जेठभित्र एमाले लुम्बिनीका जिल्ला अधिवेशनको मिति तय, अधिकांश विभागले बनाए कार्ययोजना – Nepal Press

जेठभित्र एमाले लुम्बिनीका जिल्ला अधिवेशनको मिति तय, अधिकांश विभागले बनाए कार्ययोजना

रुपन्देही । नेकपा (एमाले)लुम्विनी प्रदेशका विभागहरुको बैठकले कार्ययोजना निर्माण गर्नुका साथै कार्यविभाजन गरेका छन् । विभिन्न मितिमा सपन्न बैठकहरुले त्यसप्रकारका निर्णय गरेका हुन् ।

अहिलेसम्म प्रचार तथा प्रकाशन, स्कुल, अर्थ तथा योजना, उद्योग, वाणिज्य तथा आपूर्ति, उपभोक्ता हित संरक्षण तथा सुशासन, कृषि तथा पशुपन्छी, पुस्तकालय तथा अभिलेख, निर्वाचन, पर्यटन तथा नागरिक उड्डयन, भूमि ब्यवस्था, भौतिक पूर्वाधार तथा यातायात, युवा तथा खेलकुद, बन तथा वातावरण, वित्त तथा कोष व्यवस्थापन, विपद् व्यवस्थापन तथा स्वयंसेवा, विज्ञान तथा प्रविधि, शिक्षा तथा मानव श्रोत व्यवस्था, श्रम तथा रोजगार, संगठन, संघीय मामिला तथा प्रशासन, सामाजिक सेवा, सामाजिक सुरक्षा तथा समाज कल्याण, सहकारी तथा गरिवी निवारण, सहरी विकास, स्थानीय तह विकास र स्वास्थ्य तथा जनसंख्या विभागका बैठक बसेका छन् ।

प्रचार तथा प्रसार कार्यलाई व्यवस्थित गर्नका लागि वार्षिक कार्ययोजना वनाइएको छ र एकपटक १२ वटै जिल्लामा अभिमुखीकरण गर्नुका साथै जिल्लास्तरमा पनि कार्ययोजना बनाएर अघि बढ्ने नीति तय गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख डीआर घिमिरेले बताए ।
पार्टीको आर्थिक व्यवस्थापन अत्यन्तै महत्वपूर्ण भएकोले यसको व्यवस्थापनका लागि दीगो धारणा बनाइएको छ, प्रमुख सूर्यबहादुर भट्टराईले भने ।

स्कुल विभागले पार्टी सदस्यहरुको परीक्षा सञ्चालन गरेर कार्ययोजनाको प्रारम्भ गरिसकेको विभागीय प्रमुख भोजप्रसाद श्रेष्ठले बताए । सबै विभागहरुले कार्ययोजना अनुरुप अगाडि बढ्ने नीति अख्तियार गर्न थालेका छन् । यद्यपि कतिपय विभागहरुको बैठक बस्न भने सकेको छैन ।
अहिलेसम्म २६ वटा विभागको बैठक बसेको भएपनि कानुन, ऊर्जा, जलश्रोत तथा सिंचाई, साहित्य, कला तथा सस्कृति, संसदीय र खानेपानी तथा सरसफाई विभागहरुका बैठक बसेका छैनन् । पार्टीले सर्कुलर गरेर फागुन १५ गतेभित्र विभागहरुको बैठक बस्न भनेकोले बाँकी विभागहरु बैठक अविलम्व बस्न भनिएको छ, पार्टी अध्यक्ष राधाकृष्ण कँडेलले भने ।

यसबीचमा जनसंगठन समन्वय संयन्त्रको बैठक एवं राष्ट्रिय जनसाँस्कृतिक महासंघको विस्तारित बैठक बसेको छ । त्यस्तै पेशागत महासंघको प्रदेशस्तरीय प्रशिक्षण र लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अधिवेशन पनि सम्पन्न भएका छन् ।

विभागहरुको बैठक तथा कार्ययोजना निर्माणले पार्टीलाई जनस्तरमा स्थापित गर्नुका साथै सम्पूर्ण कार्यकर्ताहरु सक्रिय रहेको देखिन्छ, प्रचार प्रसार विभाग प्रमुख घिमिरेले बताए ।

विभिन्न जिल्लाका अधिवेशन मिति तय

नेकपा एमाले रोल्पा जिल्लाको अधिवेशन चैत्र २९ र ३० गते, बर्दियाको अधिवेशन वैशाख १४ र १५ गते, बाँके जिल्लाको अधिवेशन जेठ २ र ३ गते तथा जेठ १६ र १७ गते रुपन्देही जिल्लाको अधिवेशन गर्ने निर्णय भइसकेका छन् ।

नेकपा एमाले लुम्विनीको सचिवालय बैठकले जेठ मसान्तभित्र सबै जिल्ला, पालिका, वडा र टोल अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेपछि जिल्ला कमिटीहरुले अधिवेशनको मिति तय गर्न सुरु गरेका छन् । प्रदेश पार्टी अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार अधिवेशनको मिति तय गर्न बाँकी जिल्लाले अविलम्व बैठक बसेर मिति सार्वजनिक गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर