लुम्बिनीमा गुरुयोजनाविपरीत बिहार–गुम्बालाई ‘गेस्टहाउस’ बनाउँदा सरोकारवाला निकाय मौन – Nepal Press

लुम्बिनीमा गुरुयोजनाविपरीत बिहार–गुम्बालाई ‘गेस्टहाउस’ बनाउँदा सरोकारवाला निकाय मौन

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा अरबौं लगानी गरेका पर्यटन व्यवसायीले सरकारले विभिन्न देशहरुलाई लिजमा दिएर बनाइएका गुम्बा–बिहारहरुमै व्यवसायिक गेष्ट हाउस बनाएको भन्दै आन्दोलनमा उत्रेका छन् ।

उनीहरुले वृहत गुरुयोजनाविपरीत गुम्बाहरू भित्रै स्तरीय होटलका संरचना धमाधम निर्माण भएपनि सम्बन्धित निकायले वेवास्ता गरेको गुनासो गर्दै आफ्ना माग पूरा नभए तालाचावी कोषलाई बुझाउने चेतावनी दिएका छन् ।

 यसरी मन्दिर निर्माणका लागि लिजमा दिएको बिहार क्षेत्रको प्लटमा उद्देश्य र मापदण्डविपरीतका संरचनाहरू निर्माण भइरहेको विषयमा बाहिर रहेका व्यवसायीहरुले उठाएको आवाज नसुनिएको उनीहरुको भनाइ छ ।

लुम्बिनी क्षेत्रभित्र निर्माण भएका र निर्माणाधीन बिहारहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने मापदण्ड भएपनि केही कोषका पदाधिकारी र कर्मचारीको मिलेमतोका कारण धेरै देशले मनपरी गरिरहेको उनीहरुको आरोप छ । यो विषयमा कर्मचारीले एकले अर्कोलाई देखाएर उम्कने गरेका छन् भने पदाधिकारीहरु पनि उसैगरी उम्कने प्रयासमा छन् ।

कोषभित्रका बिहार तथा गुम्बामा पर्यटक राखेर व्यवसाय गर्न दिइएको भन्दै लुम्बिनी होटल संघ नेपालको अगुवाइमा स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।

मंगलबार बेलुकी मायादेवी मन्दिर परिसरमा दीप प्रज्जवलन तथा परित्राण पाठ कार्यक्रम गरेर आन्दोलनमा लागेका उनीहरुले बुधबार पत्रकार सम्मेलन गरेर आफ्ना आन्दोलन सार्वजनिक गर्दै माग पूरा नभए सबै होटलका चावी कोषमा बुझाउने चेतावनी दिएका हुन् ।

लुम्बिनीको गुरुयोजना ४५ वर्ष बित्दासम्म पनि पूरा भएको छैन । सन् १९७८ मा सुरु गरिएको गुरुयोजना १४ वर्षभित्र पूरा गर्ने महत्वाकांक्षी लक्ष्य राखिएको थियो । जापानी वास्तुकलाविद् केन्जो टाँगेको डिजाइनमा अघि बढाइएको गुरुयोजनाअन्तर्गत एक हजार एक सय ५५ बिघामा पवित्र उद्यान, मोनास्ट्रिक जोन र न्यु लुम्बिनी भिलेजका रूपमा विकास गर्ने योजना छ । लुम्बिनीमा हाल विभिन्न देशका छुट्टाछुट्टै मन्दिर ९गुम्बा०हरू रहेका छन् ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीमा पर्यटक ओइरिने अपेक्षसहित होटेलमा ठूलो लगानी लगाइएको थियो । लुम्बिनी, भैरहवा, बुटवल क्षेत्रमा सञ्चालनमा आइसकेका र निर्माणाधीन होटेलमा गरी करिब ६० अर्ब रुपैयाँभन्दा बढी लगानी भइरहेको छ ।

अझै थुप्रै होटेल निर्माणको लागि योजनामै छन् । विमानस्थल शिलान्यास भएपछि पाँचतारे टाइगर प्यालेस, सिद्धार्थ भिलासा र पवन प्यालेस सञ्चालनमा आइसकेका छन् । आधा दर्जन पाँचतारे होटेल रुपन्देहीमा निर्माणाधीन छन् ।

एकातिर विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा होटेल व्यवसायी निराश बनेका छन् । लुम्बिनीका होटेल व्यवसायीले फागुन अन्तिम साता कोषमा ज्ञापनपत्र बुझाउँदै एक हप्ताभित्र बिहारमा पर्यटक राख्ने काम रोक्न चेतावनी दिएका थिए । कोषले पनि बिहार र गुम्बालाई होटेल सञ्चालन नगर्न भन्दै २ चैतमा पत्राचार गरेको छ ।

‘गरी खान देउ’ भन्ने मूल नाराका साथ लुम्बिनी विकास कोषविरुद्ध शान्तिपूर्ण आन्दोलन थालिएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए । ‘गौतमबुद्धको जन्मस्थल पवित्रभूमि लुम्बिनीभित्रका बिहार तथा गुम्बा गेष्टहाउस र होटलको रुपमा सञ्चालन भइरहेको छ । जसका कारण व्यवसायी धरासायी हुने स्थितिमा छन् । बाध्य भएर यो कार्यक्रम अघि सारेका छौं, ’ज्ञवालीले भने ।

उनले विगत एक दशकदेखि लुम्बिनीभित्रका गुम्बा तथा बिहारमा व्यवसायिक रुपमा होटल सञ्चालन नगर्न माग गर्दै आए पनि मागको सुनुवाइ नभएकाले बाध्यताबस आन्दोलनमा उत्रिनुपरेको बताए ।

‘लुम्बिनीको होटल व्यवसाय कहालीलाग्दो अवस्थामा पुगेको छ । लुम्बिनी विकास कोषका पदाधिकारीले आफ्ना गल्ती सच्याउनुहुन्छ र यहाँका पदाधिकारी तथा कर्मचारीको ध्यानाकर्षण गराउन यसो गरेका हौं। ’उनले भने ।

उनले विश्वमै शान्तिको सन्देश फैलाउने गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट जायज माग पुरा गराउन शान्तिपूर्ण कार्यक्रमको सुरुवात गरिएको बताए । ‘व्यवसायीले लुम्बिनी विकास कोषबाट कुनै सहयोग पाएका छैनौ । कोषबाट नै व्यवसायमाथि हमला हुने काम भयो । कोषमा साढे १२ सय विघामा ४२ वटा प्लट छुट्याएर जुन उद्देश्यले गुम्बा तथा बिहारहरुलाई जग्गा दिइएको थियो । त्यो उद्देश्य पूरा नगरी व्यवसायिक प्रयोजनका लागि गेष्ट हाउस सञ्चालन गरिएको छ, ’उनले भने ।

माग पूरा नभएसम्म एक कदम पनि पछाडि नहट्ने र आन्दोलनलाई निरन्तर अघि बढाउने ज्ञवालीले बताए । उनले शान्तिपूर्ण आन्दोलनको वेवास्ता गरिए आन्दोलनलाई अझ सशक्त बनाउने र लुम्बिनीमा सञ्चालित सम्पूर्ण होटलका चाबी लुम्बिनी विकास कोषलाई बुझाउने चेतावनी दिए ।

अध्यक्ष ज्ञवालीका अनुसार संघले गत फागुन २९ गते कोषलाई ज्ञापनपत्र बुझाएको र कोषबाट चैत २ गते पत्र प्राप्त भएपछि समस्या समाधान हुने आशामा रहे पनि त्यसो हुन सकेन । उनले कोषसँग वार्तामा बस्न तयार रहेको बताए।

लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले बिहारको भावनाविपरीत होटलको रुपमा सञ्चालन हुन लागेको धेरै लामो समय भइसक्दा र पटकपटक सचेत गराउँदा पनि वेवास्ता गरिएको बताए ।

यस्ता छन् गुम्बा–बिहारमा क्षमता

लुम्बिनीमा बनेका गौतमी भिक्षुणी बिहारले दैनिक एक सय ५० पाहुना राख्न मिल्ने गरी भवन बनाएको छ । यस्तै, गोल्डेन टेम्पल म्यानमारले दुई सय ५०, कम्बोडियाको बिहारले दुई सय, महाबोधि सोसाइटीले एक सय २०, थाई बिहारले तीन सय, कोरियन बिहारले पनि तीन सय, बज्रयान बिहारले दुई सयजना पाहुना एकैपटक राख्न सक्छन् ।

चाइना बिहारमा दुई सय ५०, क्यानेडियन बिहारमा एक सय २०, सिंगापुरको बिहारमा सयजना पर्यटक राख्ने क्षमता छ । निर्माणाधीन अवस्थामा रहेका कर्मा साम्तेङ बिहार र क्वालाम्पुर बिहारले धेरै कोठा निर्माण गरिरहेका छन् । जापनिज स्तूपा, तारा फाउन्डेसन ९जर्मन०, फ्रान्सको बिहार, मनाङ समाज स्तूपालगायतका गुम्बाले पर्यटक राख्दैनन् ।

बिहार क्षेत्रमा रहेका गुम्बाहरूले दिनमा दुई हजारभन्दा बढी पर्यटक राख्न सक्ने बताइन्छ । विनियमावलीमा सम्बन्धित देशले आफैँले डिजाइन गरेको मन्दिर ९गुम्बा–बिहार० निर्माण र भिक्षुहरूको सहयोगी बस्नका लागि आवश्यक भवन बनाउन सक्ने व्यवस्था छ । तर, गुम्बा सञ्चालकले विनियमाली र कोषसँगको सम्झौतालाई बेवास्ता गर्दै होटेल नै सञ्चालन गरिरहेको भन्दै व्यवसायीहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।

पछिल्लो समय मलेसियाले लुम्बिनीपरिसरभित्र होटेलकै रूपमा भवन निर्माण गरिरहेको छ । गुम्बा बनाउनुपर्ने स्थानमा एट्याच बाथरुमसहित एक सय ५० कोठाको ६ तले भवन निर्माण भइरहेको छ । बिहार क्षेत्रका गुम्बाहरूले सम्झौताविपरीत संरचना निर्माण गरेर दैनिक सयौँ पर्यटक राख्दै आएका छन् । गुम्बा–बिहारले नै होटेल सञ्चालन गर्न लागेपछि होटेल व्यवसायीहरूले पनि विरोध जनाउँदै आएका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले लामो समयदेखि विवादित बनेको गुम्बामा पर्यटक राख्ने विषयमा ठोस निर्णय लिएर अगाडि बढ्ने जनाएका छन् । लुम्बिनीका होटेल व्यवसायीबाट धेरै गुनासो आएका कारण सबै सरोकारवाला निकाय राखेर छलफलका माध्यमबाट नयाँ निकास निकालेर अगाडि बढ्ने उनको भनाइ छ ।

विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई धार्मिक, आध्यात्मिक एवं शान्तिको केन्द्रका रूपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र विभिन्न राष्ट्र र बौद्ध समुदायलाई बिहार–गुम्बा निर्माण गर्न ९९ वर्षका लागि प्लट उपलब्ध गराइएको छ । त्यहाँ बौद्ध बिहार, गुम्बा, ध्यान केन्द्रहरू निर्माण गरी बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको विकास गर्नुपर्छ ।

कोषको बिहार क्षेत्रमा ४२ प्लट छन्, जसमध्ये एउटा प्लट लिजमा लिएर मलेसियाले होटेलको संरचना निर्माण गरिरहेको लुम्बिनी होटेल संघका महासचिव पुरुषोत्तम अर्याल बताउँछन् । लुम्बिनी विकास गुरुयोजनाअनुसार गुम्बा, चैत्य, बिहार र ध्यान केन्द्रहरूलाई ‘लुम्बिनी विकास कोषको बिहार क्षेत्र विनियमावली, २०५८’ अनुसार थप मापदण्ड बनाएर व्यवस्थापन गर्नुपर्नेमा कोषका कर्मचारी र पदाधिकारीले यसमा वेवास्ता गरेका हुन् ।

०७७ साउनमा लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा गठित समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । समितिले विनियमावलीबमोजिम निश्चित मापदण्ड निर्धारण गरेर नियमित अनुगमनका लागि थप निर्देशिका र कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएको थियो ।

बिहार क्षेत्रमा धार्मिक एवं आध्यात्मिक गतिविधिमा मात्र संलग्न हुन पनि सुझाव दिइएको छ । विनियमावलीको विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा–प्रार्थना गर्नका लागि पाँचजना भिक्षु–भिक्षुणी र उनीहरूको सहयोगीका रूपमा थप पाँचजना गरी १० जनासम्म मात्रै विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ ।

बृहत् लुम्बिनी गुरुयोजना क्षेत्रअन्तर्गत निर्माण गरिएका र निर्माणाधीन बाँकी प्लटहरू (बिहारहरू)को वस्तुस्थितिको अध्ययनसम्बन्धी सो प्रतिवेदन तत्कालीन संस्कृति, पर्यटनमन्त्री योगेश भट्टराईलाई बुझाएको थियो । कोषको विनियमावलीमा सामान्यतया एक देशलाई एउटा मात्र प्लट दिने प्रावधान रहे पनि पहुँचका भरमा तीन वटासम्म दिइएको छ ।

पछिल्लो पटक मन्त्री बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष हितबहादुर तामाङले गुरुयोजनाविपरीत संरचना बनेको, युनेस्कोको असहमति रहेको जस्ता विषय आइरहेकाले यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । उनी केही दिनअघि लुम्बिनी आएर यो विषयमा जानकारी लिइसकेका छन् । उनले लुम्बिनी गुरुयोजना कार्यान्वयन नभएकोमा सर्वत्र आलोचना भइरहेको भन्दै कार्यान्वयन गर्न निर्देशन दिएपनि व्यवसायीहरु यो विषय सहज टुंगो लाग्ने अवस्था नरहेको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर