सामाजिक सञ्जालमा ट्रोल भइरहेका रास्वपा उम्मेदवार मिलन लिम्बूलाई ९ प्रश्न – Nepal Press
नेपाल टक

सामाजिक सञ्जालमा ट्रोल भइरहेका रास्वपा उम्मेदवार मिलन लिम्बूलाई ९ प्रश्न

‘मैले उहाँहरुलाई पहिचान र संघीयताको विषयमा सोध्दा ‘हामी सकारात्मक छौं’ भन्नुभएको छ’

काठमाडौं । दिवंगत नेता सुवास नेम्बाङको निर्वाचन क्षेत्र इलाम-२ मा हुन गइरहेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे उम्मेदवार बनेका मिलन लिम्बू अहिले सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् । उनले उम्मेदवार हुनुभन्दा केही दिन अगाडि मात्र दिएको अन्तर्वार्ताको क्लिप सामाजिक सञ्जालमा भाइरल छ ।

माओवादी परित्याग गर्दै ईलाममा स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि एक अन्तरवार्तामा मिलनलाई रास्वपा प्रवेश गर्ने सम्भावनाबारे सोधिएको थियो । उनले यस्तो सम्भावनालाई ठाडै इन्कार गरेका थिए ।

‘रास्वपाले तपाईंलाई उम्मेदवार बनाउने प्रस्ताव गर्यो भने के गर्नुहुन्छ ? भन्ने प्रश्नमा लिम्बूको जवाफ यस्तो थियो ।

‘उहाँहरुसँग त सहकार्यको सम्भावना छैन । किन भने उहाँहरु पुरानै टोकरीमा पुगिसक्नुभएको छ । उहाँहरु पनि अहिले सत्ताधारी हो । चुनावी दौरानमा कुनै पनि हिसाबमा सहकार्यको सम्भावना छैन’, लिम्बूले भनेका थिए ।

तर, यो अन्तर्वार्ता दिएको १५ दिन पनि नबित्दै उनले रास्वपाबाट उम्मेदवार बन्न दर्खास्त हाले । यसलाई धेरैले अवसरवाद र विचारहीनताको संज्ञा दिइरहेका छन् । योमात्र होइन, उनले चुनाव जित्न नै आफ्नो कट्टर पहिचानवादी धारलाई तिलाञ्जली दिएको आरोप पनि लागेको छ ।

लिम्बूमाथि लागेका आरोपहरु र चुनावी माहोलबारे उनीसँग गरिएको संवाद:

– इलाम २ मा तपाईंको उम्मेदवारीको औचित्य र जीतका आधारहरु के छन् ?

पुराना राजनीतिक दलहरुले अहिलेसम्म जे भनेर जनताको अभिमत पाएका छन्, उनीहरुले त्यसैको दुरुपयोग गरेका छन् । अभिमतको अपमान गरेका छन् । हुँदाहुँदा उनीहरु निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित भए । निर्वाचनको बेला जनतासँग गरेका वाचा र प्रतिबद्धता पूरा गर्नसक्ने अवस्थामै छैनन् उनीहरु ।

किनभने निर्वाचनका बेला उनीहरु झूटा वाचा गर्ने गर्छन् । त्यसैले देशैभरि जनतामा आक्रोश छ । त्यो आक्रोश इलामेली मतदातामा पनि झल्कँदैछ । यस्तो अवस्थामा कुन दल ठूलो र कुन दल सानो भन्ने सन्दर्भ नै रहँदैन । हामीले इलाममा आफ्नो सम्पर्क कार्यालय खोलेसँगै गाउँगाउँबाट नागरिकहरु कार्यालयमा आएर पुराना दलहरुप्रति आक्रोश पोखिरहेका छन् । मैले जित्ने आधार त्यही हो ।

– एमालेका सुहाङ नेम्बाङ र तपाईंबीच समानता देखिन्छ, दुवै युवा हुनुहुन्छ, एकै समुदायको पनि हुनुहुन्छ । तपाईंको फरक विशेषता चाहिँ के हो, जसले गर्दा इलामेली जनताले तपाईंलाई छानून् ?

इलामका गाउँगाउँ डुल्दै मैले मेरो जीवनको तीन दशकभन्दा बढी समय गुजारेको छु । यहीको खोल्सीको पानी खाएर हुर्किएको छु । गणतन्त्र ल्याउन भएको आन्दोलनमा मैले मेरो पसिना बगाएको छु । पत्रकारिता गर्दैगर्दा आफ्नै बलबुताले भ्याएसम्म नागरिकको काम गर्न कैयौं सरकारी अड्डा धाएको छु ।

नागरिकले भोग्न अभिसप्त भएको दुःखको समाधान गर्न उनीहरुसँगै हरघडी उभिएको छु । म कुनै पनि दिन आफ्नो जीवनलाई सहज बनाउन विदेश भासिन खोजिनँ । म कुनै पनि दिन आफ्नो जीवनलाई सहज बनाउन पैसाको पछि दौडिनँ भन्ने कुरा मेरा मतदाताले राम्रोसँग बुझ्नुभएको छ ।

मेरो उम्मेदवारी मूलतः पुराना दलका नेताहरुको अकर्मन्यताविरुद्ध र परिवर्तन चाहने प्रत्येक युवाका लागि हो । जसले परिवर्तनको आकांक्षा राखेका छन्, उनीहरुले घण्टीलाई र मलाई रोज्छन् । इलामेली जनतामा उच्च साक्षरतादर छ । त्यसैले उहाँहरुलाई थाहा छ, कसलाई निर्वाचित गर्दा इलामको विकास हुन्छ ।

– इलामको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेर पछि रास्वपा प्रवेश गरेर पार्टीको आधिकारिक उम्मेदवार बन्नुभयो । हिजो तपाईं रास्वपाभन्दा फरक राजनैतिक विचारधारासहित हिँडेको मान्छे, आज रास्वपासँगको वैचारिक लाइन कसरी मिल्यो ?

पुराना राजनीतिक दलहरुको अकर्मन्यताका विरुद्ध युवाहरुले चुनौती मोल्दै नयाँ परिस्थितिको थालनी गर्नुपर्छ भन्ने लागेरै मैले स्वतन्त्र उम्मेदवारी दिएको थिएँ । स्वतन्त्र उम्मेदवारीको घोषणा गरेर गाउँ-गाउँमा चुनावी भेटघाट गरिरहेको थिएँ । त्यति नै बेला रास्वपाका उच्च तहका नेताहरुसँग विभिन्न कोणबाट संवाद भइरहेको थियो ।

उहाँहरुले ‘तपाईं जतिको युवा अघि सरेको देखेर हामी खुशी छौं तर, तपाईं एक्लै चुनावमा होमिनुभयो भने असफलता हात लाग्नसक्छ । त्यसैले तपाईंलाई हामी साथ दिन तयार छौं’ भन्नुभयो । रास्वपाका सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेज्यूले नै फोन गरेर ‘तपाईंले इलामका जनताको आकांक्षा सम्बोधन गर्न रास्वपाबाट उठ्नुपर्‍यो’ भनेपछि म आशिंक रुपमा तयार भए ।

– कोशी प्रदेशको नामाकरणका सन्दर्भमा तपाईं कट्टर पहिचानवादी हुनुहुन्थ्यो । रास्पाले भने नामाकरणको विरोध गरेको छैन । अहिले तपाईंको एजेन्डामा रास्वपा आएको हो कि रास्वपाको एजेन्डामा तपाईं समाहित भएको हो ?

विचार र एजेण्डा भन्ने विषय चिनीपानीको घोल जस्तो हुँदैन । सामान्य परिवारमा त कुनै काम गर्ने सन्दर्भमा तर्क वितर्क हुन्छन् भने सामाजिक मुद्दाहरुमा काम गर्ने जीवन्त पार्टीमा तर्कवितर्क हुँदैन होला ? सामाजिक मुद्दा र एजेण्डाका सवालमा जुनसुकै पार्टीमा पनि तर्कवितर्क चलिरहेकै हुन्छ भने मेरो र रास्वपाको सन्दर्भमा पनि कोही कसैमा विलीन भएको वा समाहित भएको भन्न मिल्दैन ।

हाम्राबीच केही राजनीतिक र सैद्धान्तिक एजेण्डाहरुमा छिनोफानो हुन जरुरी थियो । मैले उहाँहरुलाई ‘पहिचान र संघीयताको विषयमा तपाईंहरुको लाइन के हो’ भनेर सोधेको थिएँ । त्यसमा उहाँहरु ‘हामी सकारात्मक छौं’ भनेर आश्वस्त पारेपछि म रास्वपाबाट उठ्न तयार भएँ ।

बरु के भन्न मिल्छ भने मैले रास्वपाको विचार अँगालें, रास्वपाले मेरो विचार अँगाल्यो । दुवैको विचार र एजेण्डाबाट निर्मित रास्वपाले अब पूर्वमा आफ्नो झण्डा इलामको विजयबाट फहराउने निश्चित छ ।

– पहिचानको सवालमा रास्वपा अस्पष्ट देखिन्छ । तपाईं चुनाव जित्न नै आफ्नो एजेन्डा छाडेर रास्वपामा जानुभएको हो भन्ने आरोप छ नि ?

तपाईंले मेरो मनकै प्रश्न उठाउनु भयो । तपाईंसँग संवाद गर्दैगर्दा यस विषयमा बोल्नैपर्छ भन्ने सोचेर बसेको थिएँ । अब तपाईं आफैं भन्नुस्, दशकदेखि फुटबलमा अभ्यस्त खेलाडी बास्केट बलको कोर्टमा छिर्दैमा ऊ फुटबल बिर्सिएर बास्केट बलको अब्बल खेलाडी हुने र बास्केट बलमा दशक बिताएको खेलाडी फुटबलको ग्राउन्डमा उभिँदैमा ऊ फुटबलको राम्रो खेलाडी हुनसक्छ ?

मैले भन्न खोजेको के भने आज पहिचान पक्षधर भनेर जो उभिएका छन्, उनीहरु हिजो पहिचानविरोधी पार्टीका सारथि थिए । मैले आज जुन पहिचानविरोधी भनेर आरोप झेलिरहेको छुु, म त पहिचानको आन्दोलन उठाउने पार्टीमा पसिना बगाएको मान्छे हुँ !

अनि म रास्वपामा आफ्नो पहिचान र एजेण्डा छोडेर जान्छु ? त्यसैले धेरैले चुनावमा विरोधीको आलोचनाका लागि खडा गरिने भाष्यहरु बुझ्नुपर्ने हुन्छ । तर, हामी नयाँ राजनीतिक संस्कार बोकेका युवा हौं । हामीहरु विरोधीको आलोचनाभन्दा विरोधीलाई पनि माया बाँड्न चाहन्छौं ।

यही राजनीतिक संस्कारकै कारण मैले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङलाई चुनाव प्रचारका क्रममा भेटेर ‘माङसेबुङ जाँदा मेरो घरमा गएर आमाले पकाएको खान नखाइ नआउनू है’ भनें । त्यसैले मलाई के लाग्छ भने समय फेरिसकेको छ । परिवर्तनको लहर इलामका कुना-कुनामा पुगिसकेको छ । परिवर्तनको यो लहरलाई पुराना सोच भएका टाउकाहरुले यस पटक थेग्न गाह्रो छ ।

– अहिले तपाईंको एक अन्तर्वार्ताको क्लिप भाइरल भइरहेको छ । जहाँ रास्वपालाई पुरानै ढर्रामा गइसकेको पार्टी भन्दै त्यसमा जाने सम्भावना नै नभएको भन्नुभएको छ । फेरि अचानक के आइलाग्यो त्यस्तो, तपाईं रास्वपासँगै एक ठाउँमा आइपुग्नुभो ?

संसारभर बाँच्दै गरेका मानिसका बुझाइहरु हिजोभन्दा आज र आजभन्दा भोलि परिवर्तन भइरहेकै हुन्छन् । यदि बाल्यकालदेखि बुढेसकालसम्म एउटै सोच राख्ने हो भने मानव इतिहासले यहाँसम्मको यात्रा गर्ने थिएन ।

तपाईंले मलाई सोध्नुपर्ने प्रश्न यो नभएर मानिसले परिवर्तनशील विचार अँगाल्नु कति ठीक हो वा बेठीक भनेर सोध्नुपर्ने थियो । तर, केही छैन ! म के विश्वास गर्छु भने तपाईंले आज नभए पनि भोलिका दिन त्यो प्रश्न गर्नु हुनेछ । र, हामी परिवर्तनशील विचार मानव जीवनका लागि किन जरुरी छ भन्नेबारे संवाद गरौंला ।

– माओवादी छाडेर रास्वपा प्रवेश गर्नुलाई कतिपयले अवसरवादीको संज्ञा पनि तपाईंलाई दिइरहेका छन् । यसमा के भन्नुहुन्छ ?

आधुनिक नेपालको तीन सय वर्षको इतिहासमा माओवादी आन्दोलन नै त्यस्तो आन्दोलन हो, जसले नेपाली समाजलाई जरैदेखि हल्लाइदियो र देशमा नयाँ राजनीतिक परिवर्तनलाई स्थापित गरिदियो । त्यसैले मेरो मनमा माओवादी आन्दोलनप्रति ठूलो सम्मान छ । सामन्ती, वंशमा आधारित राजतन्त्रात्मक व्यवस्था फालेर आजको व्यवस्था ल्याउनमा माओवादीको जति ठूलो भूमिका कसैको पनि छैन । तर, पछिल्लो समयमा त्यो आन्दोलन, आन्दोलन नभएर परिवारवादमा परिणत हुन थालेको छ ।

देशैभरि माओवादी योद्धाहरु, जसले यो व्यवस्था ल्याउन लडे- उनीहरु आफ्नो शरीरमा गोलीका छर्रा लिएर उपचारका लागि भौतारिरहेका छन् । नेताका छोराहरु भने शरणार्थीदेखि सुनकाण्डमा लिप्त छन् । त्यतिमात्रै होइन, माओवादी आन्दोलनमा आस्थावान कुनै पनि व्यक्ति विगत डेढ दशकदेखि खास माओवादी नै रहेनन् ।

म परिवर्तनका निम्ति रास्वपामा आउँदै गर्दा आलोचना हुनुपर्ने कुनै कारण देखिँदैन । के अझै पनि मलाई कसैले अवसरवादी देख्छन् भने केही समय मेरो राजनीतिक यात्रालाई थप नियाल्नुपर्ने हुन्छ ।

किनभने उनीहरु कहिले रुखमा मतदान गरिरहेका छन् त कहिले सूर्यमा । कहिले उनीहरुले कमल थापालाई काँधमा बोकेर हिँड्नु परेको छ त कहिले सूर्यबहादुर थापाको छोरालाई । तर, म परिवर्तनका निम्ति रास्वपामा आउँदै गर्दा आलोचना हुनुपर्ने कुनै कारण देखिँदैन । के अझै पनि मलाई कसैले अवसरवादी देख्छन् भने केही समय मेरो राजनीतिक यात्रालाई थप नियाल्नुपर्ने हुन्छ ।

– तपाईंले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)बाट राजीनामा नदिएको, प्रेस सेन्टरले कारबाही गरेका प्रसंगहरु पनि आइरहेका छन् ? खासमा यी प्रसंगहरु के हुन् ?

यसका लागि त मैले सार्वजनिक रुपमा सामाजिक सञ्जालमा लेखेको स्टाटसको मिति र मलाई कारबाही गरिएको विज्ञप्तिको मिति हेर्नुपर्छ । मलाई कारबाही गरिएको सार्वजनिक हुनुभन्दा १५ दिनअगावै मैले आफू सक्रिय रहेको सबै ठाउँबाट राजीनामा दिइसकेको थिएँ । त्यसपछि पनि कसैलाई कारबाही गरिन्छ भने त्यसलाई निन्दाबाट ग्रसित राजनीतिक कर्म मान्नुपर्ला ।

– भोलिका दिनमा रास्वपासँगै आउने फरक वैचारिक मतभिन्नतालाई कसरी ट्याकल गर्ने सोच्नुभएको छ ?

भविष्यबारे सबै चिन्तित हुन्छन् भन्ने विषयमा कुनै शंका भएन । तर, भोलि पृथ्वी र चन्द्रमा ठोक्किए भने म बाँचुला कि मरुँला भन्ने चिन्तामा मनोचिकित्सककोमा धाउनुपर्‍याे भने के त्यो सही हो ? आममानिसको जीवन यसैगरी चल्छ ?

म सामान्य किसानको छोरा हुँ । अझै किसानको मात्रै होइन, लिम्बू किसानको छोरा हुँ । म धेरै ढाँटछल गर्न जान्दिनँ । आजका दिनमा मैले जनताको धेरैभन्दा धेरै काम गर्नुछ । त्यसका लागि मैले शरीरमा एक थोपा रगत रहेसम्म इमानका साथ काम गर्नुछ । त्यसैले मलाई भोलि के होला भन्ने कुराले भन्दा पनि मैले जनताको धेरैभन्दा धेरै काम के कसरी गर्ने भनेरमात्रै सोचिरहेको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर