नाउपाबाट निकालिएका गण्डकी अध्यक्ष भन्छन्- हाम्रो नेता रेशम हुन्, रञ्जिताले गरेको कारबाहीको तुक छैन – Nepal Press

नाउपाबाट निकालिएका गण्डकी अध्यक्ष भन्छन्- हाम्रो नेता रेशम हुन्, रञ्जिताले गरेको कारबाहीको तुक छैन

पोखरा । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले दुई प्रदेश अध्यक्षलाई कारबाही गरेकी छन् । अध्यक्ष श्रेष्ठले गण्डकी अध्यक्ष राजन गुरुङ र बागमती अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी छन् ।

पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै जनालाई कारबाही गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार जारी पत्रमा उल्लेख छ ।

अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेसम चौधरीबिच पछिल्लो समय नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा भन्नेमा विवाद छ । रन्जिता केन्द्रमा भएको नयाँ सत्ता गठबन्धनमै सहभागी भएर प्रदेशहरूमा सरकार बनाउन चाहिन्छन् भने रेसम काँग्रेससँगै रहन चाहन्छन् ।

कारबाहीमा परेका गण्डकी अध्यक्ष गुरुङले कारबाही गरेको पत्र हावादारी भएको बताए । नाउपाको अध्यक्ष रेसम चौधरी भएको भन्दै रञ्जिाताले कारबाही गर्न नमिल्ने जिकिर गरे । उनै गुरुङसँग नेपाल प्रेसले गरेको कुराकानीको संक्षिप्त अंशः

नाउपाकी अध्यक्षले तपाई र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेको पत्र पठाउनुभएको छ । यसलाई कसरी लिनुभएको छ ?

हामीलाई निष्कासन गर्ने भन्नुभयो । उहाँ को हो ? भन्ने प्रश्न छ हाम्रो । हामीलाई निष्कासन गर्नलाई हाम्रो पार्टीको अध्यक्ष त रेशम चौधरी हो । निर्वाचन आयोगले मान्यता दिओस् नदिओस् । हजारौँ प्रतिनिधिबाट निर्वाचित भएको त रेशम चौधरी हो । १९५ जना त केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले कारबाही गर्ने अधिकारी कहाँबाट आयो । उहाँले कारबाही गरेको पत्र हावादारी गफ हो । यसमा कुनै तुक छैन ।

पत्रमा केन्द्रीय सदस्यलाई अभद्र व्यवहार गरेको भनिएको छ । तपाईँहरूले अभद्र व्यवहार गर्नुभएको हो ?

उहाँले नाम तोकेर हामी दुई जनालाई बागमती र मलाई भन्नुभयो । म केन्द्रीय उपमहासचिव पनि हो । पार्टीमा फरक मत राख्न पाइन्छ । हाम्रो एउटै मात्र कुरा के हो भने उहाँहरू संस्थापक सदस्यहरू २१ जना भन्नुहुन्छ । उहाँले नै महाधिवेशन गर्ने भनेर सही गर्नुभएको छ । महाधिवेशन उद्घाटन उहाँ आफै गर्नुभएको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन उहाँ अध्यक्ष ज्यूले पढ्नुभएको छ ।

रेशम चौधरीको मुद्दा किनारा नलाग्दासम्मलाई वैधानिकता नहोला । तर, पार्टीका १९५ जनाको वैधानिकता थियो होला । उहाँहरू पनि कुनै सहकार्य नगरीकन बैठक बस्ने, जति बेला पनि २१ जना बैठक बस्ने ।

त्यसको विरुद्धमा हाम्रो असहमति हो । त्यही विषयमा हाम्रो त्यस्तो हातपात भएको होइन । केही धकेलाधकेल भएको हो । विमति भएको हो । त्यसलाई उहाँले अतिरञ्जित गरेर सुनियोजित ढङ्गबाट हामीलाई फसाउन खोजिएको हो ।

कारबाही पत्र आइसकेको छ । अब कसरी अगाडि बढ्नुहुन्छ ?

नाउपाको केन्द्रीय अध्यक्ष रेशम चौधरी हो । रन्जिता श्रेष्ठ निवर्तमान अध्यक्ष हो । रेशम चौधरीको आह्वानमा माननीय गङ्गाराम चौधरीले चैत २३ र २४ गते पार्टीको बैठक राख्नुभएको छ । त्यही बैठकको निणर्यमा भर पर्छ । अर्को कुरा रञ्जिता श्रेष्ठ त हाम्रो यो केन्द्रीय महाधिवेशनमा प्रतिनिधिसमेत हुनुहुन्न ।

नाउपामा खास विवाद के हो ? सरकार जाने र नजाने विषयमा विवाद भएको हो ?

हाम्रो विषय त्यो होइन । यो सबै अतिरञ्जित बनाएको हो । सरकारमा जाने नजाने विषयमा हामीलाई त्यति धेरै चासो छैन । रेसम दाइले जे निणर्य गर्नुहुन्छ, पार्टी अध्यक्षले जे निणर्य गर्नुहुन्छ, निवर्तमान अध्यक्ष रन्जिताज्युले निणर्य गर्नुहुन्छ । हाम्रो त्यसमा विवादै थिएन खास । पार्टी अध्यक्ष रेसम चौधरीले फलानोलाई समर्थन गर्नुपर्ने भन्ने विवादै थिएन ।

हामी त सानो पार्टी जता गए राम्रो हुन्छ त्यतै गइन्छ । त्यसमा दुई मत नै छैन । तर, जे कुरा पनि पार्टीमा छलफल भएर अगाडी बढ्नुपर्यो । हामी सबैले सहमति गरौँ सुदूरपश्चिम प्रदेशमा हामीले काँग्रेसलाई समर्थन गरेका छौँ । तुरुन्तै फिर्ता लिन्छौँ भनेर रेसम चौधरीले भन्नुभयो । उहाँ (रन्जिता) ले एउटा कुरा सहमति गर्नुहुन्छ । एक छिनमा हुन्न भन्नुहुन्छ । माथिबाट उचालिएको मात्रै हो

तपाईँ केन्द्रीय उपमहासचिव पनि हुनुहुन्छ । खास नाउपाको बटम लाइन के हो सरकारमा जाने की प्रतिपक्षमा बस्ने ?

अहिले नै प्रष्ट भन्नुपर्दा हाम्रो केन्द्रीय कमिटीको २३ र २४ गतेको बैठकले जे निणर्य गर्छ । त्यही निणर्य लागु हुन्छ । भर्खरै प्रधानमन्त्रीज्यूसँग पनि छलफलमा बसियो । छलफल सकाएर आयौँ । उहाँलाई पनि यही भनेका छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर