नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने वर्ल्ड बैंकको प्रक्षेपण – Nepal Press

नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने वर्ल्ड बैंकको प्रक्षेपण

काठमाडौं । नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण वर्ल्ड बैंकले गरेको छ ।

पर्यटन क्षेत्रको विकास र जलविद्युतको निर्यातमा भएको वृद्धिका कारण नेपालको अर्थतन्त्र चालू वर्ष ३.३ प्रतिशत रहने प्रक्षेपण वर्ल्ड बैंकको छ । तर सरकारले चालू आर्थिक वर्ष भने ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो ।

विश्व बैंकले अर्धवार्षिक रूपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेलभपमेन्ट अपडेट’का अनुसार विप्रेषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोग समेत बढ्नेछ ।

‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक दिएर तयार गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक बर्ष २०२५ मा थप ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ ।

यद्यपि यो प्रक्षेपण निकै चुनौती रहेको वर्ल्ड बैंकले भनेको छ । भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरूको सुस्त आर्थिक वृद्धिले भने रेमिट्यान्स र पर्यटन आगमन घट्न सक्ने बताइएको छ ।

पुँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्त्वपूर्ण रहेको छ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले भने ।

नेपाल डेभलपमेन्ट अपडेट साउथ एसिया डेभलपमेन्ट अपडेटसँग समानान्तर रूपमा तयार गरिएको हो, जसले दक्षिण एसियाली क्षेत्रको आर्थिक विकास र दृष्टिकोणको परीक्षण र मुलुकहरूले व्यहोर्नुपरेका नीतिगत चुनौतीहरूको विश्लेषण गर्छ ।

‘उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको अप्रिल २०२४ को यस संस्करणले विश्वका कुनै पनि उदाउँदा बजारहरू र विकासशील मुलुकहरूमध्ये दक्षिण एसियाको वृद्धि सबैभन्दा उच्च देखाएको छ, जुन् सन् २०२४ मा ६ प्रतिशत र सन् २०२५मा ६.१ प्रतिशत हुने अनुमान गरिएको छ । तर प्रतिवेदनले यो दृष्टिकोण (अनुमान) झुक्काउने खालको पनि हुन सक्ने जनाएको छ ।

धेरै मुलुकहरूको वृद्धि अझैपनि महाव्याधि पूर्वको तहभन्दा अझै कम रहेको र सार्वजनिक खर्चमा बढी निर्भर रहनुपरेको छ ।

यसै समय, सबै दक्षिण एसियाली मुलुकहरूमा निजी लगानी वृद्धिमा सुस्तता आएको छ र यस क्षेत्रले तीव्र रूपमा बढ्दो काम गर्ने उमेरको जनसंख्याका लागि पर्याप्त जागिरहरू सिर्जना गर्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर