व्यवसायीहरु भन्छन्- ढिलो भइसक्यो, प्रशासन भन्छ- आचारसंहिता बन्दैछ – Nepal Press
काठमाडौंमा रात्रिकालीन व्यवसाय सञ्चालन

व्यवसायीहरु भन्छन्- ढिलो भइसक्यो, प्रशासन भन्छ- आचारसंहिता बन्दैछ

काठमाडौं । संघीय राजधानीको ठमेल र दरवार मार्गमा रात्रिकालीन सेवासहित २४ सै घण्टा व्यवसाय सञ्चालनमा ल्याउने तयारीमा व्यवसायी र सरकार लागिपरेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा यी ठाउँमा रात्रिकालीन सेवासहित २४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइँदैछ ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले ५५ बुँदे निर्देशनसहितको परिपत्र प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गरेको थियो । जसमा सामान्य अवस्थामा स्थानीय प्रशासनले व्यवसायीसँगको समन्वयमा सुरक्षा अवस्थालाई ध्यानमा राखी २४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

तर, कोभिड- १९ को संक्रमण भएको अवस्था वा यस्तै किसिमको महामारी वा राज्यले नियन्त्रण गरेको विशेष अवस्थामा व्यवसायको प्रकृति, व्यवसायीको चाहना र तत्परता, ग्राहकको संख्या, सुरक्षा संवेदनशीलता, स्थानीय परिवेश तथा व्यवसायीका प्रतिनिधिसँगको छलफलका आधारमा व्यवसाय सञ्चालनको समय निर्धारण गर्न स्थानीय प्रशासनलाई भनिएको छ ।

गृह मन्त्रालयको परिपत्रअनुसार के काठमाडौंका ठमेल र दरबार मार्गमा रात्रिकालीन सेवासहित २४ सै घन्टा व्यवसाय सञ्चालन सम्भव छ त ? यी क्षेत्रका व्यवसायीहरु यो व्यवस्था गर्न ढिलो भएको तैपनि आफूहरु तयार रहेको बताउँछन् । आफूहरुले पहिलेदेखि नै २४ सै घन्टा व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रहरी प्रशासनसँग माग गर्दै आएको उनीहरुको भनाइ थियो ।

गृह मन्त्रालयले ढिलै भए पनि आफूहरुको मागमा सकारात्मक भएको बताउँदै उनीहरुले अन्तर्राष्ट्रिय विमानस्थल जस्तै यहाँका व्यवसाय २४ सै घन्टा सञ्चालन हुने व्यवस्था सरकारले गर्नुपर्ने व्यवसायीहरुको जोड छ ।

आफूहरुले वर्षौंदेखि ठमेलमा २४ सै घण्टा व्यवसाय खुला हुनुपर्ने माग उठाउँदै आएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा बताउँछन् ।

‘विदेशी र स्वदेशी पर्यटकको लागि ठमेल २४सै घण्टा खुल्ने व्यवस्था गर्न हामीले माग गर्दै आएका छौं । हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल २४सै घण्टा खुल्छ । विदशेबाट नेपाल घुम्न आएका सबै पर्यटकले होटल बुक गरेर आएका हुँदैनन् । २४सै घन्टा ठमेल खुलेपछि विदेशी पर्यटकहरु ढुक्कसँग आउन सक्छन्’, उनले भने, ‘देशका विभिन्न ठाउँबाट राति काठमाडौं आएकाहरुले पनि कहाँ बस्ने भनेर चिन्ता गर्नुपर्दैन । ठमेलमा रात्रिकालीन व्यवसायमात्रै हाइन, व्यवसायीले चाहेका सबै व्यवसाय २४सै घण्टा खोल्ने वातावरण बन्नुपर्छ ।’

अध्यक्ष शर्माले २४सै घन्टा ठमेलका सम्पूर्ण व्यवसाय सञ्चालनमा ल्याउने गरी आचारसंहिता बन्दै गरेको बताए ।

‘स्थानीयलाई केही समस्या नपर्ने र व्यवसायलाई सहज हुने गरी आचारसंहिता बनिरहेको छ । ठमेल २४सै घन्टा खुल्दा राज्य, व्यवसायी र सेवाग्राहीलाई नै फाइदा हुन्छ’, उनले भने ।

उनका अनुसार ठमेलमा ६०० होटल छन् । जसमा १० हजार पर्यटक राख्न सकिने क्षमता छ । त्यस्तै प्रतिदिन १ लाख पर्यटकलाई खाना खुवाउन सकिने क्षमता छ । ठमेलमा ६० हजारभन्दा धेरै स्वरोजगारी रहेको शर्मा बताउँछन् ।

ठमेलस्थित नाइट क्लब एलओडीका निर्देशक भुपेन शमशेर कुँवरले २४सै घण्टा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने विषयमा सरकार पछि परेको टिप्पणी गरे ।

‘गृह मन्त्रालयको निर्देशनलाई हामीले सकारात्मक रुपमा लिएका छौं । यो सबै व्यवसायीहरुका लागि राम्रो कुरा हो । तर, निर्देशन दिएरमात्रै हुँदैन २४ सै घण्टा व्यवसाय सञ्चालन गराउन त्योअनुसारको सुरक्षा पनि दिन सक्नुपर्छ’, कुँवरले भने, ‘पयर्टकीय हबको रुपमा रहेको ठाउँलाई पहिले नै २४सै घण्टा सञ्चालन गराउनुपर्ने थियो ।’

किङ्स लाउन्जका सञ्चालक कुमार गुरुङले २४ सै घन्टा व्यवसाय सञ्चालन गर्न दिन ढिलो भइसकेको र ढिलै भए पनि राम्रो कुरा आएको बताए ।

उनले भने, ‘सरकारले २४ सै घण्टा व्यवसाय खोल्नेमात्रै भनेर भएन । सुरक्षा व्यवस्था राम्रो हुनुपर्‍यो । राति र दिउँसो एउटै किसिमको सुरक्षा हुनु आवश्यक छ ।’

उनका अनुसार आर्थिक मन्दीले पछिल्लो ६ महिनायता मान्छेको चहलपहल घटेको छ । ‘नयाँ लगानी आएको छैन । पहिले विद्यार्थी विदेश जान्थे । अहिले मजदुर र व्यवसायीहरु नै जान थालेका छन्’, उनले भने ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न केही काम भएको र केही हुने क्रममा रहेको बताए ।

प्रजिअ बस्नेतले भने, ‘हामीले सुरक्षा व्यवस्था मिलाउन सम्बिन्धत निकायलाई भनिसकेका छौं । व्यवसाय सञ्चालन हुने क्षेत्रमा राति चल्ने सार्वजिनक यातायात र सीसीटीभी काठमाडौं महानगरले हाल्ने भएको छ । हामीले शान्ति सुरक्षा प्रदान गर्ने हो । त्यसका लागि आचारसंहिता बन्दैछ ।’

आचारसंहितामा स्थानीय बासिन्दालाई समस्या नहुने गरेर वरपरको वातावारण र ध्वनि प्रदूषण नियन्त्रण र गुण्डागर्दी पूरै निस्तेज हुने व्यवस्था गरिने प्रजिअ बस्नेतको भनाइ छ ।

२४ सैं घन्टा व्यवसाय सञ्चालनमा आए दिन र रातको मूल्य फरक फरक गर्ने गरी तयारी भइरहेको व्यवसायीहरु बताउँछन् । काठमाडौंको ठमेल र दरवार मार्ग २४ सै घन्टा खुल्ने भए पनि आर्थिक मन्दीले नयाँ लगानीकर्ता नआएको र पुराना व्यवसायी पनि लगानी थप्न उत्साहित नभएको उनीहरुको भनाइ छ ।

के भन्छन् पोखराका व्यवसायीहरु ?

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले गत चैत ४ गते पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेको हो ।

पर्यटकीय राजधानी घोषणा गरेपछि पोखरा २४ सै घण्टा खुला भएको छ । यसका लागि ४३ वटा मापदण्ड तया गरिएको छ ।

पोखरा २४ सै घण्टा खुलेपछि व्यवसायमा आकर्षण विस्तारै बढेको रोलिङ स्टोन्स रक बारका सञ्चालक रोशनजंग कार्की बताउँछन् ।

कार्की भन्छन्, ‘यसले व्यवसायमा सकारात्मक प्रभाव पारेको छ । रात्रिकालीन व्यवसायमा पनि पहिलेको भन्दा धेरै फरक पाएका छौं । धेरै कुराहरुमा सुधार र समन्वय आवश्यक छ ।’

पोखरामा व्यवसायको शान्ति, सुरक्षा व्यवस्थामा अहिले पनि व्यवसायीहरु ढुक्क हुन नसकेको उनको भनाइ छ ।

पोखरा महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष किरण बराल पनि २४ सै घन्टा खुला भएपछि पोखराको रात्रिकालीन व्यवसायमा सकारात्मक परिवर्तन आएको बताउँछन् ।

‘पहिलेको भन्दा अहिले धेरै फरक र सकारात्मक रुपमा यहाँको व्यवसाय चलिरहेको छ । पूर्वाधार निर्माण पनि भइरहेका छन् । त्यसमा स्थानीय तहबाट गर्नसकिने सहयोग गरिरहेका छौं’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर