अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेपाल भन्छन्- समृद्ध सिन्धुपाल्चोक अभियानको खाका तयार छ – Nepal Press

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेपाल भन्छन्- समृद्ध सिन्धुपाल्चोक अभियानको खाका तयार छ

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको १०औं जिल्ला अधिवेशन भोलिदेखि सदरमुकाम चौतारामा हुँदैछ । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

अधिवेशनमा भूगोल, जनसंगठन र मनोनीतसहित ७४५ प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनको तयारी र आगामी नेतृत्वको विषयमा केन्द्रित रहेर जिल्ला अध्यक्ष एवं अधिवेशन मूल समारोह समितिका संयोजक कमल नेपालसँग नेपालप्रेसकर्मी दिनेश थापाले गरेको कुराकानी नेपाल टकमाः

– अधिवेशनको तयारी कहाँ पुग्यो ?

नेकपा एमाले सिन्धुपाल्चोकको १०औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम भएकाले हामीले अधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन पार्टीको सबै संयन्त्र परिचालन गरेका छौं ।

अधिवेशनलाई भव्य बनाउन मेरो संयोजकत्वमा मूल समारोह समिति गठन गरेका छौं । विभिन्न उपसमितिले आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन् । सबै पालिकाबाट आउने कार्यकर्ता र प्रतिनिधिहरुका लागि बसको व्यवस्था गरेका छौं । समग्रमा अधिवेशनको सबै तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीका सबै पंक्तिको सहयोगले अधिवेशन सभ्य र भव्य हुनेछ ।

– अधिवेशनमा कति प्रतिनिधि सहभागी हुन्छन् ?

१०औं जिल्ला अधिवेशनमा १२ पालिकाका १०३ वडामध्ये एउटाबाहेक सबैबाट सर्वसम्मत रुपमा ६८४ जना प्रतिनिधि चयन भएर आउनुभएको छ । त्यस्तै विधानले व्यवस्था गरेअनुसार जनसंगठन र मनोनीतसहित ७४५ जना प्रतिनिधि स्वीकृतिका लागि बागमती प्रदेश कार्यालयमा पठाएका छौं । हामीले यो पटक अनलाइनमार्फत प्रतिनिधि दर्ता गराएका छौं । अनलाइनमा झण्डै ६०० जनाले इन्ट्री गरिसक्नु भएको छ । अनलाइनबाट दर्ता भएपछि बन्द सत्र र यदि निर्वाचन भयो भने कम्प्युटरबाट स्क्यान गरेर प्रतिनिधि हो वा होइन भन्ने एकिन भएपछि मात्रै सम्बन्धित प्रतिनिधिलाई हामी निर्वाचन प्रक्रियामा सहभागी गराउने छौं ।

– जनसंगठन र मनोनीत प्रतिनिधिको विषयमा प्रदेश कार्यालयमा उजुरी गएको भन्ने छ नि, खास के हो?

जनसंगठनको सवालमा मोर्चा संगठनहरुको बैठकबाट क्रियाशील र अधिवेशन नियमित रुपमा गरेका संगठनको हकमा ३ र नगरेकाहरुको हकमा १ जना प्रतिनिधि छनोट गर्ने निर्णयका आधारमा जनवर्गीय संगठनबाट प्रतिनिधि छनोट गरेका हौं । त्यस्तै सिन्धु काठमाडौ सम्पर्क मञ्चले यसअघि नै प्रतिनिधि छनोट गरे पनि प्रदेशमा उजुरी परेपछि हामीले उहाँहरुलाई जिल्ला पदाधिकारी बैठकबाटै निर्णय गराएर प्रतिनिधि छनोट गरेर पठाएका थियौं । तर, केही साथीहरुले उजुरी गरेपछि केही समस्या भए पनि प्रदेशले जिल्लाबाट पठाएका प्रतिनिधिहरुलाई नै मान्यता दिएको छ ।

– अब नेतृत्वको पनि कुरा गरौं, तपाईं पनि अध्यक्षको आकांक्षी हो ?

निश्चय नै अधिवेशन भन्नासाथ नयाँ नेतृत्वको पनि सवाल पनि सँगै आइहाल्छ । त्यसैले एमाले सिन्धुपाल्चोकको १०औं जिल्ला अधिवेशनमा म पनि अध्यक्षको आकांक्षी रहेको र तपाईंहरुको यही लोकप्रिय अनलाइन नेपाल प्रेसमार्फत म अध्यक्षको उम्मेदवार भएको घोषणा गर्छु ।

– अनि तपाईं अहिल्यै अध्यक्ष हुनुहुन्छ । फेरि किन दोहोर्‍याउनुपर्‍यो, अरुलाई अवसर दिँदा हुँदैन ?

सही प्रश्न गर्नुभयो । मूलतः त हामी तीन वर्षको लागि निर्वाचित भएका थियौं । तर, हामी एक वर्ष समयावधि हुँदै केन्द्रको निर्देशनअनुसार दुई वर्षमै अधिवेशन गर्दैछौं । यो अवधिमा पार्टीभित्र गञ्जागोल भएकाले संगठनको काम धेरै गर्न सकिएन । फेरि दुइटा निर्वाचनलगायतका कारणले पनि पार्टीका कामहरु धेरै चुस्तसँग यो दुई वर्षमा गर्न सकेनौं । मेरो उम्मेदवारी अब पार्टी काममा क्रियाशील हुन पनि हो ।

सिन्धुपाल्चोकलाई आर्थिक रुपले समृद्ध बनाउने अभियानका लागि हामीले अधिवेशनमा खाका पेश गर्दैछौं । त्यसलाई पूरा गर्न पनि मेरो उम्मेदवारी हो । जनसरोकारको विषय उठाउन, विकास निर्माणलगायत पार्टी केन्द्रले घोषणा गरेको मिसन ८४ लाई सफल बनाउन पनि मेरो उम्मेदवारी हो । एमालेलाई पहिलो पार्टी बनाउने र पार्टीलाई एक ढिक्का र एकमना एकताका साथ भूगोलमा खट्ने वातावरणका लागि पनि मेरो उम्मेदवारी हो ।

– गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तपाईंले टिकट पाए पनि निर्वाचनमा नउठेकाले एमाले पराजित भएको आरोप छ नि, के भन्नुहुन्छ ?

हो, मैले प्रदेशसभा १ मा एमालेको तर्फबाट टिकट पाएको थिएँ । मसहित अन्य साथीहरुलाई पनि सिफारिस गरिएको थियो । प्रतिनिधिसभा १ मा एमाले नेताहरु अरुण नेपाल र सरेश नेपालमध्ये एक जना उम्मेदवार हुने कन्फर्म नै थियो । फेरि प्रदेशसभामा पनि नेपाल नै उठ्दा त्यो आलोचनाको विषय हुन्थ्यो । सबै जातजातिलाई पनि उम्मेदवारमा सन्तुलन मिलाउनुपर्ने अवस्था थियो । मेरो सुरुदेखिकै मानसिकता जातजाति मिलाउनुपर्छ भन्ने नै थियो ।

प्रतिनिधिसभा १ मा सरेश कमरेडले टिकट ल्याएपछि उहाँको आशय पनि दुवै नेपाल थरको उमेदवार हुदा समस्या हुन्छ भन्ने थियो । त्यसैले सबैको आग्रहमा उमेदवारबाट ब्याक भएको हो ।

प्रतिनिधिसभामा कोही अरु थर भएका कमरेडहरु उठ्नुभएको भए म उठ्ने नै थिएँ । परिस्थिति नबिग्रियोस्, निर्वाचनमा पार्टीको पक्षमा जनमत सिर्जना होस् भनेर म ब्याक भएको हो । फेरि जिल्ला अध्यक्ष भएकाले सबै क्षेत्रमा पुग्नुपर्ने र आफैं उम्मेदवार हुँदा संगठनलाई चलायमान बनाउन समस्या हुने भएकाले पनि म ब्याक भएको थिएँ । यसलाई सबै साथीहरुले पार्टीलाई मजबुत बनाउन नै ब्याक भएको भनेर बुझिदिन अनुरोध गर्छु ।

– सर्वसम्मत नेतृत्व चयन भएन भने निर्वाचन होला, निर्वाचनमा जाँदा कार्यकर्तामा विभाजन होला नि ?

नेतृत्व छनोटको सबैभन्दा लोकप्रिय विधि सर्वसम्मत नै हो । यदि सर्वसम्मत भएन भने लोकतान्त्रिक विधि निर्वाचन प्रणाली हो । कार्यकर्तालाई विभाजित गरेर निर्वाचनमा जाने होइन । हामी कार्यकर्तामाझ धेरै विभाजन गर्नेतर्फबाट कोही पनि उम्मेदवार लाग्नुहुँदैन । प्रतिनिधिले स्वेच्छिक रुपमा मतदान गर्नुहुन्छ, जानुहुन्छ । अहिले जे भइरहेको छ, त्यो ठीक छैन । उजुरबाजुर गर्नेलगायत केही गलत काम भएका छन् । त्यस्ता गलत क्रियाकलाप रोक्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर