवकाश लिएका बलिउड अनुहार हुन् । उनी सन् २००४ मा राजनीतिमा आएका थिए । सोही वर्ष उनले ५० हजार मतान्तरले पाँच पटकका सांसद तथा पेट्रोलियम तथा खनिजमन्त्री राम नायकलाई हराएका थिए ।

उनी उत्तरी मुम्बईबाट चुनाव लडेका थिए । उनको दल भारतीय राष्ट्रिय कांग्रेस थियो । सन् २०१४ मा कांग्रेसको बिजोक प्रस्तुति भएपछि उनी राजनीतिबाट अलग छन् ।

अर्शी खान

भारतीय नायिका अर्शी खान बिग बोसको कारण पनि चर्चित छिन् । सन् २०१९ मा राजनीतिमा छिरेकी उनले राजनीतिक पार्टीको रुपमा कांग्रेस रोजिन् । तर, उनले दलमा जोडिएको आधा वर्षमै राजनीतिबाट अलग भएको औपचारिक घोषणा गरिन् ।

विशाल डडलानी

बलिउडका चर्चित अनुसार विशाल डडलानी पनि राजनीतिमा आएर अहिले अलग भइसकेका पात्र हुन् । डडलानी भारतको आम आदमी पार्टीसँग जोडिएका थिए । सन् २०२२ मा उनले पार्टीबाट अलग भएको घोषणा गरे ।

धर्मनिरपेक्ष भारतमा आम आदमी पार्टीका नेताहरुले हिन्दू देवीदेवताको तस्विर भारतीय मुद्रामा राख्न माग गरेपछि उनले अलग भएको घोषणा सामाजिक सञ्जालमा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *