खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको छ: प्रधानमन्त्री प्रचण्ड – Nepal Press

खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को ६०औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा खेलकुदले सहयोग गर्ने बताए ।

‘यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूल्ठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूल्ठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्’, उनले भने, ‘खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढीकरण, कूटनीतिक सन्तुलन र सहकार्य एवं देशको बहुआयामिक विकासका निम्ति खेल क्षेत्रको भूमिका निर्णायक देखिँदै आएको छ ।’

आफ्नो कार्यकालमा खेलकुद, साहित्य-कला र प्रविधिको क्षेत्रलाई उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताए ।

उनले पछिल्लो समय राष्ट्रियस्तरमा खेलकुदको विकास र अन्तर्राष्ट्रिय पदक हासिल हुँदा खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको बताए ।

चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा नेपालले राम्रो नजिता हासिल गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले पोखरा, बेलझुण्डी र च्यासल रङ्गशाला निर्माण सम्पन्न गरिएको बताए ।

उनले मूलपानी, भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र विराटनगरको रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी निर्माण शीघ्र सम्पन्न गर्न उच्च महत्त्व दिइएको बताए ।

सरकारले पुरस्कारसम्बन्धी कानून नै निर्माण गरी पुरस्कृत गर्दै आएकाले खेलाडीहरूमा ठूलो प्रोत्साहन र आत्मविश्वास बढेको उनको भनाइ थियो ।

पछिल्लो समय महिला खेलाडीहरूले देशभित्र र बाहिर कीर्तिमान हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता उपलब्धिले देशका लागि उत्प्रेरणा प्रदान गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर