पर्वतमा दम्पतीको हत्या: तालिम प्राप्त कुकुरमार्फत अनुसन्धान गरिँदै (भिडिओ) – Nepal Press

पर्वतमा दम्पतीको हत्या: तालिम प्राप्त कुकुरमार्फत अनुसन्धान गरिँदै (भिडिओ)

पोखरा । पर्वतको जलजला गाउँपालिका-२ दहमा मृत फेला परेको एक दम्पतीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसाल नेतृत्वमा खटिएको टोली उक्त दम्पतीको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

मंगलबार बिहान जलजला- २ दहमा ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीय कमला घरभित्रै मृत फेला परेका थिए । उनीहरु मृत भेटिएको घरमा ताल्चा लगाइएको डीएसपी भुसालले बताए । ढोका फोरेर भित्र हेर्दा मृत भेटिएको उनले सुनाए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुकुरसहितको विज्ञ टोली घटनास्थल पुगेको थियो । उक्त टोलीले अनुसन्धान सुरु गरिसकेको डीएसपी भुसालले जानकारी दिए ।

प्रारम्भिक रुपमा दम्पतीको हत्या गर्न काठ प्रयोग गरेको देखिएको उनले बताए । ‘टाउको र छातीमा चोट छ । मृतकको अवस्था हेर्दा काठ प्रयोग गरी हत्या भएको देखिन्छ’, उनले भने ।

उक्त दम्पती सोमबार पोखरामा जग्गा किन्न भन्दै सहकारीमा ऋण लिन गएको पाइएको जलजला- २ का वडाध्यक्ष प्रकाश घर्ती क्षेत्रीले बताए । उनीहरुको घरबाट गरगहनासमेत भेटिएको वडाध्यक्ष क्षेत्रीले सुनाए ।

घरमा ती दम्पतीमात्रै बस्दै आएका थिए । २ छोरा वैदेशिक रोजगारीका लागि कोरिया र अर्को छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *