गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध हुन्छ: प्रधानमन्त्री प्रचण्ड – Nepal Press

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध हुन्छ: प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताएका छन् ।

बागमती प्रदेश खेलकुद परिषद्द्वारा आज आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय प्रतियोगितामा उनले भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताए ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपश्चात निर्माणमा यसअघि देखिएका विभिन्न प्रकारका समस्याहरूको एकीकृत समाधान हुनेछ’, उनले भने, ‘निर्माण द्रूत अगाडि बढ्नेछ । यसका निम्ति आगामी वर्षको बजेटमा पर्याप्त स्रोत सुनिश्चित गरिने व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु ।’

क्रिकेट रंगशाला निर्माणपछि कृषि, पर्यटन, स्वास्थ्यका साथै चितवन र आसपासको क्षेत्र ‘स्पोर्टस् हब’ का रूपमा विकास हुने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । उनले रंगशालामा ठूला राष्ट्रियस्तरका प्रतियोगिता सम्पन्न गर्ने उपर्युक्त वातावरण मिल्ने बताए ।

उनले खेलकुदमा नयाँ अवसर सिर्जना भएसँगै युवामा शारीरिक एवं मानसिक स्फूर्ति, सामाजिक जीवनका बहुआयमिक क्षेत्रमा विकास गर्नुका साथै चुनौतीपूर्ण परिस्थितिमा रहेको युवा पलायन रोक्नसमेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

चितवनमा आयोजना भएको प्रतियोगिताले यहाँका पर्यटन, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाँच हजारभन्दा बढी खेलकर्मीले यस प्रतियोगितामा प्रत्यक्ष सहभागी हुने भएकाले चितवनका कला संस्कृतिको समेत प्रवर्द्धन हुने बताए ।


प्रतिक्रिया

One thought on “गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध हुन्छ: प्रधानमन्त्री प्रचण्ड

  1. के एउटै कुरा घरीघरी कराएको ? बनाईसकेको रंगशाला फिनिसिङ् मात्र गर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर