प्रदेश सरकार निर्माणमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह लिङदेनद्वारा अस्वीकार – Nepal Press

प्रदेश सरकार निर्माणमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह लिङदेनद्वारा अस्वीकार

लिङ्देनलाई फकाउँदै प्रचण्डले भने- केपीजी र मैले राप्रपालाई ‘प्रतिगामी’ भनेर सरकारमा नलैजाने कुरा गरेका छैनौं

काठमाडौं । व्यवस्था परिवर्तनको एजेन्डा लिएर सडक संघर्षमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई हालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रदेखि प्रदेश सरकारमा सहभागी हुन अफर गरेको खुलासा भएको छ ।

नयाँ गठबन्धन निर्माण गर्दा राप्रपालाई उपेक्षा गरेका प्रधानमन्त्री आफैँले बोलाएर लिङ्देनलाई भेटेको स्रोतले बतायो ।

राप्रपा स्रोतका अनुसार गत १५ चैतमा प्रधानमन्त्री प्रचण्ड र लिङ्देनबीच भेटवार्ता भएको थियो । उक्त वार्तामा प्रधानमन्त्रीले राप्रपालाई केन्द्र सरकारमा सहभागी हुन ढोका खुला रहेको बताए । राप्रपा सरकारमा आउन तयार भएमा पहिले लिएकै मन्त्रालयहरू दिन सक्ने उनको आश्वासन थियो ।

तर, लिङ्देनले प्रधानमन्त्रीको अफर अस्वीकार गरेका छन् । उनले आफ्नो पार्टी आन्दोलनमा रहेकाले सरकार प्राथमिकतामा नरहेको स्पष्ट पारेका थिए ।

‘हामी अहिले सरकारमा जाँदैनौँ । सरकारलाई बाहिरबाट समर्थन गर्ने स्थिति पनि छैन,’ लिङदेनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

नयाँ सत्ता गठबन्धन बन्ने बेला प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच राप्रपा प्रतिगामी शक्ति भएकाले गठबन्धनमा समावेश नगर्ने सहमति भएको समाचार सार्वजनिक भएको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा लिङदेनले सो प्रसङ्ग कोट्याएका थिए । प्रधानमन्त्रीले भने त्यस्तो सहमति नभएको जिकिर गरे ।
‘त्यस्तो समाचार कसरी आयो म अचम्मित छु,’ दाहालले भने, ‘त्यो बिल्कुल झूटो हो । केपीजी र मबीच त्यस प्रकारको कुराकानी भएकै छैन ।’

प्रधानमन्त्रीले लिङ्देनलाई भेट्नुमा उनको मुख्य स्वार्थ चाहिँ प्रदेश सरकार थियो । कम्तीमा दुई वटा नयाँ गठबन्धनको सरकार निर्माणका लागि राप्रपा निर्णायक पोजिसनमा देखिन्छ । ती प्रदेश हुन् गण्डकी र बाग्मती ।

गण्डकीमा ६० प्रदेशसभा सदस्य रहेकोमा सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । यहाँ एमालेका २२ र माओवादीका सभामुखसहित ८ सांसद छन् । त्यसैले उनीहरूलाई दुई सिट अपुग हुन्छ । त्यहाँ राप्रपासँग २ सिट छ, जुन निर्णायक हो । राप्रपाले काँध थापे कांग्रेस नेतृत्वको सरकार जोगिन सक्छ । नयाँ गठबन्धनलाई साथ दिए अर्को सरकार बन्न सक्छ ।

बाग्मतीमा हाल ११० जना प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि ५६ सांसद चाहिन्छ । यहाँ एमालेको २७, माओवादीको २१, नेकपा एसको ७ सिट छ । राप्रपा १२ सिट सहित बाग्मती प्रदेशको बलियो शक्ति हो । त्यसैले राप्रपाले नयाँ गठबन्धनलाई साथ दिए आरामसँग नयाँ सरकार बन्न सक्छ ।

तर, राप्रपाले यो गठबन्धनलाई साथ दिने सम्भावना नरहेको पार्टी स्रोत बताउँछ । लिङदेनले पनि प्रधानमन्त्रीलाई असमर्थता जाहेर गरेका छन् । उनले आफ्नो पार्टी कुनै पनि तहको सरकारमा तत्काल सहभागी नहुने जनाउ दिए ।

स्रोतका अनुसार राप्रपा अहिले एमाले–माओवादी गठबन्धनभन्दा कांग्रेससँग दूरी घटाउने रणनीतिमा छ । जसअनुसार कांग्रेस नेतृत्वको गण्डकी सरकार जोगाउन पार्टीले भूमिका खेल्न सक्ने स्रोतले बतायो ।

‘यो गठबन्धनले नेतृत्व गरेका प्रदेश सरकारमा राप्रपा सहभागी नहुने मात्र होइन, समर्थन पनि गर्दैन,’ स्रोतले भन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर