आलितालले जित्यो कैलाली प्रिमियर लिगको उपाधि – Nepal Press

आलितालले जित्यो कैलाली प्रिमियर लिगको उपाधि

कैलाली । धनगढीमा सम्पन्न दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको छ ।

शनिबार भएको फाइनलमा डडेल्धुराकै परशुराम नगरपालिकामाथि १ विकेटको रोमाञ्चक जीत निकाल्दै आलितालले उपाधि जित्यो । आलितालले उपाधिसँगै २ लाख पुरस्कार पायो । परशुराम १ लाख नगद पुरस्कारमा चित्त बुझाउन बाध्य भयो ।

जीतका लागि १११ रनको लक्ष्य आलितालले १८.१ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्‍यो । जसमा दिलबहादुर बोहराले ३० र राजु रिजालले २२ रनको योगदान गरे । परशुरामका महेन्द्र धामीले ३ र कृष्ण विष्टले २ विकेट लिए ।

फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको परशुराम १०७ रनमा समेटियो । उसका लागि यश कठायतले ३२ र मान साउदले २१ रन जोडे ।

आलितालका हिक्मत महरा र निरज ऐरले ३–३ विकेट झारे । हिक्मत म्यान अफ द फाइनल चुनिए ।

आलितालका दिलबहादुर बोहरा म्यान अफ द सिरिज, परशुरामका राज बिक वेस्ट ब्याटर, कृष्ण विष्ट वेस्ट बलर र अर्जुन बिक उदीयमान खेलाडी घोषित भए ।

विजेता, उपविजेता र अन्य खेलाडीहरूलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, परशुराम नगरपालिकाका मेयर भरत बुढाएर जोशी, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशी, क्यानका केन्द्रीय सदस्यद्वय धीरेन्द्र साउद र वीरेन्द्र चन्दलगायतले पुरस्कार वितरण गरेका थिए ।

समापन समारोहमा क्यानका अध्यक्ष चन्दले क्रिकेटको विकासका लागि आफू लागिपरेको बताए ।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा चैत ५ गते सुरु भएको प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाको सहभागिता थियो । प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर