लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने – Nepal Press

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरू पनि ‘शो केस’ मा राखिने भएको छ ।

अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए ।

अर्थमन्त्री पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन बढी मन्त्री र मुख्यमन्त्रीहरूसँग अन्तरक्रिया गरेका थिए । त्यस क्रममा उनले हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनौट गरी लगानी सम्मेलनमा समावेश गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरे ।

त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिक स्तरका आयोजनाहरूको तयारीबारे अन्तर्क्रिया भएको थियो ।

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना प्रदेशमा लगानीका लागि सम्भाव्य आयोजनाहरूबारे जानकारी गराए ।

जलविद्युत, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने उनीहरूले बताए । निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूले औँल्याएका विद्यमान केही कानूनमा संशोधन तथा विदेशी लगानीकर्तालाई मुनाफा लैजान सकिने आधार तय गर्नुपर्ने सुझाव मुख्यमन्त्रीहरूको थियो । उनीहरूले प्रदेश स्तरका केही ठूला आयोजना लगानी सम्मेलनमा राख्ने उल्लेख गरे ।

उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह सहभागी थिए ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, वन तथा वातावरणमन्त्री नवलकिशोर साह, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, मुख्यसचिव वैकुण्ठ अर्याल, अर्थ सचिव कृष्णहरि पुष्कर, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मालगायत सहभागी थिए ।

कार्यक्रममा मन्त्री पुनले लगानी वातावरण सुधारका लागि आवश्यक कानूनमा परिमार्जनको प्रक्रिया अघि बढेको जानकारी दिए । उनले गैरआवासीय नेपालीलाई पनि लगानी सम्मेलनमा आउन आह्वान गरिएको बताए ।

‘गैरआवासीय नेपालीहरूलाई पनि लगानी सम्मेलनमा आमन्त्रण गरेका छौँ’, उनले भने, ‘परिस्थितिवश अरू देशको नागरिकता लिएको भए पनि उहाँहरू नेपाली नै हुनुहुन्छ । आफ्नो मातृभूमिमा आएर लगानी गर्न इच्छुक पनि हुनुभएको मैले पाएको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *