नाउपा अध्यक्ष रञ्जिता भन्छिन्- कसले कसलाई कारबाही गर्ने ? – Nepal Press

नाउपा अध्यक्ष रञ्जिता भन्छिन्- कसले कसलाई कारबाही गर्ने ?

चितवन । नागरिक उन्मुक्ति पार्टीमा भएको विवादलाई पारिवारिक जसरी रेशम चौधरीले सञ्चारमाध्यममा ग्लोरिफाइ गरिरहँदा चौधरीकी श्रीमती एवं पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कुरालाई परिवारसँग जोड्न नहुने बताएकी छन् ।

जापानबाट रेशम फर्किएपछि पनि आफूहरु काठमाडौंमा एकै घरमा बसेको बताउँदै उनले चौधरीको व्यक्तिगत विचारलाई आफूले सम्मान गर्ने बताइन् ।

‘पार्टी हामी दुई जनाको मात्रै होइन, अरु साथीहरु पनि हुनुहुन्छ । उहाँहरुको पनि कुरा सुन्नुपर्छ’, श्रेष्ठले नेपाल प्रेससँग भनिन्, ‘उहाँ (रेशम)ले पनि पार्टीको सदस्यको रुपमा व्यक्तिगत विचार राख्नुभएको हो, उहाँको फरक विचारलाई सम्मान गर्छु ।’

पत्रकार सम्मेलन गरेर आज बिहान केन्द्रीय कार्यालयको बैठकमा रञ्जिताकै पक्षबाट कुटपिट भएको र आफू आत्महत्या गर्ने अवस्थामा पुगेको रेशम चौधरीले बताएका थिए । तर, रञ्जिताले भने बिहान ८ बजे आफूले बैठक बोलाए पनि काम विशेषले एक घण्टा ढिलो पुग्दा त्यहाँ कुटपिट भइसकेको थाहा पाएको बताइन् ।

‘म घटना हुँदा त्यहाँ थिइनँ । पछि पुगेर थाहा पाएको हुँ । कसरी कसलाई कारबाही गर्ने छानबिन गरौं’, उनले भनिन्, ‘म पुगेर कुरा गरौं भन्दा उहाँहरु पत्रकार सम्मेलन गर्छौं भनेर उठ्नुभयो ।’

पार्टीभित्रको विवाद संघ, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने नहुनेको मात्रै भएको श्रेष्ठको दाबी छ । राजनीतिक विषयमा भएको विवादलाई परिवारको विषयको रुपमा नलिनसमेत उनले आग्रह गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर