एक सातामा ९१ अर्ब निक्षेप घट्यो, वैशाखमा केही बैंकले व्याज बढाउने बैंकर्सको संकेत – Nepal Press

एक सातामा ९१ अर्ब निक्षेप घट्यो, वैशाखमा केही बैंकले व्याज बढाउने बैंकर्सको संकेत

काठमाडौं । सरकारले केही दिनअघि स्थानीय तह सञ्चित कोषको रकम निक्षेपमा गणना गर्न पाउने सुविधा रोकेपछि बैंकहरूको निक्षेप ९१ अर्बले घटेको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले सरकारले दिएको यो सुविधा लिने केही बैंकलाई निक्षेपमा दबाब परेकाले वैशाखमा व्याजदर केही बढ्न सक्ने संकेत गरे । सबै स्थानीय तहमा बैंकको पहुँच पुर्‍याउने उद्देश्यले सरकारले दिएको सहुलियत अर्थमन्त्री वर्षमान पुनले कटौती गरिदिएका छन् ।

सीईओ खालिङ यसले बैंकहरूको एक हप्तामै ९१ अर्ब निक्षेप घटेको बताउँछन् । सरकारको यो निर्णयले एनआईसी एशिया बैंक, राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आईएमईलगायतका बैंक प्रभावित भएका छन् । यद्यपि, अधिकांश बैंकको व्याजदर यथावत रहने बैंकर्सहरू बताउँछन् ।

७५३ स्थानीय तहमा वाणिज्य बैंक शाखा पुर्‍याउने सरकारी नीतिलाई सहयोग गरेका बैंकहरूलाई प्रोत्साहन गर्न भन्दै स्थानीय तहको ५० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिने व्यवस्था गरिएको थियो । तर पछि बैंकिङ क्षेत्रमा तरलताको चरम अभाव भएपछि त्यसलाई ८० प्रतिशत पुर्‍याइयो । यो व्यवस्था चालू आवको साउनबाट लागू नहुने भनिएको थियो । बैंकहरू यो व्यवस्थालाई निरन्तरता दिनुपर्ने भन्दै लबिङमा लागे । अन्तत: अर्थमन्त्री डा. प्रकाशशरण महतले भदौमा स्थानीय तहको सञ्चित कोषको विषयमा अध्ययन गर्न अर्थमन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा एउटा कमिटी नै बनाए । सो कमिटीले ६० प्रतिशत रकम निक्षेपमा गणना गर्ने सुविधा दिन सुझाएपछि बैंकहरुले ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाएका हुन् । जसले गर्दा बैंकहरूलाई तरलता देखाउन सहज भयो ।

अहिले तरलता सहज भएको भन्दै अर्थमन्त्रालयले सो व्यवस्था हटाएको छ । जसले स्थानीय तहको रकम बढी लिएका थिए ति बैंकलाई सकस परेको छ । उसो त स्थानीय तहको रकम सबैभन्दा बढी एनआईसीको पोल्टामा छ । केही समयअघि यही बैंकको विरुद्ध अफवाह फैलदा एकैपटक २७ अर्ब निक्षेप निकालिएको थियो । अहिले फेरि स्थानीय तहको रकम गणना गर्न नपाएपछि बैंक प्रभावित भएको अर्का एक बैंकर्सले बताए ।

एनआईसी एसियाले फागुनको तुलनामा चैतमा ०.५४ प्रतिशतले ब्याजदर बढाएको थियो । अन्य बैंकहरूले भने ब्याजदर घटाएका थिए । केहीको स्थिर थियो । चैतमा एक वर्षे मुद्दती निक्षेपको व्याजदर ८.५४ प्रतिशत र सबैभन्दा कम ५.६६ प्रतिशत छ ।

सीडी रेसियो ८० प्रतिशत माथि

बैंकहरूको कर्जा निक्षेप अनुपत (सीडी रेसियो) ८० प्रतिशत नाघेको छ । केही दिनअघिसम्म बैंकहरूको यस्तो अनुपात ७६/७७ प्रतिशत थियो । बैंकहरूमा निक्षेपका रुपमा जम्मा भएको रकममध्ये कति ऋणमा प्रयोग गर्ने भन्ने कुरा क्रेडिट टु डिपोजिट अर्थात सीडी रेसियोले देखाउँछ । यसमा बैंकहरूले लिएको वैदेशिक ऋण, राष्ट्र बैंकबाट प्रदान गरिएको पुनर्कर्जा, बैंकहरुले जारी गरेको ऋणपत्रबाट प्राप्त भएको रकमलाई पनि निक्षेपका रुपमा गणना गर्न मिल्छ । तर, कम्पनीको पुँजीलाई यसमा गणना गर्न मिल्दैन ।

अहिले बैंकहरुको औषत सीडी रेसियो ८०.८८ प्रतिशत छ । यो भनेको बैंकहरूको ऋण लगानी रकम हो । बाँकी तरल सम्पत्तिको रूपमा बैंकमा छ । यस्तै केही दिनअघिसम्म तिन प्रतिशतसम्म रहेको अन्तर बैंक ब्याजदर अहिले साढे ४ प्रतिशत पुगेको छ । अन्तर बैंक व्याजदर एक बैंकले अर्को बैंकसँग गर्ने कारोबारको व्याजदर हो ।

हालसम्म बैंकहरूको कूल निक्षेप ६१ खर्ब ६ अर्ब रहेको छ भने कर्जा ५० खर्ब ८८ अर्ब रूपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर