गृहमन्त्रीलाई सदनमा बोल्न नदिएर कांग्रेसले अराजकता मच्चाएकाे एमालेकाे आराेप (भिडिओ) – Nepal Press

गृहमन्त्रीलाई सदनमा बोल्न नदिएर कांग्रेसले अराजकता मच्चाएकाे एमालेकाे आराेप (भिडिओ)

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काँग्रेसले सत्ता पक्ष र सिंगो नेपाली जनताले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि कांग्रेसले त्यो गर्न नदिएर संसदमा अराजकता मच्याएको बताएका हुन् ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले कांग्रेसलाई सत्तामा नभएको एक महिना पनि नपुग्दै पीडा ओकल्ने खालको गतिविधि नगर्न पनि सचेत गराए । प्रमुख सचेतक बर्ताैलाले गृहमन्त्रीलाई स्वीकार नगर्ने नीति हो ? भनि काँग्रेसलाई प्रश्न समेत गरे ।

प्रमुख सचेतक बर्ताैलाले संसदीय मूल्य र मान्यतालाई क्षतविक्षत गराउने काम काँग्रेसले गर्न नहुने बताए ।

यस्तो छ बर्तौलाको भनाइः

आज उहाँहरुले गृहमन्त्रीलाई बोल्छु भन्दा रोकेर एक प्रकारले भन्ने हो भने राजनीतिक असहिष्णुता र संसदीय अराजकता नेपाली काँग्रेसका तर्फबाट भएको छ । हामी सत्तापक्ष प्रतिपक्षलाई आग्रह गर्न चाहन्छौं–यो हाउसमा प्रतिपक्ष मात्रै छैन । सरकार बीचमा छ । सभामुखको आसनबाट दाया साईटमा सत्तापक्ष छ । बायाँ साईटमा प्रतिपक्ष छ । प्रतिपक्षले सदनमा रोक्ने ? हामी गृहमन्त्रीलाई सुन्न चाहन्छौं ।

सिंगो देशले गृहमन्त्रीमाथि लागेका प्रश्नको बारेमा सुन्न चाहन्छ । के उहाँहरुले रोकिरहने ? अनि हामी सत्तापक्षले कहाँ गएर सुन्ने हो ? हामी सत्ता पक्षले बोल्ने कहाँ गएर हो ? सरकारले कहाँ गएर बोल्ने हो ? त्यसकारण उहाँहरुले जे गर्नू भयो, त्यो बेठिक छ । मिलेको छैन । त्यसकारण राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बन्दकी संसदलाई बनाउनु हुँदैन । सरकारबाट बाहिरिने कुरा लोकतन्त्रमा चलिरहन्छ ।

संसदको आजको गणितले त्यो चलिरहन्छ । सरकारबाट हटनुपर्दाको एक महिना पनि पीडा सहन नसक्ने काँग्रेसको आजको चरित्रले वास्तवमा संसदीय अभ्यासमाथि, संसदीय मूल्यमान्यतामाथि क्षतविक्षत बनाएको छ । फेरी पनि प्रमुख प्रतिपक्षलाई आग्रह गर्न चाहन्छु–तपाईहरुको आफ्नो शैली र तरिकालाई बदल्नुहोस् । हामी काँग्रेसलाई सोध्न चाहन्छौं–काँग्रेसले गृहमन्त्री मान्छ कि मान्दैन ?

म प्रश्न गर्न चाहन्छु–गृहमन्त्री स्विकार गर्छ कि गर्दैन ? यदि काँग्रेसले गृहमन्त्री स्विकार गर्दैन भने बहिष्कार गरोस् । स्टेटमेण्ट निकालोस्न । हामी बहालवाला गृहमन्त्रीलाई कुनै पनि हालतमा स्वीकार गर्दैनौं । र यो देशमा गृहमन्त्री भएको हामी मान्दैनौं काँग्रेस भन्नसक्छ ?

 


प्रतिक्रिया

One thought on “गृहमन्त्रीलाई सदनमा बोल्न नदिएर कांग्रेसले अराजकता मच्चाएकाे एमालेकाे आराेप (भिडिओ)

  1. काँग्रेस देशबाट नसिद्विएसम्म केही हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर