४० बुँदे माग पूरा गर्न जनदबाबसहित काठमाडौंमा राप्रपाको जनप्रदर्शन (तस्बिरहरु) – Nepal Press

४० बुँदे माग पूरा गर्न जनदबाबसहित काठमाडौंमा राप्रपाको जनप्रदर्शन (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शन काठमाडौंमा सुरु भएको छ। गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौंमा जनप्रदर्शन थालेको हो।

जनप्रदर्शनमा काठमाडौंका दर्जनौँ स्थानबाट जुलुस निस्कन थालेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। उनका अनुसार ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट र्‍याली सहितको सहभागिता रहनेछन्।

प्रदर्शनका सहभागीहरू भृकुटीमण्डपमा भेला हुने, शहरका विभिन्न ठाउँ परिक्रमा गर्ने र सभा गर्ने कार्यसूची छ। सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन्।

राप्रपाले आज निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ। आफूहरूलाई रोक्न खोजे प्रतिवाद गर्ने चेतावनी यसअघि नै राप्रपा अध्यक्ष लिङ्देनले दिइसकेका छन्।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे मागमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने माग राखेको छ।

यस्तै, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्था गर्नुपर्ने, कार्यकारी पदहरूमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक, कानुनी सुनिश्चितता गर्नुपर्ने लगायत उल्लेख छ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर