सहकारीलाई बलियो बनाएर लैजान आवश्यक कानून बनाउन सरकार प्रतिवद्ध छ : मन्त्री गिरी – Nepal Press

सहकारीलाई बलियो बनाएर लैजान आवश्यक कानून बनाउन सरकार प्रतिवद्ध छ : मन्त्री गिरी

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीलाई बलियो बनाएर लैजानका लागि आवश्यक नीति र कानून बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा झापामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले सहकारी आन्दोलन नेपालमा भुँइ मान्छेहरुले चलाएको आन्दोलन भएकाले कसैले हमला गर्दैमा नसिद्धिने बताए । केही सहकारीले गरेका गल्तीलाई देखाएर समग्र सहकारी अभियान कमजोर बनाउनेगरी हमला भइरहेपनि प्रयास सफल नहुने उनले बताए ।

‘यो कुनै शासनले ल्याएको अभियान होइन । गरिब जनताले, सिमान्तकृत जनताले एक ठाउँमा बसेर आफ्नै उन्नतीका निम्ति, देशको अर्थतन्त्रमा योगदान गर्ने उद्देश्य बोकेर सुरु भएको हो । बेला– बेलामा सहकारी आन्दोलनमाथि विभिन्न हमला हुन्छ । तर डराउनुपर्दैन । यो क्षेत्रलाई कुनै कमी–कमजोरी छन् भने सच्याउनुपर्छ’, उनले भने ।

सुशासन कायम गर्न सहकारीका प्रत्येक सदस्य प्रतिबद्ध हुनुपर्ने उनले बताए । ‘सहकारीले मानिसको जीवनमा परिवर्तन ल्याएर देशको समग्र अर्थतन्त्रलाई परिवर्तन गर्नसक्छ । तर यसका सदस्यहरु सुशासनमा प्रतिवद्ध हुनैपर्छ’, उनले भने, ‘केही सञ्चालकहरुले प्लटिङ, हाउजिङ, ठूला करोबारलगायत नियम र मर्मविपरीतका काम गरेर सहकारी डुबाइरहेका छन् । यस्तालाइ कानूनी दायरामा ल्याउनुपर्छ ।’

केही समूहहरु जनता भड्काएर अराजकता फैलाउन उद्दत रहेकाले उनीहरुबाट पनि सतर्क रहनुपर्ने मन्त्री गिरीले बताए । ‘केही मानिसहरुले ऋणीहरुलाई ऋण तिर्नुपर्दैन भनेको छन् । ऋण नतिरी बस्नुू सबैभन्दा ठूलो गल्ती हुनेछ । समयमै ऋण नतिर्दा भोलि ब्याज हर्जनासमेत तिर्नुपर्ने हुन्छ । यतिबेला ऋण तिर्नुपर्दैन भनेर उकास्नेहरु त्यतिबेला भागिसकेका हुनेछन् । त्यस्तासँग सबै जनता सतर्क रहनुपर्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर