डोटीका स्थानीय तहमा बनेनन् आधारभूत अस्पताल, पेश्की लिए पनि निर्माण बेहाल – Nepal Press

डोटीका स्थानीय तहमा बनेनन् आधारभूत अस्पताल, पेश्की लिए पनि निर्माण बेहाल

डोटी । बडीकेदार गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल स्थापना गर्न २०७७ मंसिर १५ गते सिलान्यास भएको भवनको हालसम्म ३५ प्रतिशत मात्रै काम भएको छ । भवन निर्माणका लागि धुलिखेल एलबी एण्ड एबी जयश्री बालाजी जेभीसँग २०७८ असोज ४ मा सम्झौता भएको थियो ।

सम्झौताअनुसार भवनको निर्माण कार्य २९ मंसिर २०७९ मा सम्पन्न भइसक्नु पर्ने थियो तर निर्माण भएन । ठेक्का सम्झौताको म्याद २०८० पुस मसान्तसम्म थप भएपनि काम भने ३५ प्रतिशत मात्रै भएको छ ।

भ्याटसहित सात करोड २६ लाख १९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा हालसम्म एक करोड २७ लाख रुपैयाँ पेश्की भुक्तानी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिए ।

बडीकेदार गाउँपालिकाको मात्रै हैन जिल्लाका सात स्थानीय तहमा बन्नुपर्ने आधारभूत अस्पताल अझै बनेका छैनन् । नेपाल सरकारले ३९६ वटा स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माण गर्ने भन्दै २०७७ मंसिर १५ गते एकसाथ सिलान्यास गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो ।

सोही दिन डोटीका सात स्थानीय तह (दिपायल, सिलगढी नगरपालिका र आदर्श गाउँपालिका बाहेक) मा अस्पतालको सिलान्यास भएको थियो । तर कुनै पनि स्थानीय तहमा हालसम्म आधारभूत अस्पताल सञ्चालनमा आएका छैनन् ।

बोगटान फुड्सिल गाउँपालिका २ मा निर्माण हुन लागेको १५ शैयाको आधारभूत अस्पतालको भवन पनि अलपत्रै छ । भवन निर्माणका लागि गाउँपालिका र सिएम–प्रसन्न जेभीबीच २०७८ असार १८ गते सम्झौता भएको थियो ।

२०७९ असार २९ गते निर्माण भइसक्नु पर्ने भवनको हालसम्म २० प्रतिशत मात्रै काम भएको छ । भ्याटसहित १४ करोड ८२ लाख १० हजार रुपैयाँमा सम्झौता भएकोमा निर्माण व्यवसायीले हालसम्म पेश्की दुई करोड ९० लाख र रनिङ्ग बिलमा ६ करोड ५५ लाख भुक्तानी लिइसकेका छन् ।

उक्त ठेक्काको म्याद २०८१ असारसम्म थप गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतवहादुर चन्दले बताए ।

केआई सिंह गाउँपालिकामा निर्माण हुने भनिएको १० शैयाको अस्पतालको पनि उस्तै अवस्था छ । २०७९ असोज २३ गते निर्माण भईसक्नु पर्ने उक्त अस्पतालको हालसम्म ४८ प्रतिशत मात्रै काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरतवहादुर परियारले जानकारी दिए ।

भ्याटसहित आठ करोड १५ लाख ७८ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी गाउँपालिका र केएस–तेडी–मनिलेक जेभीबीच २०७८ असार २३ गते सम्झौता भएको थियो । निर्माण व्यवसायीले हालसम्म एक करोड ८९ लाख ८१ हजार भुक्तानी लिएका छन् । म्याद थप गरी उक्त भवन २०८१ साल असार २० गते सम्पन्न गर्नु पर्ने भनिएको छ ।

सायल गाउँपालिकामा निर्माण हुने भवनको पनि दुर्दशा छ । २०८१ साउन ३० गते सम्पन्न हुनु पर्ने भवनको हालसम्म पाँच प्रतिशत मात्रै काम भएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाको डौड स्वास्थ्य चौकी नजिक बनिरहेको १० शैयाको उक्त भवन निर्माणका लागि टिडिआर कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो ।

भ्याटसहित आठ करोड ४६ लाख ३४ हजारमा निर्माण गर्ने भनी २०७८ साल साउन ३० गते ठेक्का भएकोमा हालसम्म निर्माण व्यवसायीलाई ८४ लाख रुपैयाँ भुक्तानी दिइएको गाउँपालिकाले जानकारी दिएको छ ।

२०८० असार मसान्तमा निर्माण भईसक्नु पर्ने जोरायल गाउँपालिकाको १५ शैयाको अस्पतालको भवनको पनि हालसम्म ११ प्रतिशत मात्रै काम भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले दिएको जानकारी अनुसार भवन निर्माणका लागि वराह डेभलपर्स प्रालि (साविकको राजेन्द्र निर्माण सेवा) सँग २०७८ साउन १९ गते सम्झौता भएको थियो ।

भ्याटसहित ११ करोड २१ लाख ५८ हजार रुपैयाँमा सम्झौता भएकोमा हालसम्म एक करोड ९६ लाख रुपैयाँ निर्माण व्यवसायीलाई पेश्की दिइएको छ । शिखर नगरपालिकाको १५ शैयाँको अस्पतालको भवन पनि निर्माण भएको छैन ।

२०८० असार १४ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने शर्तसहित २०७८ वैशाख २१ गते नगरपालिका र निर्माण व्यवसायी कम्पनी केएस कन्स्ट्रक्सन प्रालिबीच सम्झौता भएको थियो ।

१० करोड ३० लाख सात हजारमा सम्झौता भएको उक्त भवनमा हालसम्म ८० प्रतिशत काम भईसकेको नगरपालिकाका सूचना अधिकारी कल्पना कुमारी ठकुल्लाले जानकारी दिइन् । उनले ठेक्काको चैत्र ३० गतेसम्म रहेको समेत वताईन् । हालसम्म निर्माण व्यवसायीले ६ करोड ६१ लाख ११ हजार रुपैयाँ भुक्तानी लिएको छ ।

पूर्वीचौकीमा भवन निर्माण सम्पन्न

पूर्वीचौकी गाउँपालिकामा भने आधारभूत अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकवहादुर खड्काले दिएको सूचनाअनुसार १० शैयाको अस्पतालका लागि भवन निर्माणको कार्य सम्पन्न भएको हो ।

भवन निर्माणका लागि गाउँपालिका र निर्माण व्यवसायी कम्पनी रोयल कन्स्ट्रक्सन प्रालिबीच २०७८ असार २४ गते सम्झौता भएको थियो । भ्याटसहित सात करोड ८३ लाख १७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त भवन गत पुष २४ गतेभित्र सम्पन्न गर्नु पर्ने शर्त थियो ।

‘भवन निर्माणको कार्य सम्पन्न भईसकेका छ, निर्माण व्यवसायीले हस्तान्तरण गर्न बाँकी छ’ खड्काले भने ‘भवनको प्राविधिक अनुगमन गरी गाउँपालिकाले स्वामित्व लिने तयारी छ ।’ उनले वैशाखभित्रै अस्पताल सञ्चालनमा ल्याइने बताए । उनले अस्पतालको प्रारम्भिक सुरुवातका लागि गाउँपालिकाको केन्द्रमा रहेको सानागाउँ स्वास्थ्य चौकीमा जनशक्ति र उपकरणहरु पनि रहेको जानकारी दिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर