लगानी भित्र्याउन कानून संशोधनलाई प्राथमिकता दिएका छौं : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

लगानी भित्र्याउन कानून संशोधनलाई प्राथमिकता दिएका छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिबद्धताअनुरूप लगानी भित्र्याउन कानून संशोधनलाई प्राथमिकता दिएको बताएका छन् ।

बिहीबार काठमाडौंमा लगानी बोर्डको ५७औँ बैठकलाई सम्बोधन गर्दै उनले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानून संशोधनलाई प्राथमिकता दिएको बताए । लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्नेमा उनको जोड छ ।

नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिन सेवा प्रवाह स्पष्ट, छिटो-छरितो हुन आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले बोर्डले परम्परागत र सामान्य उपलब्धि दिने गरी कार्य गरेर नपुग्ने भन्दै बदलिँदो परिस्थितिमा व्यापक मात्रामा निजी लगानी परिचालन गर्नुपर्ने औंल्याए । देशभित्र सार्वजनिक-निजी साझेदारीको वातावरण विकास गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सबै निकायहरूले पीपीपी परियोजनालाई प्रभाव पार्न सक्ने बोर्डका निर्णयलाई ध्यान दिन निर्देशन दिएका छन् ।

लगानी बोर्ड बैठकले परियोजना विकास र व्यवस्थापन सम्बन्धमा सुपर तमोर, अपरमोदी जलविधुत ए आयोजना, कोहलपुर र बाणगंगामा रहेको सौर्य ऊर्जा परियोजनालगायतका आयोजनाका लागि करिव एक खर्वको हाराहारीमा लगानी स्वीकृत गरिएको बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

सौर्य ऊर्जा परियोजनाका लागि लगानी सम्मेलनका क्रममा सम्झौता गर्न वार्ता समिति गठन गर्ने, अरुण तेस्रो परियोजनाको प्रवेशमार्ग स्थानको मुआव्जा विवाद अध्ययन समितिको म्याद एक महिना थप गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै बैठकले काठमाडौं उपत्यकाको एकीकृत फोहोर व्यवस्थापनका लागि तयार भएको प्राजेक्टलाई कार्यान्वयन गर्न सरोकारवाला निकालयसँग छलफल गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *