११ सचिवको सरुवा हुँदा मधेश र बागमती प्रदेश प्रमुख सचिवविहीन – Nepal Press

११ सचिवको सरुवा हुँदा मधेश र बागमती प्रदेश प्रमुख सचिवविहीन

काठमाडौं । सरकारले एकै पटक ११ जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, कार्यालय तथा प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश प्रमुख सचिव गरेर ११ जना सचिवको सरुवा गरेको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउतको उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयमा उद्योग सचिवमा सरुवा हुँदा त्यहाँ कार्यरत सचिव मुकुन्दप्रसाद निरौलाको उपराष्ट्रपति कार्यालयमा सरुवा भएको छ ।

उपराष्ट्रपति कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा (जनसंख्या तथा प्रशासन) सचिवमा सरुवा भएको छ । स्वास्थ्य मन्त्रालयमा जनसंख्या तथा प्रशासन सचिवको जिम्मेवारीमा रहेकी देवकुमारी गुरागाईं पाँच वर्षे सचिवको कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा गइसकेकी छन् । सहसचिवबाट सचिव भएका बुर्लाकोटीले पहिलो पटक मन्त्रालयमा सचिवको जिम्मेवारी पाएका हुन् ।

यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थको निर्वाचन आयोगमा सरुवा भएको छ । निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतम पनि अनिवार्य अवकाशमा गइसकेका छन् ।

बागमती प्रदेश सरकारका प्रमुख सचिव घनश्याम उपाध्यायको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा भएको छ । श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी पनि पाँच वर्षे सचिवको कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा गइसकेका छन् ।

मधेस प्रदेश सरकारका प्रमुख सचिव दिनेशकुमार घिमिरेको उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयमा (वाणिज्य) सचिवमा सरुवा भएको छ । उक्त जिम्मेवारीमा रहेका सचिव नारायणप्रसाद शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ऊर्जा सचिवमा सरुवा हुँदा त्यहाँ कार्यरत सचिव गोपालप्रसाद सिग्देलको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जलस्रोत तथा सिंचाइ सचिवको जिम्मेवारीमा रहेका सुशीलचन्द्र तिवारीको जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएको छ । त्यहाँ कार्यरत सचिव सरिता दवाडीको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जलस्रोत तथा सिंचाइ सचिवमा सरुवा भएको छ ।

११ जना सचिव सरुवा गरिँदा मधेश र बागमती प्रदेश प्रमुख सचिव पद भने खाली राखिएको छ । सम्भवतः अब सहसचिवबाट सचिवमा बढुवा भएकालाई यहाँ पठाउने सरकारको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर