लुम्बिनीका मुख्यमन्त्री चौधरीले २२ गते विश्वासको मत लिने, विशेष अधिवेशन आव्हान – Nepal Press

लुम्बिनीका मुख्यमन्त्री चौधरीले २२ गते विश्वासको मत लिने, विशेष अधिवेशन आव्हान

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ गते विश्वासको मत लिने भएका छन् । चैत २२ गते बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बिहीबारका लागि सदन बोलाउने निर्णय भएको र त्यही बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्ले निर्णय गरे पनि यसको औपचारिक जानकारी मङ्गलवार साढे ४ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा पुगेको छैन ।

प्रदेश प्रमुखको सचिवालयले यो विषयमा कुनै लिखित जानकारी नआएको जनाएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनले पनि औपचारिक रूपमा कुनै जानकारी नआएको जानकारी दिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री चौधरी अल्पमतमा छन् । यसअघि समर्थन गरेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन् ।

२०८० वैशाख १४ मा मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले वैशाख १९ मा ८७ जना प्रदेशसभा सदस्यमध्ये ५३ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा २९ मत परेको थियो ।

वैशाख १४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नाउपा, जनता समाजवादी पार्टी ९जसपा०, नेपाल, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अहिले पनि विश्वासको मत प्राप्त गर्ने दाबी सरकारको छ । स्वास्थ्यमन्त्री राजु खनालले सरकारले विश्वासको मत पाउने गरी सबै दलसँग कुराकानी गरेको बताएका छन् । तर नयाँ गठबन्धन बनाएका एमाले–माओवादीसहितका दलले मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्ने जनाएका छन् ।

नयाँ गठबन्धनमा भएको सहमतिअनुसार माओवादी दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्नेछन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । कांग्रेससँग २७, नागरिक उन्मुक्ति पार्टीसँग ४, जनमत पार्टीसँग ३ राप्रपासँग ३ र लोसपासँग ३, जनमोर्चासँग १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।

यसैगरी, एमालेसँग २९, माओवादीसँग सभामुख बाहेक १०, जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ जना प्रदेशसभा सदस्य छन् ।

सरकार बनाउन नयाँ गठबन्धनलाई एक जना प्रदेशसभा सदस्य संख्या कमी छ तर माओवादीबाट विद्रोह गरेर स्वतन्त्र जितेका एक सांसद रहेकाले र उनी अहिले पनि अन्त कतै नलागेकाले गठबन्धनले बहुमत साथ पाउने हिसाब गरेर बसेका छन् ।

त्यसमाथि ४ सांसद रहेको नाउपाका २ सांसद समेत नयाँ गठबन्धनमा सकारात्मक भएकाले उनीहरूको पनि साथ पाउने दाबी दलहरूको छ । तर मुख्यमन्त्री चौधरीले नयाँ गठबन्धनलाई चुनौती दिन साना दललाई आफ्नो पक्षमा पार्ने अन्तिम प्रयास गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर