रवि ओडको विवाह पहेली: कसले गर्‍याे सम्वन्धमा झेली ? – Nepal Press

रवि ओडको विवाह पहेली: कसले गर्‍याे सम्वन्धमा झेली ?

जापानमा रहेका रवि वैवाहिक बलात्कारको मुद्दाबारे के भन्छन् ?

काठमाडौं । गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी परेको खबर सार्वजनिक भएपछि उनलाई नजिकबाट चिन्नेहरु अचम्भित भए । कारण, उनी विवाहित हुन् भन्नेबारे क्लोज सर्कलका साथीभाइलाई समेत थाहा थिएन ।

रविको केस केही हदसम्म भेट्रान गायक राजेशपायल राईसँग मिल्दोजुल्दो छ, जसले हालै मात्र महंगो मूल्य चुकाएर आफ्नी पत्नीलाई डिभोर्स दिए । राजेशपायलले जस्तै रविले पनि ‘परिवन्द’ मा परेर विवाह गरेको र आफ्नो वैवाहिक स्थिति गोप्य राखिरहेको निकटस्थको बुझाइ छ । रवि–रविना सजातीय जोडी हुन् ।

रविकी पत्नी रविना (काल्पनिक नाम) ले आफ्नै श्रीमानबाट जबरजस्ती करणीमा परेको भनेर जाहेरी दिएकी छिन् । यद्यपि, निकटस्थका अनुसार यो आपसी अविश्वासको परिणत हो । श्रीमानले आफूलाई ‘तिरस्कार’ मात्र नभएर ‘चिट’ पनि गरिरहेको महसुस गरेर रविना प्रहरीसम्म पुगेकी हुन् । कानूनी सहजताका लागि उनले वैवाहिक बलात्कारको अस्त्र प्रयोग गरेको देखिन्छ ।

जाहेरीको विवरण र जाहेरीकर्ताले पेश गरेका प्रमाणको विषयमा प्रहरीले बताउन चाहेको छैन । वैवाहिक बलात्कारको मुद्दा मात्र भनिएको छ । यद्यपि, प्रहरी स्रोतका अनुसार रविले आफूलाई प्रेम विवाह गरे तापनि श्रीमतीको रुपमा व्यवहार नगरेको, समय नदिएको र जिम्मेवारी ननिभाएको आरोप जाहेरीमा लगाइएको छ ।

रवि र रविनाको चिनजान पुरानो हो । रविले दोस्रो नेपाल आइडलमा भाग लिनु अगाडि नै आफूहरु प्रेममा रहेको रविनाको भनाइ छ । नेपाल आइडलको उपाधि जितिसकेपछि रविको व्यवहारमा परिवर्तन आएको उनले बताएकी छन् ।

रवि र रविनाको कहिले विवाह भयो भन्ने खुल्न सकेको छैन । उनीहरुले औपचारिक रुपमा विवाह गरेको कसैलाई जानकारी पनि छैन । तर, उनीहरुको विवाह दर्ता भने भइसकेको छ । यसैले उनीहरु आधिकारिक पति–पत्नी रहेकोमा शंका छैन । मुद्दा दिनुअघिसम्म रविना पतिकै घरमा बसिरहेकी थिइन् ।

रवि र रविनाको विवाद यसअघि पनि प्रहरीमा पुगिसकेको थियो । केही समयअघि रविले एकजना मोडलको तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘समथिङ न्यू’ भनेर लेखेका थिए । उनको यो पोस्ट चाँडै रिलिज हुन लागेको म्युजिक भिडियोसँग सम्वन्धित थियो । तर, मोडलको तस्विर फेसबुकमा हालेपछि रविनाले अनावश्यकरुपमा सशंकित भइन् । यो विषयमा उनीहरुको झगडा परेको थियो । झगडाका क्रममा रविले आफूलाई हातपात गरेको भन्दै रविनाले प्रहरी गुहारेकी थिइन् । प्रहरीले दुवैलाई राखेर मिलापपत्र गराएको थियो ।

अहिले मुद्दा दायर हुँदा भने रवि जापानमा छन् । उनी सांगीतिक कार्यक्रमका लागि यूएईबाट जापान गएका हुन् । रविले आफूमाथि लगाइएको वैवाहिक बलात्कारको आरोप अस्वीकार गरेका छन् । काठमाडौंमा रहेका साथीभाइले उनलाई जापानमा सम्पर्क गरेर यथार्थ बुझ्ने प्रयास गरेका थिए । साथीभाइसँगको कुराकानीमा रविले परिवन्दमा परेर विवाह दर्ता गरे पनि आफूहरुबीच कुनै पनि किसिमको शारीरिकसम्पर्क नभएको बताएका छन् ।

रविका दावीहरु यस्ता छन् :

– युवती आफूप्रति पहिल्यैबाट क्रेजी भएको तर, आफू उनीसँग प्रेममा नपरेको

– आफ्नो असहमतिका बाबजुद युवती केही समयदेखि बलजफ्ति घरमा आएर बस्न थालेको

– युवतीले निरन्तर दवाव र ब्ल्याकमेलिङ गरेपछि वाध्य भएर विवाह दर्ता गरेको

– बलात्कार त परै जावस आफूले इच्छाविपरित टच पनि नगरेको, अहिलेसम्म कुनै खाले शारीरिक सम्पर्क नभएको

रविका यी दावीहरु पूर्ण विश्वसनीय भने छैनन् । वैवाहिक बलात्कारको आरोप अतिरञ्जित हुन सक्ला, तर एक युवती जबरजस्ती पुरुषको घरमा आएर बस्नु अनि विवाह दर्ता गर्न वाध्य पार्नु व्यवहारिकरुपमा सम्भव हुँदैन । यद्यपि रविले नेपाल आएर कानून व्यवसायीहरुसँग सरसल्लाहपश्चात योभन्दा फरक बयान दिन पनि सक्छन् ।

अब के गर्छन् रवि ?

रविविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरिसकेको छ र प्रहरीले उनको खोजी भइरहेको पनि बताएको छ । सकेसम्म उनी आफैं प्रहरीमा उपस्थित भएर मुद्दाको सामना गरुन् भन्ने प्रहरीले चाहेको छ ।

जापानमा रहेका रवि त्यहाँबाट अमेरिका जाने सेड्यूल थियो । तर, नयाँ परिस्थिति विकसित भएको हुँदा नेपाल फर्किने कि पूर्वनिर्धारित कार्यक्रम अनुसार अमेरिका नै जाने भन्ने निर्णय उनले लिइसकेका छैनन् ।

पक्राउ पुर्जी जारी भएको व्यक्तिले विदेशमा गएर स्टेजमा सांगीतक प्रस्तुति दिनु असामान्य हुनेछ । त्यसैले उनी नेपाल फर्किएर मुद्दा फेस गर्नु, अझ त्योभन्दा श्रीमतीसँग नयाँ समझदारी कायम गरेर जाहेरी फिर्ताको वातावरण बनाउनु वुद्धिमानी हुने सुझाव निकटस्थले दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *