हवाई टिकट र पाँचतारे हाेटलमा अतिरिक्त करबारे पुनर्विचार गर्न अध्यक्ष ढकालकाे माग – Nepal Press

हवाई टिकट र पाँचतारे हाेटलमा अतिरिक्त करबारे पुनर्विचार गर्न अध्यक्ष ढकालकाे माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सरकारले लगाएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । अध्यक्ष ढकालले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले अन्तर्राष्ट्रिय हवाई भाडा महंगो भएकाले नेपालमा यात्रा गर्ने विदेशीहरु कम भएकाले पर्यटन व्यवसायमा नकारात्मक असर परेको दाबी गरे ।

उनले सरकारले हवाई टिकटमा गत वर्षको बजेटमार्फत सरकारले व्यवस्था गरेको १३ प्रतिशत अतिरिक्त कर करेक्शन गर्न आवश्यक रहेको बताए । उनले सरकारले रोयल्टीमा ५ प्रतिशत शुल्क लगाउने नीतिले नेपालमा गुणस्तरीय अन्तर्राष्ट्रिय होटलमा लगानी आउन र सञ्चालनमा समेत कठिन भएको बताए ।

उनले भारतीय र गैरआवासीय भारतीय नागरिकहरुको विवाहको इभेन्ट भारत भन्दा बाहिर गर्ने प्रचलन रहेको भन्दै उक्त इभेन्ट नेपालमा गर्नसक्ने गरी नीतिगत रुपमा व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले उक्त विवाहका इभेन्ट नेपालमा ल्याउनसके नेपालले धेरै लाभ लिनसक्ने अवस्था रहेको बताए । अध्यक्ष ढकालले सीमामा पर्यटनसँग सम्बन्धित सबै कुराहरु सहज बनाउन आवश्यक रहेको बताए ।

उनले पर्यटन बोर्डलाई प्रभावकारी बनाउनको लागि निजी क्षेत्रको समेत सहभागिता गराउन माग गरे । उनले पर्यटन बोर्डमा निजी क्षेत्रको सहभागिताले मात्रै पर्यटन प्रवर्द्धन थप प्रभावकारी बनाउन सकिने बताए । अध्यक्ष ढकालले सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरु तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै विमानस्थल सञ्चालनमा ल्याउन सक्दा मात्रै नेपालमा पर्यटनको धेरै सम्भावना देखिएको बताए ।

यस्तो छ अध्यक्ष ढकालको भनाइः

पाँच तारे होटलका ५ प्रतिशत सर्भिस चार्जको कारणले गुणस्तरीय विदेशी ब्राण्ड नेपालमा आउनको लागि असजिलो भइरहेको छ । गत वर्षको बजेटले हवाई टिकट र लक्जरी भ्याट थप गरेको छ । त्यसले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको छ । उक्त भ्याटमा करेक्शन हुनुपर्छ भन्ने हाम्रो माग छ ।

भारतीय र गैरआवासीय भारतीय नागरिकहरुको विवाहको इभेन्ट भारत भन्दा बाहिर गर्ने प्रचलन रहेछ । उनीहरु थाइल्याण्ड,फिलिफिन्स,इण्डोनेसिया,दुबईमा गइरहनुभएको छ । यो इभेन्टहरु धेरै सख्यामा भइरहेको छ । भारतसँग खुला सीमाना भएकाले नेपालमा विवाह इभेन्ट प्रोत्साहन गर्ने हिसाबले कानूनहरु बनाउनसके छोटो समयमा धेरै पर्यटन ल्याउन सकिने हुन्छ ।

विवाहको लागि उहाँहरुले ल्याउने सुनका गहनाहरु समेत सहज रुपमा ल्याउने वातावरण बनाउन सक्नुपर्छ । त्यसबाट धेरै ठूलो फाइदा लिन सकिन्छ । सीमामा पर्यटनसँग सम्बन्धित सबै कुराहरु सहज बनाउन सकियो भने धेरै राम्रो हुन्छ । पर्यटन बोर्डलाई निजी क्षेत्रको समेत सहभागिता गराएर अझ प्रभावकारी बनाउन आवश्यक छ ।

सरकारले भैरहवा र पोखरा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु धेरै ठूलो लगानीमा बनाए पनि सञ्चालनमा आउन सकेको छैनन् । सरकारले विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्छ । तत्काल सञ्चालनमा ल्याउन सकियो भने नेपालमा पर्यटनको धेरै सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर