एमाले र रास्वपाका बहुसंख्यक नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले छानिबन समिति बन्न दिएका छैनन्: नेता महर – Nepal Press

एमाले र रास्वपाका बहुसंख्यक नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले छानिबन समिति बन्न दिएका छैनन्: नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानबिन समिति गठन हुन नसकेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद् भेलालाई विराटनगरमा सम्बोधन गर्दै नेता महरले एमाले र रास्वपाका अधिकांश नेता सहकारी ठगी प्रकरणमा मुछिएको र मन्त्रिपरिषद्मा पनि विवादित व्यक्तिहरू रहेकाले वर्तमान सरकारबाट सुशासनको कुनै अपेक्षा नरहेको बताए ।

‘विवादित व्यक्ति यतिबेला मन्त्रीमण्डलमा छन् । हामीले सडकदेखि सदनसम्म सहकारीमा जम्मा गरेको जनताको रकम दुरुपयोग गर्नेहरूमाथि छानबिनका लागि आवाज उठाइरहेका छौं । तर, सरकार अटेर गरिरहेको छ । किनकि सरकारमा प्रधानमन्त्रीभन्दा बलिया आपराधिक मानसिकता भएका व्यक्तिहरू छन् । उनीहरूले प्रधानमन्त्रीलाई विभिन्न दबाब र प्रभावमा पारिरहेका छन्’, महरले भने ।

त्यस्ता व्यक्तिहरूलाई जनताले समयमै पाखा लगाउनुपर्ने महरले बताए । सहकारी ठगीदेखि विभिन्न प्रकरणमा मुछिएकाहरू वर्तमान पुप्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रहेकाले उनको हालको क्याबिनेट नै अपराधीको संगठन जस्तो रहेको उनको भनाइ थियो ।

उनले अपराधमा संलग्न मन्त्रीहरूले आफूलाई जोगाउन चलखेल गर्नेबाहेक उनीहरूबाट अन्य कुनै अपेक्षा गर्न सक्ने ठाउँ नरहेको बताए ।

भ्रमको ललीपप देखाएर बदमासी गर्न खप्पिस नयाँ राजनीतिक दलहरूसँग जनता विशेष सतर्क रहनुपर्ने महरले औंल्याए । अरुलाई गाली गरेरमात्र सधैं भ्रमको राजनीति गर्न नसकिने उनको भनाइ थियो ।

‘अप्ठेरोमा पर्दा कांग्रेसले नेतृत्व गर्ने, सधैं निर्वाचन कांग्रेसकै नेतृत्वमा हुने, विदेशसँगको कूटनीतिक सम्बन्ध कांग्रेसले नै सुधारिदिनुपर्ने, जनमतको अपमान गर्दै संसद विघटन गर्दा कांग्रेसले नै जोगाउनुपर्ने र मुलुक अप्ठेरोमा पर्दा कांग्रेसले काँध हाल्दै आएको छ । त्यसैले सस्तो लोकप्रियता खोज्ने र मुलुकलाई भड्खालोमा हाल्नेहरूलाई किन कुर्सीमा पु¥याएर स्वार्थ केन्द्रित गतिविधिमा सहभागी गराउने ? त्यसैले अब हामी सबैले सोच्ने बेला आएको छ’, महरले भने ।

उनले उपनिर्वाचनमा दुवै क्षेत्रमा कांग्रेसलाई विजयी गराएर स्वार्थ केन्द्रित राजनीतिक दलहरूलाई गतिलो झापड दिन जनतासँग आग्रह गरे ।


प्रतिक्रिया

One thought on “एमाले र रास्वपाका बहुसंख्यक नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले छानिबन समिति बन्न दिएका छैनन्: नेता महर

  1. देश बेचुवा कालो काङ्ग्रेसले कुन नैतिकताले अरुलाई प्रश्न गर्छ?!
    नक्कली भुटानी शरणार्थीमा अर्बौं खाने काङ्ग्रेसिहरु!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर