ध्रुव राठी : मोदी सरकार र ‘गोदी मिडिया’ को टाउको दुःखाइ बनिरहेका एक भारतीय युट्युबर – Nepal Press

ध्रुव राठी : मोदी सरकार र ‘गोदी मिडिया’ को टाउको दुःखाइ बनिरहेका एक भारतीय युट्युबर

काठमाडौं । सोमबार साँझ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहालले सामाजिक सञ्जाल एक्समा पोस्ट गरे- ‘ध्रुव राठीको नयाँ भिडियो १ घण्टामै ७ लाख ७७ हजारले हेरे । यो पनि सुपर हिट हुने देखियो । कडा ।’

हिन्दी भाषामा भिडियो पोस्ट गर्ने भारतीय युट्युबरको नेपाली पत्रकार नेताले चासो दिनुमा मूलतः दुई कारण छन् । एक, राठी मूलधारका मिडियामा नआउने, कम आउने कन्टेन्ट दिएर बलियो वैकल्पिक मिडियाकर्मीको रुपमा आएका छन् । दुई, अहिले भारतीय चुनावमा भारत सरकारको हुनुपर्ने लोकतान्त्रिक आलोचना मूलधारका मिडियाबाट भएको छैन, जुन खाडल राठीले पुरे । फलस्वरुप उनका राजनीतिक कन्टेन्टहरु भारत, भारतीय डायस्पोरा र हिन्दी तथा भारत बुझ्न खोज्ने जिज्ञासु जमातमा चर्चित हुन पुग्यो ।

राठीले सोमबार पोस्ट गरेको भिडिओकै कुरा गरौं । यो सामग्री तयार गर्दासम्म १ कराेड ६० लाख बढीले उक्त भिडियो हेरिसकेका छन् । १ लाख बढीले कमेन्ट गरेका छन् । २३ मिनेट ४२ सेकेन्डको राठीको भिडिओको खुराक अरविन्द केजरिवालको जेलको बारेमा छ । के भारतमा तानाशाह आएको निश्चित भएको हो भन्ने अर्थको छ उनको भिडिओ । चुनावको मुखमा भारतको इतिहासमै पहिलो पटक बहालवाला मुख्यमन्त्रीलाई दोषी प्रमाणित नभइकनै जेल हालिएको भन्दै राठीले केही अगाडि राहुल गान्धीको लागि पनि संसदबाट अयोग्य घोषणा गरेर निकाला गरिएको कुरा कोट्याएका छन् । यी सबै प्रसंग ल्याएर उनले भारतमा लोकतन्त्र होइन, तानाशाहीतन्त्र आएको तर्क गरेका छन् । अमेरिका, बेलायत, जर्मनीदेखि संयुक्त राष्ट्रसंघका अधिकारीहरुबाट भारतीय लोकतन्त्रको सवालमा चिन्ता आएको भन्दै उनले आफ्नो तर्कलाई विश्वभरको आधारले बलियो बनाएका छन् ।

भारतीय चुनाव आएसँगै चुनावी मुद्दामा आलोचनात्मक हुन नसकेका भारतीय मूलधारले छोडेको खाडल पुर्न राठी सक्रिय छन् । त्यही कारण उनका राजनीतिक कन्टेन्टहरु अस्वाभाविक रुपमा लोकप्रिय हुँदै आएका छन् । जस्तैः उनले आठ दिन अगाडि पोस्ट गरे भारतको चुनावी बोन्डको सामग्री । २३ मिनेट ३७ सेकेन्ड लामो भिडिओलाई डेढ करोडले हेरेका छन् । १ लाख ९० हजार हाराहारी संख्यामा कमेन्ट आएका छन् । यदि भारतका मूलधारका मिडियाले चुनावी बोन्डको मुद्दामा आलोचनात्मक आँखाले खरो बहस गरेका भए राठीका भिडिओमा यतिविधि दर्शक ओइरिने थिएनन् । केजरिवाल प्रकरण र बोन्ड बहसमात्रै होइनन्, राठीले बनाएका राजनीतिक सामग्री खासगरी आलोचनात्मक चेतका भिडिओहरु गजबले चलेका छन् ।

राजनीतिक भिडिओ बनाएर मोदी सरकार तानाशाह भएको प्रश्न गर्दा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले सोध्ने ‘के इन्दिरा गान्धी चैँ तानाशाह थिइनन्’ भन्ने सवालको पनि उनले त्यही भिडिओमा उत्तर दिएका छन् । आफू जन्मनुभन्दा अगाडिको बारेमा आफूलाई थाहा नभएको तर आफूले त्योबारेमा पनि भिडिओ बनाएको भन्दै हेर्न आग्रह गरेका छन् । हिजोको खराबीको नाममा आज अर्को खराबी गर्न नहुने उनले जोड दिँदै आफ्ना कुरा खरो रुपमा राखेका छन् ।

मोदी सँगसँगै उदाएको राठीको वैकल्पिक सञ्चार सत्ता

भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी शक्तिशाली प्रधानमन्त्रीको रुपमा सन् २०१४ मा भारतीय सत्तामा आए । ध्रुव राठी सोही वर्ष युट्युबमा आएको भारतीय अखबार हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ । रोचक कुरा मोदी राज्य सत्तामा आएकै साल सामाजिक सञ्जालमा चिनिने गरी आएका राठीले मोदीको सत्तालाई आलोचना गरेकैले विश्वभर चर्चित हुने र नाम-दाम कमाउने सायदै सोचेका थिए होलान् ।

आज मोदी विश्वको पाँचौं ठूलो अर्थतन्त्रका शक्तिशाली नेता छन् । त्यस्तै राठी विश्वका सर्वाधिक लोकप्रियमध्येका एक युट्युबर भएका छन् । १ करोड ६६ लाख सब्स्क्राइबर उनका सूचनात्मक तथा व्याख्यात्मक भिडिओ च्यानलमा छन् । मोदीको युट्युब सब्स्क्राइबर २ करोड २६ लाख हुँदा राठीको त्यति हुनु आफैंमा रोचक कुरा हो । अझ रोचक कुरा त भारतका चर्चित अखबारहरु टाइम्स अफ इन्डिया, हिन्दूस्तान टाइम्स, इन्डियन एक्सप्रेसका एकमुष्ट सब्स्क्राइबरभन्दा राठीका एकल युट्युब सब्स्क्राइबर धेरै छन् ।

भारतका राजनीतिक, सामाजिक, आर्थिक, ऐतिहासिक तथा मानवीय चासोका भिडिओहरु बनाउनु र तथ्यजाँच गर्नु राठीको उद्देश्य हो । आफूले बनाएका भिडिओहरु हिन्दी बोल्नेहरुको विशाल जमातसम्म पुर्‍याउनु राठीको लक्षित वर्ग हो । आफूले बनाएका भिडिओहरु सन्तुलन हुनुपर्नेमा सन्तुलित, आलोचनात्मक हुनुपर्नेमा आलोचनात्मक र व्याख्यात्मक हुनुपर्नेमा व्याख्यात्मक बनाउन सक्नु राठीको खुबी हो ।

भारतीय सरकार र मूलधारका मिडियाहरुको लोली मिलेर सत्ताको आलोचनात्मक कन्टेन्ट बिक्रीको आकर्षक माहोल बन्नु चैँ राठीको संयोग वा भाग्य हो । यिनै कुराले आज उनी भारतीय हिन्दी भाषी, भारतीय डायस्पोरामा मात्रै सीमित भएर विश्वभर चर्चित छन् । उनलाई अमेरिकाको टाइम म्यागाजिनले सन् २०२३ मा अर्को पुस्ताका विश्व नेताहरुको सूचीमा उभ्यायो । टाइम्स म्यागाजिनले उनलाई भारतीय तथ्य जाँचकीको रुपमा चिनाएको छ । भारतीय मिडियाको तथ्यजाँच गाह्रो भएको तर राठीले युट्युब प्रयोग गरेर तथ्यजाँच गरेको टाइमले लेखेको छ ।

राठीको नैतिकता: मदिरा, सूर्ती, जुवाको विज्ञापन गर्दैनन्, हिन्दू हुन् हिन्दूवादी होइनन्

राठीका जानकारीमूलक भिडिओहरु हुने युट्युब च्यानलका सब्स्क्राइबर १ करोड ६६ लाख छन् । यत्तिमात्रै होइन उनी अरु सामाजिक सञ्जालमा पनि चर्चित छन् । जस्तैः इन्टाग्राममा ३८ लाख, फेसबुकमा २६ लाख, धु्रब राठी भ्लग्स् भन्ने च्यानलमा उनका सब्स्क्राइबर २४ लाख बढी छन् ।

यस्तै साविकको ट्विटर तथा अहिलेको एक्समा उनका फलोअर १९ लाख बढी छन् । आफ्नो भव्य सामाजिक सञ्चारको साम्राज्यको दुरुपयोग गर्न चाहँदैनन् राठी । उनलाई धेरैबाट विज्ञापन आउँछ । विज्ञापन दिनेहरुले उनलाई छान्छन् । उनी विज्ञापन दिनेहरुको गुणस्तर छान्छन् । जस्तैः उनी मदिरा, सूर्तीजन्य पदार्थ, जुवाको विज्ञापन गर्दैनन् । यो कुरा उनले आफ्नो आधिकारिक वेबसाइटमै जानकारी दिएका छन् । आफूलाई शिक्षक, अभियानकर्मी र यात्राभ्यागर भनेर चिनाउने राठीले राजनीतिक दलहरुको पनि पैसा लिएर विज्ञापन नगर्ने बताएका छन् । भारतका मूलधारका मिडियाहरुमा राजनीतिक दलका विज्ञापन आउने गर्छन् । राठी भने राजनीतिक दलका विज्ञापनमा रुचि राख्दैनन् भन्ने उनको आधिकारिक वेबसाइटमै जानकारी छ ।

आफूलाई राष्ट्रवादी भन्छन् राठी । भारतीयहरुले भन्ने ‘जय हिन्द’ भनिरहेका हुन्छन् आफ्ना भिडिओहरुमा । तर, उनी भारतको हिन्दूत्व राजनीतिमा भने विमति राख्छन् । भारतीय चलचित्र बजारमा ल्याइएको ‘केरेला स्टोरी’ सन् २०२३ मा आउँदा हिन्दूत्वको मुद्दा बोकेको भन्दै उनले आलोचनात्मक राय राखे । उनले २२ मिनेट २७ सेकेन्डको भिडिओ बनाएर उक्त चलचित्रलाई इस्लाम धर्मलाई जानाजान अपमान गर्न खोजिएको अर्थ लगाए । उनको भिडिओ १ करोड ९६ लाख बढीले हेरे । भारतको हरियाणाको जाट परिवारका जन्मजात हिन्दू हुन् राठी । तर, यस्ता मामिलामा उनी हिन्दूको कोणबाट नहेरेर आममान्छेको आँखाले हेर्छन् ।

नेपालको चुच्चे नक्सा प्रकरणमा सन्तुलित भिडिओ बनाएका थिए राठीले

नेपाल र भारतको लिपुलेक, कालापानी र लिम्पियाधुरा सवालमा भारतीय मूलधारका मिडियाहरुले नेपालको सत्तोसराप गरे । तत्कालीन नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्कालीन चिनियाँ महिला राजदूतसँग जोड्नेदेखि मनिषा कोइरालाको दानवत्वसम्मका सवाल ल्याए भारतीय मिडियाले । एक कोणमा पाकिस्तानभन्दा धेरै शत्रुता भएको देश नेपाल हो जस्तो व्याख्या भारतीय मूलधारका मिडियामा आइरहँदा राठीले भने सन्तुलित भिडिओ बनाएका थिए ।

सन् २०२० मे २३ मा उनले पोस्ट गरेको भिडिओ झण्डै आधा करोडले हेरेका छन् । नेपाल र भारतको सीमा विवाद भन्दै उनले बनाएको भिडिओले एकखाले भारतीयलाई सन्तुलित सूचना दिएको थियो । धेरै नेपालीले तत्कालीन समयमा भारतीय मूलधारका मिडियाको भाष्यलाई प्रतिवाद गर्न यो भिडिओलाई शेयर गरेका थिए ।

कम उमेरमै नाम र दाम कमाएका राठी: जर्मन प्रेमिकालाई बनाए जीवनसाथी

सन् १९९४ अक्टोबर ८ मा जन्मेका राठी स्कुले शिक्षा भारतको दिल्ली पब्लिक स्कुलबाट हासिल गरे । उनले उच्च शिक्षा जर्मनीमा गरे । स्नातक शिक्षा उनले मेकानिकल इन्जिनियरिङमा गरे भने स्तातकोत्तर नवीकरणीय ऊर्जा इन्जिनियरिङमा गरे । जीवनको तीन दशकमा यात्रा गरिरहेका राठीले नाम त कमाएका छन् नै, दाम पनि उत्तिकै कमाएका छन् । उनको सरदर औसत मासिक आम्दानी ४८ लाख भारतीय रुपैयाँ भएको भारतको फ्रि प्रेस जर्नलमा उल्लेख गरिएको छ । यो भनेको ७६ लाख ८० हजार नेपाली रुपैयाँ हो ।

पढाइ जर्मनीमा गरेका राठीले प्रेम पनि त्यही गरे । उनकी प्रेमिका जर्मन नागरिक हुन् । उनको नाम जुली एलबिआर हो । अझ रोचक कुरा चैँ सन् २०१४ मा जब राठी युट्युब यात्रामा गजबसँग जोडिन थालेका थिए, त्यहीबेलाबाट जुली उनीसँग जोडिन पुगिन् । जुली पनि इन्टाग्राममा चर्चित छिन् । उनका तीन लाख बढी फलोअर छन् । आफूलाई चिनाउँदा उनले आफू मेडिकल क्षेत्रको भन्दै म्यादी क्यामेरा वुमन र कहिलेकाहीं भ्लगमा देखिने अनुहार भनेकी छन् ।

प्रेमिका जुलीसँग राठीले तीन वर्ष अगाडि विवाह गरेका थिए । सन् २०२१ को नोभेम्बरमा उनीहरुले अष्ट्रियाको भियनामा विवाह गरेको बताइन्छ । राठीको जानकारीमूलक भिडियोमा नदेखिने पत्नी जुली उनका भ्लगहरुमा भने देखिने गरेकी छन् । जुलीका इन्टाग्राम तस्विरमा पनि राठी देखिन्छन् । अहिले जुली र राठी दुवै जर्मनीको राजधानी बर्लिनमा बस्ने गर्छन् । जर्मनीमा बसेकोले पनि हुनसक्छ राठी मोदी सरकारको आलोचनामा भारत केन्द्रित युट्युबरहरुभन्दा बढी मुखर छन् ।

विवादरहित छैनन् राठी

नाम, दाम र ब्राण्ड भएका राठी विवादरहित चैँ छैनन् । सन् २०२३ सेप्टेम्बरमा भारतको सूचना तथा प्रशारण मन्त्रालयले राठीले देखाएको नक्सामा भारतमा पर्ने कास्मिर पाकिस्तानमा देखाएको भन्दै उनको भिडियो प्रतिबन्ध लगाएको थियो । यही वर्ष बीजेपीको आईटी सेलबारेमा राठीले बनाएको भिडिओ सामाजिक सञ्जालमा साझा गरेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सन् २०२४ फेब्रुअरी २६ मा भारतीय अदालतमा माफी माग्नु परेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सन् २०२० मा भारतकी चर्चित अभिनेतृ कंगना रनावतले समेत राठीले आफ्नो घरको बीएमसी नोटिसबारेमा ढाँटेको भन्दै अदालत जाने धम्की दिएकी थिइन् । भारतीय सत्ताधारी दल बीजेपीका नेता कार्यकर्ता तथा समर्थकहरुले उनलाई बीजेपीको मात्रै खेदो खनेको भन्दै आलोचना गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तानाशाह भनेको भन्दै भारतीय मिडियामा राठीको आलोचना भएको छ । सन् २०२४ फेबु्रअरी २७ मा दिलीप मण्डलले भारतको अनलाइन पोर्टल दि प्रिन्टमा प्रश्न गरेका छन्, ‘यदि मोदी तानाशाह हुन् भने उनले आफूले चाहेको कुरा पटक पटक लागू गर्न किन सकिरहेका छैनन् ?’

राठीले भने सत्तामा बीजेपी भएकोले प्रश्न बीजेपीलाई आउने भन्दै आएका छन् । उसो त उनले भारतीय कांग्रेसको आलोचात्मक भिडियो सामग्रीहरु बनाएकै छन् । आफ्नो आलोचनात्मक सवालमा राठी मुखर छन् । यो कुरा उनले आफ्नो वेबसाइटमै भनेका छन् । उनले आफ्नो वेबसाइटको सबैभन्दा पहिलो लाइनमै लेखेका छन्, ‘आफूले देख्न चाहेको परिवर्तन आफैं बन्नुहोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर