गण्डकीमा सरकार बनाउन ओलीले खोजे राप्रपाको साथ – Nepal Press

गण्डकीमा सरकार बनाउन ओलीले खोजे राप्रपाको साथ

पोखरा । पोखरा आएका नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश संसदीय दलका नेता पञ्चराम गुरुङसँग भेटवार्ता गरेका छन् । कास्कीमा निर्वाचित कमिटीको शपथ ग्रहणमा पोखरा आएका उनले शुक्रबार बिहान राप्रपा गण्डकीका अध्यक्षसमेत रहेका गुरुङसँग वान टु वान कुराकानी गरेका हुन् । भेटघाट गरेका हुन् ।

उनले एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारीसँग पनि पोखरास्थित माउन्ट अन्नपूर्णमा कुराकानी गरेका थिए । गण्डकीमा गठबन्धनलाई सरकार बनाउन दुई सांसद रहेको राप्रपा निर्णायक छ ।

भेटमा ओलीले सरकार गठन गर्न एमालेलाई साथ दिन राप्रपा गण्डकी अध्यक्ष गुरुङलाई आग्रह गरेका थिए ।

‘गण्डकीमा हामीलाई साथ दिनुस् । देशलाई चिन्तन गर्ने सबै एक ठाँउमा हौं,’ उनले भनेका थिए ।

राप्रपाले एमालेलाई साथ दिन सकारात्मक रहेको एमाले स्रोतले जनाएको छ ।

‘बिहान छलफल भएको थियो । गण्डकी सरकारका विषयमा छलफल भएको थियो । उहाँ(राप्रपा) सकारात्मक हुनुहुन्छ,’ एमालेका एक नेताले भने ।

राप्रपा गण्डकीका संसदीय दलका नेता गुरुङले चैत २७ अघि कुनै निर्णय नलिने अडान कायमै रहेको बताए । भेटमा उनले सरकारमा जाने-नजानेबारे आफ्नो एकल निर्णयले नहुने सुनाए ।

‘बिहान उहाँहरू (एमाले) चियागफ भएको थियो । हामीले २७ गतेभन्दा अघि कुनै निर्णय लिदैँनौं भनेको छु,’ उनले नेपाल प्रेससँग भने, ‘उहाँले गण्डकीमा हामीले साथ दिनुस् भन्नुभयो । हामीले त्यो अधिकारी केन्द्रीय अध्यक्षलाई दिएका छौं । मैले एक्लै निर्णय लिने कुरा होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर