मेडिकल काउन्सिलको सदस्यमा माधव नेपालकी छोरीसहित ६ जना सिफारिस – Nepal Press

मेडिकल काउन्सिलको सदस्यमा माधव नेपालकी छोरीसहित ६ जना सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको सदस्यमा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव नेपालको छोरीसहित ६ जनाको नाम सिफारिस गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार लामो समयदेखि रिक्त रहेको उक्त पदमा माधवपुत्री डा. सुमन नेपालसहित तीन जनाको नाम खुलेको छ भने अन्य तीन जनाको नाम खुलाइएको छैन । डा. सुमन छाला राेग विशेषज्ञ हुन् ।

काउन्सिल सदस्यका लागि डा. सुमन नेपाल, डा. रिकेशजंग कार्की, डा. मनोजमान श्रेष्ठसहित अन्य तीन विधाका ३ जनाको नाम फाइनल गरी मन्त्रिपरिषदमा पठाइएको हो ।

यसअघिको सरकारमै रहेका स्वास्थ्यमन्त्री रहेका बेला पनि यो फाइल पठाइएकोमा मन्त्री फेरिएपछि फिर्ता आएको र अहिले पुनः पठाइएको हो । डा. सुमन नेपालको नाम यसअघिको सिफारिसमा पनि परेको थियो ।

मन्त्रालयले भने अहिले यो नाम पठाइएपनि मन्त्रिपरिषद बैठकले यी नाम फेरेर अन्य नाम पठाउनसक्ने भएकाले गोप्य राख्न खोजेको बुझिएपनि सिफारिसमा परेकाहरुबाटै यी नाम सार्वजनिक भएको हुनसक्ने जनाइएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले रिक्त रहेको सदस्यका लागि पुनः नाम सिफारिस गरिएको सत्य भएपनि व्यक्तिका विषयमा केही सार्वजनिक नगरिएको र अहिले पठाइएका नाम मन्त्रिपरिषदबाट फेरबदल हुनपनि सक्ने नेपाल प्रेसलाई बताए ।

 


प्रतिक्रिया

2 thoughts on “मेडिकल काउन्सिलको सदस्यमा माधव नेपालकी छोरीसहित ६ जना सिफारिस

  1. सादगी नेता माधव जी ले आफ्नी छोरीलाइ भारतिय दूताबास मार्फत राजनैतिक सम्बन्ध प्रयोग गरेर छात्रबृती मा पढाउन पठाका हून् भन्ने जानकारी छ। भारतिय नून खाएका छन् बिचराले।

  2. माधवले सधैं राजनीति नै परिवारको लागि गरे देशको लागि होईन । त्यसैले त पतनोन्मुख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *