आफूलाई सलाम नगरेको भन्दै सिंहदरबारभित्र हवल्दारले जवान कुटेपछि.. – Nepal Press

आफूलाई सलाम नगरेको भन्दै सिंहदरबारभित्र हवल्दारले जवान कुटेपछि..

काठमाडौं । देशको प्रशासनिक सचिवालय सिंहदरबारभित्रै प्रहरी हवल्दारले एसपीका अंगरक्षक प्रहरी जवानलाई गाला फुट्नेगरी थप्पड हानेका छन् । अर्थमन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका सवारी चालकसमेत रहेका हवल्दार उज्ज्वल भण्डारीले सिंहदरबार गणका एसपी सन्तोष तामाङका अंगरक्षक प्रहरी जवान सुन्दर सिंहलाई मन्त्रालयमै थप्पड हानेका हुन् ।

हवल्दार उज्ज्वल भण्डारीले जवान सुन्दर सिंहलाई मलाई किन सलाम गर्दैनस् ? भन्दै गाला रातो हुनेगरी आज बिहान करिब साढे १० बजेको समयमा थप्पड हानेको प्रत्यक्षदर्शीले जानकारी दिए । मन्त्रालय समयमा मन्त्री, सचिवलगायत उच्च पदस्थ अधिकारीहरू कार्यालयमा व्यस्त रहेका बेला सचिवालय बाहिर भएको सो घटनालाई गोप्य राख्न खोजिएको छ । पीडित जवानले हाकिमहरूसमक्ष मौखिकरूपमा हवल्दारमाथि कारबाहीको माग गरेको बताइएको छ ।

कुट्ने भण्डारी र कुटाइ खाने सिंह दुवैजना बझाङ घर भएका र पहिलेदेखि नै हवल्दारले जवानलाई हेप्ने गरेको बताइएको छ । उनी कुटाइ खाएपछि गालामा रातो डामसहित गणमा पुगेर आफू कुटिएकोबारे जानकारी गराएका थिए ।

प्रत्यक्षदर्शीले भने, ‘पहिलेदेखि नै भण्डारीबाट हेपिएकाले जवान सिंह तर्केर हिड्ने गरेका रहेछन् । आज के काम परेर अर्थ मन्त्रालय पुगेका बेला मलाई किन सलाम गर्दैनस् भन्दै गालामा चड्काएछ ।’

यसैबीच सिंहदरबार गणबाट बिदा भएर जान लागेका एसपी सन्तोष तामाङले प्रहरी जवान सिंह कुटिएको प्रतिवेदन आफूले पाएको र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा जानकारी गराइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *