गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिने – Nepal Press

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिने भएका छन् । अल्पमतमा परेका पाण्डेले बुधबार राजीनामा दिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

‘मुख्यमन्त्रीज्यूले भोलि राजीनामा दिनुहुन्छ । उहाँले राजीनामा दिएपछि कांग्रेस सरकार बनाउन लाग्दैन भन्ने कुरा होइन । सरकार बनाउन कोसिस गर्ने कुरा स्वाभाविक हो’, उनले भने ।

विश्वासको मत लिने र राजीनामा दिने विषयमा मुख्यमन्त्री पाण्डेले मंगलबार नेपाली कांग्रेसका सांसदहरुसँग छलफल गरेका थिए । छलफलपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिन तयार भएका हुन् । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले सरकार जोगाउन चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् । बहुमत पुर्‍याउन ३१ सांसद आवश्यक हुन्छ । हालको परिस्थितिमा विश्वासको मत नपाउने देखिएपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिने भएका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका पाण्डेले राजीनामा दिए प्रदेश प्रमुख डिल्लीराज भट्टले उपधारा २ बमोजिम नै बहुमतसहित सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नेछन् । यसअघि भएका आह्वानहरु हेर्दा सरकार गठन गर्न प्रदेश प्रमुखले ७ दिनभन्दा धेरै समय दिएको देखिँदैन ।

मुख्यमन्त्री पाण्डेले आजै राजीनामा दिएमा प्रदेश प्रमुखले अधिकतम ७ दिएमा पनि चैत २७ गतेसम्म बहुमत जुटाइसक्नुपर्ने हुन्छ । यसो त सत्ता साझेदार एमाले–माओवादी गठबन्धनलाई पनि बहुमत पुर्‍याउन राप्रपा नभई हुँदैन । प्रदेशसभामा एमालेका २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् । संसद अभिलेखमा माओवादी रहेको नेसपाका सांसद फणिन्द्र देवकोटाले पनि विश्वासको मत दिने नदिने अन्योल छ ।

राप्रपा अनिर्णित हुँदा दुवैतर्फ बहुमत पुग्दैन । संविधानको धारा १६८ उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बन्न नसकेमा उपधारा ३ अनुसार सरकार बन्नेछ । उपधारा ३ मा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ । सोही प्रावधानअनुसार आफ्नो सत्ता लम्ब्याउने योजनामा मुख्यमन्त्री पाण्डे छन् ।

बहुमत पुर्‍याउन मुख्यमन्त्री पाण्डेले सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधारमन्त्री बनाएका थिए । माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेको नेपाल समाजवादीका सांसद फणिन्द्र देवकोटाको मत पनि आफूले पाउनेमा पाण्डे आशावादी छन् । त्यसो हुँदा मुख्यमन्त्रीलाई बहुमत पुर्‍याउन राप्रपाको साथ भए पुग्छ ।

मुख्यमन्त्री पाण्डेले राप्रपालाई फकाउन दुइटै सांसदलाई मन्त्री बनाउने प्रस्तावसमेत गरेका थिए । तर, त्यसलाई अस्वीकार गरिएको राप्रपाका नेताहरु बताउँछन् । राप्रपाले चैत २७ गते आन्दोलनअघि सरकारमा जाने नजाने कुनै निर्णय नलिने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर