नेतृत्व विवादले भट्टराई बन्धुको महाधिवेशनमा तनाव, मञ्चमै भयो हात हालाहाल – Nepal Press

नेतृत्व विवादले भट्टराई बन्धुको महाधिवेशनमा तनाव, मञ्चमै भयो हात हालाहाल

चितवन । भट्टराई कुल वंश प्रतिष्ठानको महाधिवेशनमा नेतृत्वको विवादले चर्को रूप लिएको छ । महाधिवेशनका क्रममा मञ्चमै भट्टराई बन्धुहरुबीच हात हालाहाल भयो ।

प्रतिष्ठानको महाधिवेशन गत शुक्रवार र शनिवार चितवनस्थित देवघाटमा आयोजना भएको थियो । महाधिवेशनबाट यसअघिका अध्यक्ष दमकका शेरबहादुर भट्टराईले आफ्नो कार्यकाल दोहोर्‍याउन चाहेका थिए । उनलाई चुनौत दिँदै सुनसरीका दिनेशप्रसाद भट्टराईले पनि अध्यक्षमा दाबी गरेका थिए ।

अहिले उपाध्यक्ष घोषित भएका चितवनका राष्ट्रिय उपाध्यक्ष टीकाराम भट्टराईका अनुसार १ सय ७० सदस्यीय कार्यसमितिमा बस्न इच्छुकहरुबीच लिखित उम्मेदवारी र सहमतिमा आउने प्रतिबद्धता पेश गर्न भनिएको थियो ।

अध्यक्ष, सहअध्यक्ष, उपाध्यक्षसहित १४ पदाधिकारीसहितका इच्छुक भट्टराई बन्धुहरूले लिखित आकांक्षा व्यक्त गरे । उनीहरूका आकांक्षा संकलन गरेर निर्वाचन गराउने जिम्मेवारी युवराज भट्टराईको नेतृत्वमा रहेको निर्वाचनको मण्डलको थियो ।

१७ गते निर्वाचन मण्डलले लिखित आकांक्षा लिइसकेपछि नयाँ कार्यसमिति घोषणाअघि सातै प्रदेश संयोजकहरूसँग छलफल गरी सर्वसम्मत गराउने तयारी गरेको थियो । उक्त समिति घोषणाअघि छलफल हुँदाहुँदै निर्वाचन मण्डलले शेरबहादुरकै नेतृत्वमा तीन वर्षको कार्यसमिति प्रस्ताव गर्‍यो । त्यसपछि सुनसरीका दिनेशप्रसाद भट्टराई र दमकका दुर्गा भट्टराईलगायतले भौतिक प्रतिवाद गरे ।

देवघाटको हरिकीर्तन दैविक धर्मशालाको हलमा भएको छलफलका क्रममा उनीहरू मञ्चमै चढेर निर्वाचन मण्डलका संयोजकको हातमा रहेको कागज थुतेर च्यातचुत पारिदिए । त्यसपछि दुई पक्षबीच हात हालाहाल भएको थियो ।

भट्टराई बन्धु समाज चितवनका अध्यक्ष लीलाधर भट्टराईले नेपाल प्रेससँग कुरा गर्दै बागमती प्रदेश सहसचिव अग्नि भट्टराईले कागज आफूले च्यातेको भनेर सार्वजनिक रूपमै स्वीकारेको बताए । ‘विद्रोही’ टोलीले भने नेतृत्व हस्तान्तरणको माग गर्दा लफडा भएको दाबी गरेको छ ।

अन्त्यमा शेरबहादुरलाई नै अध्यक्ष घोषणा गरिएको छ । विद्रोही पक्षले पनि थप विवाद गर्न चाहेनन् । घटनालाई लिएर कतै उजुरबाजुर पनि गरिएको छैन ।

भट्टराई बन्धुहरुको महाधिवेशन हरेक तीन-तीन वर्षमा आयोजना हुन्छ । यसअघिको महाधिवेशन पोखरामा भएको थियो ।


प्रतिक्रिया

2 thoughts on “नेतृत्व विवादले भट्टराई बन्धुको महाधिवेशनमा तनाव, मञ्चमै भयो हात हालाहाल

  1. थुक्क बेइज्जतीहरु ! न्यून सान्सकृतिक चेत भयेका चोरहरु । नेपालीहरुको स्तर कहाँ छ यसले देखाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *