नागरिकको जीवन रुपान्तरण गर्न अर्को क्रान्ति आवश्यक छ: प्रचण्ड – Nepal Press

नागरिकको जीवन रुपान्तरण गर्न अर्को क्रान्ति आवश्यक छ: प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक पुनर्संरचनामा सफल भए पनि प्रत्येक नागरिकको जीवन रुपान्तरण गर्न अर्को क्रान्ति गर्ने समय आएको बताएका छन् ।

रुपन्देहीको लुम्बिनीमा जारी विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

‘मैले केही समय पहिला सम्राट अशोक बन्ने समय आएको भाव व्यक्त गरेको थिएँ, जुन मेरो अन्तरआत्माको आवाज थियो’, उनले भने, ‘मैले आध्यात्मिक रुपान्तरणको खाँचो रहेको महसुस गरेको छु । म यो भूमिबाट यसतर्फ जिम्मेवारीबोध भएको भावना व्यक्त गर्दछु ।’

नेपालीलाई पूर्ण रूपान्तरणको बाटोमा लगेर एउटा सबल, शान्तिप्रेमी र ऊर्जाशील नागरिक बनाउन सकिन्छ भन्ने आफूमा विश्वास रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । यस्तो रूपान्तरणका लागि कुनै पुरातनवादी धार्मिक राज्यको रूपमा नभएर दिगो शान्ति, सुशासन र सुव्यवस्थालाई सुनिश्चित गर्ने कल्याणकारी वैज्ञानिक आध्यात्मिक राज्यको रूपमा हुनुपर्ने उनले बताए ।

‘प्रत्येक व्यक्तिभित्र रहेका प्रतिभा, क्षमता र सम्भावनालाई कुनै पनि धर्म, सम्प्रदाय, जाति र वर्गको घेराभन्दा माथि उठेर आध्यात्मिक रूपान्तरणबाट मात्र यो सम्भव हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘अबको दशक प्रवेशसँगै नेपाल र नेपालीको समग्र हितका लागि वैज्ञानिक अध्यात्मको प्रणाली अवलम्बन गर्दै देशको स्वास्थ्य, कृषि, अर्थ, सुरक्षा, वाणिज्य र परराष्ट्रलाई अवधारणागत र संरचनागत सुधार गरी नेपाललाई विश्व अध्यात्मको राजधानी, आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।’

उनले देशको अन्तर्राष्ट्रिय छविमा व्यापक परिवर्तन ल्याउन र विश्व समुदायमाझ नेपाल शान्तिपूर्ण विश्वबन्धुत्वको पक्षमा रहेको सन्देश दिन सबैको सामूहिक प्रयास, प्रतिबद्धता र अठोट आवश्यक रहेको उल्लेख गरे ।

‘युवा पुस्तामा सकारात्मक भावना जाग्रित गर्नुछ’

त्यस्तै प्रधानमन्त्री प्रचण्डले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताए ।

‘राष्ट्र प्रेम र राज्यप्रति युवा पुस्तामा देखिएको अविश्वास, उग्र निराशा तथा नकारात्मकता जस्ता समस्यालाई बेलैमा सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भाव जगाउनुछ’, उनले भने, ‘गर्न खोजे नेपालमा सम्भव छ भन्ने आशा र विश्वास जगाएर सय वर्षमा एक पटक प्राप्त हुने युवा जनशक्तिको बाहुल्यताको लाभ नेपालको विकासमा लगाउनुछ, यसका लागि नवीन र सकारात्मक सोच ल्याउन अपरिहार्य भैसकेको छ ।’

जबसम्म व्यक्तिले आफूभित्रको ऊर्जालाई चिनेर व्यवस्थित प्रयोग गर्न जान्दैन तबसम्म उसले खोजेको स्वस्थ शरीर, शान्त मन, ऊर्जाशील र सकारात्मक भाव, आनन्द र चौतर्फी समृद्धि हासिल गर्न नसकिने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।

उनले आध्यात्मिक जागरण र साधनाविना बाहिरी रूपमा व्यक्तिले जतिसुकै प्रगति गरे पनि भित्रबाट व्यक्ति अशान्त र अतृप्त नै रहने बताए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा राजनीतिक संरचना र दिशा परिवर्तन गर्ने सशस्त्र क्रान्ति पनि सम्पन्न भएको उल्लेख गर्दै त्यही क्रान्तिको फलस्वरुप लोकतान्त्रिक संविधान जारी गर्न सकिएको बताए ।


प्रतिक्रिया

One thought on “नागरिकको जीवन रुपान्तरण गर्न अर्को क्रान्ति आवश्यक छ: प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर