कोशीका सांसद सचिनलाई प्रश्न- गठबन्धन फेरिएपछि पनि माओवादीले किन सरकार नछाडेको ? – Nepal Press
नेपाल टक

कोशीका सांसद सचिनलाई प्रश्न- गठबन्धन फेरिएपछि पनि माओवादीले किन सरकार नछाडेको ?

विराटनगर । केन्द्रीय तहमा सत्ता समीकरण बदलिएको एक महिना बितेसँगै प्रदेशमा पनि सरकार हेरफेरका गृहकार्य भइरहेको छ । तर, कोशीको परिवेश अलि पेचिलो बन्दै गएको छ । नेपाली कांग्रेसका केही सांसदसहित विद्रोह गरेर मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन नयाँ गठबन्धनका दलहरू माओवादी र नेकपा एसले फिर्ता लिएका छैनन् । कार्कीले पनि उनीहरूलाई आफूले बर्खास्त नगर्ने बताइरहेका छन् ।

फेरिएको सत्ता गठबन्धनअनुसार माओवादीले किन नयाँ सरकार बनाउन चासो दिएको छैन त ? यीनै सन्दर्भमा कोशीका सांसद दुर्गाप्रसाद चापागाईँ ‘सचिन’ सँगको कुराकानी

– कोशीमा माओवादी किन अहिलेसम्म सरकारमा बसिरहेको हो ?

केन्द्रको नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशको सत्ता समीकरणबारेमा छलफल चाहिँ सुरू भएको छ । तर, प्रदेशको भागबन्डाको औपचारिक निर्णय हुन बाँकी नै छ । अनौपचारिक रूपमा कुरा हुने एउटा भो तर केन्द्रीय स्तरबाट यसको औपचारिक निर्णयसँगै सबै प्रदेशमा नयाँ साता गठबन्धनअनुसार सरकार गठनको प्रक्रिया अगाडि बढ्छ । र, कोशीमा पनि त्यहीअनुसार नै प्रक्रिया अगाडि बढ्छ ।

– त्यसको मतलब केन्द्रबाट शीर्ष नेताको निर्णय पर्खेर बस्नुभएको हो ?

हो, केन्द्रको निर्णय नै अहिलेसम्म कुरिरहेको हो । केन्द्रले औपचारिक निर्णय गरी कोशी प्रदेश सरकारको नेतृत्व कुन पार्टीले गर्ने भन्ने कुरा टुंगिए पछाडि मात्रै ठोस सरसल्लाह हुन्छ ।

– प्रदेशमा सरकार बदल्नेबारे सांसदहरूबीच सल्लाह भएको छैन ?

विभिन्न विकल्पबारे छलफल त भइरहेकै छ, तर अन्य प्रदेशको भन्दा कोशी प्रदेशको मामिला अलि फरक हो । र, अब संवैधानिक हिसाबले, कानूनी र राजनीतिक हिसाबले पनि कोशी प्रदेशमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा थुप्रै छलफल भएका छन् । तर, कसको नेतृत्वमा सरकार बन्छ, उसले नै बढी पहलकदमी लिनुपर्ने भएकोले सम्बन्धित पार्टी वा नेतृत्वको पहलमा व्यवस्थित छलफल अगाडि बढ्छ ।

– नयाँ सरकार बनाउन माओवादीले सत्ताबाट बाहिरिएर मार्ग प्रशस्त गर्नुपर्ने होइन र ?

कुन प्रक्रियाबाट कसरी अगाडि जाने भन्ने सन्दर्भमा प्रदेशहरूको भागबन्डासँगै त्यसको नेतृत्व गर्नेहरूसँग आवश्यक परामर्श र केही कानूनी परामर्शपछि मात्रै कोशीको सन्दर्भमा कसरी अगाडी बढ्ने भन्ने तय हुन्छ ।

-कहिलेसम्ममा नयाँ सरकार बन्ला त ?

ठ्याक्कै समय त भन्न सक्दिनँ, तर अरु प्रदेशमा जसरी प्रक्रिया सुरू हुन्छ कोशीको सन्दर्भमा पनि अगाडि बढ्छ ।

– कोशी सरकारको नेतृत्व एमालेले पाउला कि माओवादीले ?

यो चाहिँ केन्द्रले नै टुंग्याउने विषय भएका हिसाबले अहिले यसै भन्न सकिएन ।

– यसको मतलब मुख्यमन्त्रीमा माओवादीको दाबी छैन हो ?

दाबी त स्वाभाविक हिसाबले हुने भइहाल्यो । सत्ता साझेदार सबै दलहरूको तर्फबाट नै दाबी हुनसक्छ तर अन्तिम निर्णय चाहिँ केन्द्र नै सर्वोपरी हुन्छ । केन्द्रीय गठबन्धन नेतृत्वले जसको नेतृत्व टुंग्याउँछ, त्यसलाई कार्यान्वयन गर्नु गठबन्धनमा रहेका सबै दलका प्रदेशस्तरीय नेतृत्वको पहिलो कर्तव्य हुन आउँछ ।

– तर, कोशीको नेतृत्व माओवादीले गर्ने तत्कालीन केन्द्रीय गठबन्धनको निर्णयविपरीत केदार कार्की मुख्यमन्त्री हुँदा पनि तपाईँहरू निरीह हुनुभो नि !

अब त्यो र त्यस्ता परिघटना दोहोरिदैन क्या ! गठबन्धनमा अब बिश्वासको वातावरण बन्छ र सहजरूपमा प्रक्रिया अगाडि बढ्छ ।

– अहिलेको गठबन्धन दिर्घकालीनरूपमा अगाडि जान्छ भनेर कसरी पत्याउने ?

अहिलेको यो (गठबन्धन) चाहिँ दीर्घकालीन हिसाबले अगाडि बढ्नुपर्ने आवश्यकता छ । र, नेताहरूको पनि कन्फिडेन्स लेबल हेर्दा पनि यो अलि दीर्घकालीन हिसाबले नै व्यवस्थितरूपमा अगाडि बढ्ने आभाष पाउँछौं र त्यो अहिलेको आवश्यकता पनि हो । नेताहरूको कन्फिडेन्स लेबल हेर्दा पनि यो गठबन्धन दीर्घकालीन हिसाबले नै अगाडि बढ्ने आभाष पाउँछौं । र, त्यो अहिलेको आवश्यकता पनि हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर