राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एसको दाबी कायमै, बालुवाटारमा सहमतिको प्रयास – Nepal Press

राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एसको दाबी कायमै, बालुवाटारमा सहमतिको प्रयास

एमाले नेता भन्छन्– माधव नेपालको असन्तुष्टि र माग हैसियतभन्दा बढी भयो, अँध्यारो अनुहार लगाएर यो पनि चाहियो त्यो पनि चाहियो भन्नेबाहेक उहाँको अरु कुनै एजेण्डा छैन

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एसले दाबी नछाडेपछि तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास जारी छ । आजै उपाध्यक्ष पदमा मनोनयन गर्ने कार्य तालिका छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।

यसअघि सत्ता गठबन्धन फेर्ने बेला नेकपा एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर गठबन्धनमा नेकपा एस थपिएपछि सो बुँदा तत्कालका लागि हटाइएको थियो ।

राष्ट्रिय सभामा रास्वपाको भने प्रतिनिधित्व छैन । नेकपा एसले राष्ट्रिय सभा उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी छाडेको छैन । एमालेले विमला घिमिरेलाई उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेका एक नेताले भने, ‘माधव नेपालको असन्तुष्टिले सीमा नाघिसक्यो । अनुहार पनि कहिल्यै उज्यालो छैन । यो चाहियो,त्यो चाहियो भन्नेबाहेक अरू कुनै कुरा छैन । हैसियत १० सीटको छ तर माग राख्ने चाहिँ एमालेकै अध्यक्ष हुँ जसरी प्रस्तुत हुन्छन् । निहुँ खोज्नेबाहेक केही देखिएन । राष्ट्रिय सभा उपाध्यक्षका लागि धेरै मरिहत्ते नगर्ने सोच हाम्रो नेतृत्वमा देखिन्छ ।’

राष्ट्रिय सभामा नेकपा एसका ८ सांसद छन् । माओवादी केन्द्रका १७ र नेकपा एमालेका वामदेव गौतमबाहेक ९ तथा जसपाका ४ सांसद छन् । ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर