क्यासिनोसँगै टाइगर प्यालेस रिसोर्ट पूर्ण सञ्चालनमा – Nepal Press

क्यासिनोसँगै टाइगर प्यालेस रिसोर्ट पूर्ण सञ्चालनमा

रूपन्देही । लामोसमय क्यासिनो बन्द रहेको रूपन्देहीको तिलोत्तमा–१५, स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टमा शुक्रबारदेखि क्यासिनो संचालनमा आएपछि होटल पूर्ण सञ्चालनमा आएको छ ।

अमेरिका रहेका गैरआवासीय नेपालीले खरिद गरेको यो रिसोर्ट लामो समय संचालनको अन्योलतामा परेको थियो । शुक्रबार साँझ पर्यटन सरोकारवाला र पाहुनाको सहभागितामा ‘टाइगर इज ब्याक’ नारासहित क्यासिनोको पुनः सुरुवात गरिएको छ।

यसअघि दक्षिण एसियामै क्यासिनो खेलका लागि आर्जन गरेको ख्यातिलाई कायम राख्ने गरी नयाँ व्यवस्थापनले क्यासिनोसँगै रिसोर्ट पूर्ण सञ्चालनमा ल्याएको लगानीकर्ताले दावी गरेका छन् ।

क्यासिनोको सुरुवातमा एक दजर्नभन्दा बढी भारतीय कलाकारले प्रस्तुति दिएका थिए । रिसोर्टमा आयोजित क्यासिनोको ‘सफ्ट ओपेनिङ’ कार्यक्रममा स्वदेशी र विदेशी गरेर ५ सयभन्दा बढीको सहभागिता थियो ।

जिल्लामा पहिलो पटक वैदेशिक लगानीमा सात वर्षअघि पाँचतारे रिसोर्ट सञ्चालनमा आउँदा यहाँका लगानीकर्ता र पर्यटन व्यवसायी उत्साहित भएपनि विभिन्न विवादका कारणले रोकिएको थियो ।

अस्ट्रेलियन स्टक एक्सचेन्जमा सूचीकृत सिल्भर हेरिटेज ग्रुपले ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर रिसोर्ट सञ्चालनमा ल्याएको थियो । व्यापारिक सफलतासँगै लगानीकर्ता सिल्भर हेरिटेज ग्रुपले पूर्वको झापा र सुदूरपश्चिममा नयाँ रिसोर्ट सञ्चालनको तयारी गरेको थियो ।

‘त्यहिबेला रिसोर्टको जग्गा र आन्तरिक विवाद बढ्यो,मुलुकको राजनीतिक अस्थिरता, मजदुर संघर्ष र लगानीकर्ताबीच बेमेलले समस्या सिर्जना भयो ।’ एक व्यवसायीले भने । आन्तरिक मतभेद बढिरहेका बेला मुलुकमा कोरोना महामारी र लगानीकर्ताबीचको विवादपछि होटल र क्यासिनो बन्द भएको थियो ।

समस्याग्रस्त भएर थेग्न नसक्ने अवस्थापछि लगानीकर्ता कम्पनीले रिसोर्ट बिक्री गर्न खोजेपनि रोकिएको थियो । एक वर्षसम्म धेरै व्यक्ति र कम्पनीले प्रयास गरे पनि रिसोर्टको जग्गा विवाद र मजदुर समस्याका कारण खरिदबिक्री सम्झौता पूर्ण भएनन् ।

खिचातानीको बीचमा अमेरिकाको डेलावेयरमा दर्ता रहेको हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सिल्भर हेरिटेज कम्पनी खरिद गर्ने निर्णय गर्‍यो । खरिदबिक्री सम्झौतासँगै सिल्भर हेरिटेजका नाममा रूपन्देहीमा रहेको टाइगर प्यालेस रिसोर्ट र क्यासिनो, झापास्थित १२ बिघा जमिन, काठमाडौंको सांग्रिला होटलमा सञ्चालनमा रहेको मिलेनियर क्लब क्यासिनो हिमालय टाइगर इन्भेस्टमेन्ट इंकको स्वामित्वमा आयो ।
टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले डुब्न लागेको रिसोर्ट किनेर चलाउन थालेको बताए ।

‘यति लगानी हामीले उतै गरेको भए तत्काल मुनाफा हुनेथियो तर देशमै केही लगानीको वातावरण बनाउन रिक्स लिएका हौ, यसमा देखिएका चुनौती स्वीकार गर्ने कोही भएन, खरिदको प्रयास गरेर छाड्ने धेरै भए । तुरुन्त रेस्क्यु नगरे सम्पत्ति खेर जाने अवस्थामा थियो’ उनले भने ।

आफ्नो कम्पनीले खरिद गरेपछि रिसोर्टका ९० प्रतिशत समस्या समाधान भइसकेको उनले बताए । विकसित देशमा हस्पिटालिटीमा सफल प्रयोगलाई यहाँ प्रयोग गर्ने लगानीकर्ताको भनाइ रहेको छ । यो सँगै रूपन्देहीमा ६ वटा क्यासिनो संचालनमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर